२७ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

एनपीएल : जनकपुर एक खेलअगावै प्लेअफमा, काठमाडौंको यात्रा कठिन

जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गर्दै जनकपुरले एक खेल अगावै प्लेअफमा स्थान बनाएको हो । ६ खेलबाट जनकपुरको १० अंक भएको छ। लिगको आफ्नो अन्तिम खेलमा जनकपुरले चितवन राइनोजसँग शनिबार खेल्नेछ ।  

काठमाडौंले दिएको १०२ रनको मध्यम लक्ष्य जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसको जितमा जेम्स निशामले २७ र हर्स ठाकरले नटआउट २५ रनको योगदान गरे ।  

क्याप्टेन करण केसीले २ तथा शहाब आलम, गेरार्ड रास्मस र दिपेश कँडेलले समान एक विकेट लिएपनि काठमाडौंको हार भने टार्न सकेनन् । 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा १०१ रनमा अलआउट भएको थियो । सुरुबाटै कमजोर ब्याटिङ गरेको काठमाडौंका लागि गेरार्ड इरास्मसले २०, क्याप्टेन करण केसीले १९ र स्टेफन इस्किन्जीले १७ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।  

ललित राजवंशी र शेर मल्लले समान ३, मोहमद मोसिनले २ तथा किशोर महतो र अरनिको यादवले समान एक विकेट लिए । 

हारपछि काठमाडौंको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेको छ । ५ खेलबाट उसको मात्र ४ अंक छ । प्लेअफमा स्थान बनाउन काठमाडौंले बाँकी खेलमा पोखरा एभेन्जर्स र विराटनगर किङ्सलाई पराजित गर्नु पर्नेछ । साथै शीर्ष चारभित्र रहेका अन्य टिमको नतिजामा पनि भर पर्नु पर्नेछ । 

प्रकाशित: २७ मंसिर २०८१ १५:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App