१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन तोरण शीर्षस्थानमा कायमै

<br>

सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन तोरण विक्रम शाही समग्रमा ११–अन्डर २०५ को स्कोरमा शीर्षस्थानमा कायमै रहेका छन। उनले बुधबार १–अन्डर ७१ को स्कोर निकाल्दा एमेच्योरद्वय सदभाव आचार्य र राहुल विकेलाई चार स्ट्रोकले पछि पार्दै उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन्।

एमेच्योरद्वय सदभाव र राहुल ५४–होलको समाप्तिमा ७–अन्डर २०९ को स्कोरमा संयुक्तरुपमा दोस्रो स्थानमा रहे। गोकर्ण गल्फ क्लबमा आज डिफेन्डिङ च्याम्पियन सदभावले दिनको उत्कृष्ट कार्ड निकाले। ६–अन्डर ६६ को प्रदर्शनमा उनी दोस्रो स्थानमा उक्लिए। राहुलले २–अन्डर ७० को स्कोर दर्ज गरे।

धरानका प्रो निरज तामाङले १–अन्डर ७१ को स्कोर जोडे। समग्रमा ४–अन्डर २१२ सहित चौथो स्थानमा उक्लिए। दाबेदार नेपाल नम्बर एक भुवन नगरकोटीले ५–ओभर ७७ को खराब प्रदर्शन गरे। यो प्रदर्शनमा उनी समग्रमा १–अन्डर २१५ सहित पाँचौ स्थानमा तल झरे। जयराम श्रेष्ठले आज १–अन्डर ७१ को स्कोरमा, समग्रमा इभन–पार २१६ को नतिजा निकाल्दै छैटौं स्थानमा छन।

समग्रमा २–ओभर २१८ सहित रवि खड्का, कृष्णमान राजबाहक, राजेन्द्र थापा मगर र सुनिल केसीले संयुक्तरुपमा सातौं स्थान बाँडे।रवि र कृष्णमानले समान १–अन्डर ७१ मा तेस्रो दिनको खेल सकाए। राजेन्द्रले २–ओभर ७४ खेले। फाइनल ग्रुपमा खेलेका सुनिलले बिर्सनलायक ९–ओभर ८१ को स्कोर निकाले। यो स्कोरमा उनी पाँच स्थान तल झरे।

अनुभवी तोरणले तेस्रो दिनको सुरूवात सानदार गरे। पहिलो, दोस्रो, पाँचौं र छैटौं होलमा बर्डी प्रहार गरे। ६ होल सकिंदा ४–अन्डर स्कोर गरिसकेका थिए भने नवौ होलको बोगीले फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाए। तर यसपछि ब्याक नाइनमा तोरणले लय गुमाए। १२औं, १५औं र १६औं होलमा एक–एक सट खेर फाले। १३औं होलको बर्डीका बाबजुद ब्याक नाइन २–ओभर ३८ मा सकाउन बाध्य भए। तर पनि अन्तिम १८ होलको खेल बाँकी छँदा उनले आफ्नो अग्रता ४ स्ट्रोकमा पुर्याएका छन।  

सदभावले दिनकै उत्कृष्ट स्कोर कार्ड तयार गर्नेक्रममा कुल सात बर्डी प्रहार गरे। पहिलो, तेस्रो र सातौं होलमा एक–एक सट बचाउँदा फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाए। यसपछि ११औं देखि १४औं होलमा लगातार चार बर्डी प्रहार गरे। १५औं होलको बोगीले ब्याक नाइन ३–अन्डर ३३ मा पुरा गरे। अर्का एमेच्योर राहुलले सातौं र नवौं होलको बर्डीको मद्दतमा फ्रन्ट नाइन २–अन्डर ३४ मा पुरा गरे।  

११औं होलको बोगी विरूद्ध १५औं होलको बर्डीले ब्याक नाइन इभन–पार ३६ मा सकाए। चौथो स्थानमा रहेका निरजले फ्रन्ट नाइन १–ओभर ३७ र ब्याक नाइन २–अन्डर ३४ मा खेले। उनले पहिलो र सोर्हौं होलमा एक–एक सट खेर फाले भने १२औं, १५औं र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे।

चार दिन सम्म चल्ने प्रतियोगिताको कुल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको छ। जहाँ विजेताले १ लाख ५० हजार, तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश १ लाख र ७५ हजार प्राप्त गर्नेछन। शिर्ष २१ मा पर्ने‌ अन्य प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन।

प्रकाशित: १२ मंसिर २०८१ १८:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App