२२ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

बद्ररहुड फुटबल क्लब सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा

उदयपुरको बद्ररहुड फुटबल क्लब चौथो अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको सेमिफाइनल पुग्ने दोस्रो टोली बनेको छ। सोमबार भएको दोस्रो क्वाटर फाइनल खेलमा झापाको न्यू स्टार फुटबल क्लबलाई २–१ ले पराजित गर्दै बद्ररहुड फुटबल क्लबले सेमिफाइनलमा स्थान बनाएको हो।

बद्ररहुडले न्यू स्टारसँग तेस्रो सिरिजङ्गा गोल्डकपमा सेमिफाइनलमा पराजित भएको बदला समेत लिएको छ। न्यू स्टारले तेस्रो सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा बद्ररहुडलाई हराएर फाइनलमा स्थान बनाएको थियो। विजयी टिमका लागि मध्यान्तर अघि कप्तान सञ्जय श्रेष्ठ र मध्यान्तर पछि आकाश राईले गोल गरेका थिए। न्यू स्टारका लागि खेल समाप्त हुनु अघि हेडरमार्फत डानियलले उत्कृष्ट गोल गर्दै खेललाई फर्काउने कोसिस गरेका थिए। तर न्यू स्टारले थप अवसर गुमायो।

चौथो अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपका क्वाटर फाइनलबाटै घर फर्किएको न्यू स्टार उपविजेता बनेको थियो। बद्ररहुडमा कार्लोस र न्यू स्टारमा डानियल विदेशी खेलाडी थिए। कार्लोस र डानियल सँगै पिटर र अरमानले भानुजन मावि फुङलिङमा सम्पन्न दोस्रो कञ्चनजंघा(सेसेलुङ)गोल्डकप समेत खेलेका थिए। आइतबार भएको पहिलो क्वाटर फाइनलमा साँघुरीगढी फुटबल क्लब धनकुटालाई २–१ ले पराजित गर्दै आयोजक तेल्लोक स्पोर्टिङ क्लब सेमिफाइनल पुगिसकेको छ।

२९ गते सकिने प्रतियोगिताको विजेताले नगद २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका साथ सिरिजङ्गासिंह थेबेको प्रतिमा भएको ट्रफी,मेडल र प्रमाणपत्र पाउँदा उपविजेताले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ पाउने छन्। मङ्गलवार हुने तेस्रो क्वाटर फाइनल खेलमा मरिक फुटबल क्लब सुनसरीका विरुद्ध भारतको पारिजात संघ फुटबल क्लब मैदानमा उत्रने छ। 

प्रकाशित: २४ मंसिर २०८१ १७:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App