नेपाल आर्मीका प्रफुल महर्जनले तेस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ शुक्रबार सेमिफाइनलमा स्थानमा बनाएका छन्।
ललितपुर जिल्ला ब्याडमिन्टन संघद्वारा आयोजित प्रतियोगिताको पुरुष एकलमा प्रफुलसँगै एपिएफका प्रिन्स दाहाल, देवराज राना र क्षितिज खनालले सेमिफाइनलमा स्थान बनाएका हुन्। प्रफुलले युनिटी ब्याडमिन्टन एकेडेमीका प्रियांशु क्षेत्रीलाई २१–७, २१–७ को समान स्कोरले हराए।
प्रफुलले अब एपिएफका देवराजसँग प्रतिस्पर्धा गर्नेछन्। देवराजले भने आर्मीका सुप्रिम पन्तलाई २१–१८, २१–११ ले हराए। अर्को सेमिफाइनलमा एउटै विभागका प्रतिद्वन्द्वी प्रिन्स र क्षितिज खनालबीच प्रतिस्पर्धा हुनेछ। प्रिन्सले आर्मीका डेभिड थापामगरमाथि २१–१४, २१–९ को जित रचे।
क्षितिजले भने आर्मीकै सुविन श्रेष्ठलाई २१–१०, २१–४ ले हराए। प्रतियोगितामा ललितपुर महानगरपालिकाले मुख्य प्रायोजन गरेको छ। महिला एकलमा आर्मीका रसिला महर्जन, रिहाना शेरचन, शेष्ना श्रीपाली र अमिता गिरीले सेमिफाइनलमा स्थान बनाएका छन्। रसिलाले एपिएफकी स्वर्लिन श्रेष्ठलाई २१–६, २१–९ ले हराइन्।
रसिलाले सेमिफाइनलमा आर्मीकै रिहानासँग प्रतिस्पर्धा गर्नेछिन्। रिहानाले पुलिसकी सुष्मा श्रेष्ठमाथि २२–२०, १२–२१, २७–२५ को जित रचेकी हुन्। आर्मीकी शेष्नाले बालकुमारीकी श्रेया वज्राचार्यलाई २१–९, २१–१३ ले हराइन्।
शेष्नाले सेमिफाइनलमा आफ्नै क्लबकी अमितासँग प्रतिस्पर्धा गर्नेछिन्। अमिताले आफ्नै क्लबकी विष्ण विष्टलाई २१–१२, २१–७ ले हराएकी हुन्। यु–१७ पुरुष एकलमा पुलिसका कविर केसीले आर्मीका सुदेश राजकोटीलाई २१–१०, २१–१५ र कठायत ब्याडमिन्टन एकेडेमीका अमन डंगोलले आर्मीका सौर्य महर्जनलाई २१–१६, २१–१६ ले हराउँदै सेमिफाइनलमा स्थान बनाए।
अर्को खेलमा आर्मीका सुविन श्रेष्ठले सितापाखा ब्याडमिन्टन क्लबका इमा तामाङलाई २१–१३, २१–१६ तथा कैलालीका शिशिर रानाले आर्मीका दीप थिङलाई २१–१४, १५–२१, २१–१२ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएका छन्।
मास्टर्स ४५ वर्षमाथि युगलमा कास्कीका प्रेमकुमार गुरुङ र राजेन्द्र वाग्लेको जोडी तथा बालकुमारीका शान्ता डंगोल र कृष्ण श्रेष्ठको जोडीले पनि सेमिफाइनल यात्र तय गरे। गुरुङ र वाग्लेको जोडीले भैसेपाटीका राम केसी र लोकेन्द्रबहादुर थापाको जोडीलाई २१–१२, २१–१२ ले तथा डंगोल र श्रेष्ठको जोडीले एपिएफका नरेन्द्र बम र धीरेन चन्दको जोडीलाई २३–२१, २१–१० ले हराएका हुन्।
अर्को खेलमा कास्कीका हिमाल गुरुङ र शम्भु श्रेष्ठको जोडीले कीर्तिपुरका काजी कार्की र अमित महर्जनको जोडीलाई २१–१४, २१–१५ तथा स्पोटर्स हबका सनबहादुर साँवा र लाक्पा शेर्पाको जोडीले क्लब सातका बिलन महर्जन र प्रकाश थापाको जोडीलाई २१–१९, २१–१९ ले हराउँदै सेमिफाइनलमा प्रतिस्पर्धा पक्का गरेका हुन्।
प्रकाशित: २२ मंसिर २०८१ १०:३६ शनिबार