२५ मंसिर २०८१ मंगलबार
image/svg+xml
खेल

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे सम्मानित

किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका नेपाली युवा किक बक्सर अविरल घिमिरे‘ हिमचितुवा’ सम्मानित भएका छन्। 

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र छामिछाने, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महजर्ननले हिट किक बक्सिङ (एमएमए)द्वारा आज यहाँ आयोजित कार्यक्रममा इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता घिमिरेलाई विशेष सम्मान गरेका हुन्।

 बक्सर घिमिरेले किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाई विश्वमा नयाँ ‘रेकर्ड’ कायम गरेको जनाउँदै शुक्रबार धनबहादुर खेलकुद प्रतिष्ठानले अभिनन्दन गरेको थियो । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका घिमिरे आफ्नो परिवारका साथ हाल जापानको नागोया सहरमा बसोबास गर्दै आएका छन्।

करिब ६ वर्षपछि नेपाल आएका विश्वविजेता खेलाडी घिमिरेलाई चन्द्रागिरि नगरपालिकाले  सोही दिन नगरपरिक्रमा गराई अभिनन्दन गरेको थियो।  

स्वदेश आउँदा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, मदनभण्डारी स्पोर्ट एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य रमा आले, चन्द्रागिरि नगरपालिकाका प्रवक्ता खड्गी, काठमाडौ जिल्ला खेलकूद परिषद्का अध्यक्ष भाइकृष्ण बलामीलगायत खेलाडीले स्वागत गरेका थिए।

 ‘हिमालय चितुवा’ घिमिरेले इन्टरनेसनल स्पोर्टस् किक बक्सिङ एसोसिएसनद्वारा नागोया कंग्रेस सेन्टरमा गत कात्तिक १० गते आयोजित ‘इन्टरनेसनल किक बक्सिङ’ (इस्का) प्रतियोगिताको उपाधि चुमेर विश्वविजेता बनेका थिए । सो प्रतियोगितामा उनले फ्रान्सका कडा प्रतिद्वन्द्वी एन्टोनिन मार्कोनीलाई ढाल्दै ‘वल्र्ड च्याम्पियन’ बन्न सफल भएका थिए।

‘हिमालय चितुवा’ का रूपमा विश्व प्रसिद्ध भएका घिमिरे सो प्रतियोगितामा आमनेसामने हुने पहिलो नेपाली बक्सर हुन् ।  

हालसम्म प्रोफेसनल किक बक्सिङ हिट प्रतियोगिताको १४ खेलको अपराजित यात्राको जित हासिल गर्ने क्रममा हिमचितुवाले चारपटक हिट प्रतियोगिताको ‘टाइटल म्याच’को उपाधि (बेल्ट) समेत रक्षा गर्दै ‘मिडल वेटको रेकर्ड’ समेत कायम राख्न सफल भएका छन्।

जापानको नागोया सहरमा  पिता एवं पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक कराते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आएका छन्।  कराते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’ मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुन्। रासस

प्रकाशित: १५ मंसिर २०८१ १०:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App