नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति जो बाइडेनबीच पहिलोपटक भेटवार्ता भएको छ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएको भेटमा दुवै नेताले एक अर्कासँग हात मिलाए। बाइडेनले राष्ट्रपति चुनावमा विजयी भएकोमा ट्रम्पलाई बधाई दिए। सो अवसरमा उनले सत्ताको सहज हस्तान्तरणको विषय पुनस् दोहोर्याएका छन्।
ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदको सपथ लिनेछन्। यसबीच ह्वाइट हाउसमा सत्ता हस्तान्तरणको प्रक्रिया सुरु भएको छ। बाइडेनले ट्रम्पलाई भेटका लागि निमन्त्रणा पठाएका थिए।
अमेरिकामा निर्वाचनपछि वर्तमान राष्ट्रपतिले आगामी राष्ट्रपतिसँग ह्वाइट हाउसमा औपचारिक भेट गर्ने चलन रहँदै आएको छ। यो बैठकलाई सत्ता हस्तान्तरण प्रक्रियाको सुरुवातका रुपमा हेर्ने गरिएको छ। तर यसअघि जब डोनाल्ड ट्रम्प २०२० मा जो बाइडेनसँग राष्ट्रपति चुनाव हारे, उनले बाइडेनलाई निमन्त्रणा पठाएका थिएनन्।
प्रथम महिला जिल बाइडेनले ट्रम्प पत्नी मेलानियालाई पनि ह्वाइट हाउसमा निम्तो दिएकी थिइन्। तर, यसपटक मेलानियाले डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउस गइनन्।
यसअघि पूर्वराष्ट्रपति बराक ओबामाको कार्यकालमा तत्कालीन प्रथम महिला मिशेल ओबामाले मेलानिया ट्रम्पबीच भेट भएको थियो। सन् २०१६ मा ट्रम्प र ओबामाबीच ह्वाइट हाउसमा भेट भएको थियो ।
प्रकाशित: २९ कार्तिक २०८१ ०७:०८ बिहीबार