६ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

एनपिएल टिम कर्णाली याक्सले भन्यो: उपाधि जितेर कर्णाली परिक्रमा गर्न आउँछौँ

कर्णाली याक्सको टिमलाई बाजागाजासहित नगर परिक्रमा गराइँदै । तस्बिर: नगेन्द्र उपाध्याय

कर्णाली याक्सका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्लले नेपाल प्रिमियम लिग (एनपिएल)को उपाधि जितेर कर्णाली परिक्रमा गर्ने लक्ष्य आफूहरूको रहेको बताएका छन् । उनले कर्णालीका नामबाट खेल्न पाउँदा आफूहरू खुसी भएको बताउँदै एनपिएलको उपाधि जित्ने गरेर तयारी भइरहेको बताए ।  

‘सिरिज जित्नेछौँ, फेरि कर्णालीमा आउनेछौँ, कर्णाली परिक्रमा गर्नेछौँ, शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पत्रकारहरूसँग मुख्य प्रशिक्षक मल्लले भने, ‘हाम्रो लक्ष्य उपाधि हो, त्यहीँ अनुसार तयारी गरिरहेका छौँ ।’ कर्णाली याक्समा मार्की खेलाडी सोमपाल कामीसहितको टिम बिहीबारदेखि सुर्खेतमा छ । ट्यालेन्ट हन्ट छनोटका लागि कर्णालीको टिम प्रदेश राजधानी सुर्खेतमा छ ।

मुख्य प्रशिक्षक मल्लले भारतीय खेलाडी शिखर धवन कर्णाली याक्समा आबद्ध हुँदा कर्णालीको चर्चा राष्ट्रिय तथा अन्तर्राष्ट्रियमा भइरहेको बताए । उनले धवनको आगमनसँगै कर्णाली थप मजबुत भएको बताउँदै भने, ‘कर्णाली उपाधिको स्वाभाविक दाबेदार हो ।’ उनले शिखरले ब्याटिङसँगै फिल्डमा अन्य खेलाडीहरूलाई नेतृत्वदायक भूमिका निभाउने आशा पनि व्यक्त गरे । 

धवन अन्तर्राष्ट्रिय स्तरमा चर्चित नाम भएकाले टिमको नेतृत्व (कप्तान)का लागि प्रस्ताव गरिने पनि बताए । ‘उहाँको जुन किसिमको हाइट छ, जुन किसिमको अन्तर्राष्ट्रिय पहिचान र नाम छ, त्यसका लागि पनि सम्मानसहित कप्तानको प्रस्ताव राख्नेछौँ,’ मल्लले भने, ‘उहाँले प्रस्ताव स्वीकार गर्नुभयो भने कप्तान बनाउन तयार छौँ ।’ 

उनले मार्की खेलाडी सोमपाल कामी, गलसन झा, देव खनाल, ऋत गौतम, नन्दन यादव, मौसम ढकाललगायतका चर्चित र खेल जिताउने खेलाडीहरू कर्णालीसँग रहेकाले टिम मजबुत रहेको बताए । 

मल्लले कर्णालीबाट हाल तीन जना खेलाडीहरू टिममा रहेको र ट्यालेन्ट हन्टमार्फत थप एक जना खेलाडीलाई समावेश गरिने बताए । ‘अहिले हामीसँग दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिषविक्रम सिंह टिममा छन्,’ उनले भने, ‘ट्यालेन्ट हन्टमार्फत थप एक जना खेलाडीलाई हामी समावेश गर्दैछौं ।’ 

उनले आगामी वर्षहरूमा हुने प्रतियोगीताका लागि एनपिएल सम्पन्न भए लगत्तै कर्णालीमा आएर प्रतिभा छनोटको काम सुरु गरिने बताए । ‘एनपिएल सकिएपछि पनि कर्णालीमा आएर खेलाडी छनोट, कर्णालीको प्रचार–प्रसार, क्रिकेट प्रतियोगिताहरू आयोजना गर्छौं,’ उनले भने, ‘आगामी सिजनमा बढीभन्दा बढी कर्णालीका खेलाडीहरू समावेश गर्ने लक्ष्य हामीले राखेका छौँ ।’ उनले खेलले दुर्गमता नहेर्ने बताउँदै प्रतिभा भएमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सकिने बताए । उनले क्रिकेटमा कर्णालीको भविष्य उच्च रहेको बताउँदै कर्णालीका प्रतिभाहरूलाई बाहिर ल्याउन आफूहरू लाग्ने बताए ।

प्रकाशित: ३० कार्तिक २०८१ १४:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App