वृजेश अर्याल र शिभाली गुरुङ होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटीआई जुनियर टेनिस प्रतियोगितामा मंगलबार पहिलो भएका छन्। यु–१४ सिंगल्सको ब्वाइजमा वृजेश तथा गल्र्समा शिभाली पहिलो भएका हुन्।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको ब्वाइज फाइनलमा वृजेशले असभ सम्राट हाडालाई ३–६, ६–१ र ६–१ को सेटमा पराजित गरे। गर्ल्सको उपाधि भिडन्तमा शिभालीले स्वस्तिका विष्टलाई ७–६ र ६–४ को सोझो सेटमा हराइन्।
नेपाल टेनिस संघको प्राविधिक सहयोगमा बागमती प्रदेश टेनिस संघद्वारा आयोजित प्रतियोगिताको यु–९ ब्वाइज सिंगल्स फाइनलमा कायान चालिसेले साहन्श बस्न्यातलाई ४–२ र ५–४ ले पाखा लगाउदै पहिलो भए।
यु–१० ब्वाइज सिंगल्समा सभ्यजंग कार्कीले बाजी मारे । उनले फाइनलमा भिरल अग्रवाललाई ६–२ र ६–१ ले पन्छाए । सो स्पर्धाको गर्ल्समा सरा पन्तले नाइरा घलेमाथि ६–१ र ६–२ को जित दर्ता गर्दै शीर्ष स्थानमा रहे।
यु–१२ सिंगल्सको ब्वाइजमा विश्व डल्लाकोटी तथा गल्र्समा आयुशा जिसी पहिलो भए। विश्वले सुजन कुइकेललाई ६–१ र ६–३ तथा आयुशाले सरा पन्तलाई ७–५ र ६–२ को सोझो सेटमा पराजित गरे।
प्रकाशित: २७ कार्तिक २०८१ २०:२२ मंगलबार