१८ मंसिर २०८१ मंगलबार
image/svg+xml
खेल

१३ वर्षपछि अफगानिस्तानमाथि जित

नेपालले ताजिकिस्तानमा भएको मैत्रीपूर्ण फुटबलमा शनिबार अफगानिस्तानमाथि २–० को जित निकालेको छ।

ताजिकिस्तानको राजधानी डुसान्बेमा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले सन् २०१३ को साफ च्याम्पियन अफगानिस्तानमाथि जित निकालेको हो। गत बुधबार नै घरेलु टोलीसँग ४–० को फराकिलो हारपछि दोस्रो मैत्रीपूर्ण खेलमा भने नेपाल जित प्राप्त गर्न सफल भयो। नेपालको जितमा जिलेस्पीजंग कार्की र रोहित चन्दले गोल गरे। यससँगै नेपालले अफगानिस्तानमाथि १३ वर्षपछि जित रच्यो। नेपालले पछिल्लोपल्ट सन् २०११ मा अफगानिस्तानलाई १–० ले हराएको थियो।

घरेलु मैदानमा भएको एएफसी च्यालेन्ज कपको क्वालिफायरमा भरत खवासको गोलमा नेपालले अफगानिस्तानमाथि जित दर्ता गरेको हो। त्यस पछिका दुई भेटमा भने नेपाल अफगानिस्तानसँग पराजित हुन पुग्यो।

सन् २०११ कै डिसेम्बरमा भारतमा सम्पन्न च्याम्पियनसिपमा अफगानिस्तानले अतिरिक्त समयमार्पmत नेपाललाई १–० ले हराउँदै बदला लिएको थियो। लगत्तै दशौं साफमा पनि अफगानिस्तानले नेपाललाई १–० ले नै पराजित गर्‍यो। यी दुवै हार नेपालले सेमिफाइनलमा सामना गरेको हो। दशौं संस्करणमा नै भारतलाई हराउँदै अफगानिस्तान च्याम्पियन पनि बन्यो। त्यसपछि आफ्नो फुटबल स्तर सुधार गर्ने लक्ष्यसहित अफगानिस्तानले साफ खेल्न छाड्यो।

त्यसयता नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गरेका थिएन। साफ विजेता बनेपछि अफगानिस्तान मध्य एसियन फुटबल च्याम्पियनसिप खेल्न थालेको हो। त्यस कारण पनि नेपालले साफकै प्रतिद्वन्द्वी अफगानिस्तानसँग प्रतिस्पर्धा गरेको थिएन। तर, लामो पर्खाइ पछि भएको भेटमा नेपालले अफगानिस्तानमाथि जित रच्न सफल भयो। पहिलो हाफ गोलरहित बराबरीमा नै सकियो। तर, दोस्रो हाफको सुरुमै नेपालले गोल गर्‍यो। ४६औं मिनेटमा जिलेस्पीजंग कार्कीको गोलबाट नेपालले अग्रता लियो। त्यो गोलपछि अफगानिस्तानले खेलमा फर्कन संघर्ष गरिरह्यो।

तर, अफगानिस्तानले नेपालको बलियो रक्षापंक्ति र कप्तान तथा गोलकिपर किरणकुमार लिम्बूलाई पार गर्न सकेन। ७८औं मिनेटमा रोहितले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए। जुन रोहितका लागि पहिलो अन्तर्राष्ट्रिय गोल पनि हो। रोहितले सन् २००९ मा १७ वर्षकै उमेरमा प्यालेस्टाइनविरुद्धको खेलबाट डेब्यु गरेका थिए। लामो पर्खाइपछि उनले पहिलो गोल गरे।

अफगानिस्तानले ८८औं मिनेट र इन्जुरी समयमा गोल गर्ने सुन्दर अवसर सदुपयोग गर्न सकेन। त्यसको फाइदा लिँदै नेपालले सात अन्तर्राष्ट्रिय प्रतिस्पर्धापछि पहिलो जित निकाल्यो। नेपालले पछिल्लोपल्ट सन् २०२३ को अक्टोबर १७ मा लाओसमाथि १–० को जित निकालेको थियो। त्यसपछि सात खेलमा पराजित नेपालले अन्तरिम प्रशिक्षक नवीन न्यौपानेको प्रशिक्षण पहिलो जित प्राप्त गर्‍यो। 

प्रकाशित: २ मंसिर २०८१ ०६:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App