६ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

विराटनगर किङ्सको ब्राण्ड एम्बासडरमा दयाहाङ राई

.

.

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली विराटनगर किङ्सले अभिनेता दयाहाङ राईलाई आफ्नो ब्राण्ड एम्बासडर घोषणा गरेको छ। आइतबार विराटनगरले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत अभिनेता राईलाई ब्राण्ड एम्बासडरको रूपमा नियुक्त गरेको हो।

कार्यक्रममा विराटनगर किङ्सका मालिक वैङ्कटेस मुन्द्रा र दयाहाङले एक वर्षे सम्झौतापत्रमा हस्ताक्षर गरे। यस अवसरमा दयाहाङले विराटनगरसँग जोडिन पाएकोमा खुसी व्यक्त गर्दै भने, ‘खेलले धैर्यता र अनुशासन सिकाउँछ। कला र खेल क्षेत्रमा लगानी आवश्यक छ, यसले देशको विकासमा योगदान पुर्याउँछ।’

विराटनगर किङ्सका मार्की खेलाडी सन्दीप लामिछाने कार्यक्रममा अनुपस्थित रहे। लामिछानेले सामाजिक सञ्जालमा फ्रेन्चाइजसँग सम्बन्धित कुनै गतिविधि नबढाएका कारण पारिश्रमिक विवादको चर्चा पनि भइरहेको छ। यद्यपि, मालिक मुन्द्राले सन्दीप बाहिर रहेकाले कार्यक्रममा आउन नसकेको र आगामी कार्यक्रममा उपस्थित हुने जानकारी दिए।

विराटनगर किङ्सले कोशी क्षेत्रका पाँच जिल्लामा ‘ट्यालेन्ट हन्ट’ सञ्चालन गरिसकेको र निकट भविष्यमा क्रिकेट एकेडेमी स्थापना गर्ने योजना रहेको मुन्द्राले बताए। उनले टोली कोशीमा क्रिकेटको विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

विराटनगरले यसअघि न्युजिल्याण्डका मार्टिन गप्टिल, ओमानका अकिब इलियास, वेस्ट इन्डिजका निकोलस किर्तन र स्कटल्याण्डका क्रिस सोललाई अनुबन्ध गरिसकेको छ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले अभिनेता राईलाई ब्राण्ड एम्बासडरमा नियुक्त गर्नु क्यानका लागि जितसरह रहेको बताए। आगामी मंसिर १५ देखि पुस ६ सम्म सञ्चालन हुने एनपिएलमा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: २ मंसिर २०८१ १७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App