शनिवारबाट ताप्लेजुङमा सुरु भएको दोस्रो कञ्चनजंघा(सेसेलुङ)अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगितामा तेह्रथुमको सम्दु फुटबल क्लबले विजयी सुरुआत गरेको छ।
टाई ब्रेकरमा आयोजक कञ्चनजंघा फुङलिङ क्लबलाई पाखा लगाउँदै सम्दु फुटबल क्लबले सुखद सुरुआत गरेको छ। खेलको अग्रता भने आयोजक कञ्चनजंघा फुङलिङ क्लबले लिएको थियो।अनुप सेन्दाङको गोलबाट अग्रता लिएको आयोजकको टिम गोलखुसीसंगै खेलमा थोरै सुस्ताएको मौका छोप्दै सम्दु फुटबल क्लब तेह्रथुमका सन्दीप लिम्बूले बराबरी गोल गरे। सन्दीपको बराबरी गोल लगत्तै दबाबमा परेको आयोजक टिमले खेलको गति लियो।
आयोजकका पवन लिम्बूले टिमका लागि दोस्रो गोल गर्दै खेललाई २–१ को अग्रतामा पुर्याए। तर आयोजकको त्यो अग्रता लामो समय सम्म टिक्न सकेन।सम्दुका सन्दीपले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई बराबरीमा ल्याए। निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि इञ्जुरी समय थप नगरी खेलको निर्णय टाई ब्रेकरबाट लिइएको थियो।
टाई ब्रेकरमा आयोजकका अघि सम्दु भाग्यमानी दरियो । टिमलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेका सम्दुका सन्दीप खेलको म्यान अफ द म्याच बने। दोस्रो कञ्चनजंघा(सेसेलुङ)अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिताको दोस्रो खेलमा आइतबार डाँगीहाट फुटबल क्लब बेलवारी,मोरङले इलामको रेड डेभिल्स फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने छ।
यसअघि कोसी प्रदेश सरकारका उद्योग,कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले गोल्डकपको उद्घाटन गरेका थिए । उनले खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने महान् अभियानमा सफलता प्राप्त हुने विश्वास लिएका छन् ।
उनले च्याब्रुङ बाजा बजाएर प्रतियोगिताको उद्घाटन गरेका हुन्।आयोजक चासोक तङनाम सञ्चालक समितिका अध्यक्ष चन्द्र थेबेले चासोक तङ्नाम पर्वको अवसरमा प्रतियोगिता आयोजना गरिएकोले च्याब्रुङ बाजा बजाएर गोल्डकपको उद्घाटन गरिएको बताए।
चासोक तङ्नाम भनेको न्वागी खाने पर्व हो। च्याब्रुङ लिम्बू समुदायका मानिसहरूको परम्परागत लोक बाजा हो। मादल जस्तै ठुलो काठको ढुङ्ग्रोमा दुबैतिर पातलो छाला मोडेर बनाइने यो बाजामा खरीको प्रयोग गरिँदैन।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार(गणेश)मावो लगायतले आ–आफ्ना धारणा राखेका थिए। प्रतियोगिताका विजेताले तीन लाख दुई हजार ८१ रुपैयाँ तथा उपबिजेताले एक लाख ५१ हजार ८१ रुपैयाँ प्राप्त गर्नेछन्।
प्रकाशित: १५ मंसिर २०८१ १८:५६ शनिबार





