९ पुस २०८१ मंगलबार
image/svg+xml
खेल

नेपालले अरब क्लासिक बेसबल खेल्ने

नेपालले आगामी बिहीबारदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा हुने अरब क्लासिक बेसबल लिगमा खेल्ने भएको छ।

मध्यपूर्वी र दक्षिण एसियाका ९ राष्ट्रले चुनौती प्रस्तुत गर्ने अरब क्लासिक बेसबल लिग आगामी बिहीबारदेखि नोभेम्बर ११ सम्म युएईको दुबईमा हुँदै छ। दक्षिण एसियाली राष्ट्र नेपालले पहिलोपल्ट हुन लागेको लिगमा प्रतिस्पर्धा गर्न लागेको हो। यसै लिग खेल्ने नेपाली राष्ट्रिय बेसबल टोलीको सोमबार एक कार्यक्रमबीच बिदाइ गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) की निमित्त सदस्यसचिव अञ्जना श्रेष्ठ मास्केले राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै नेपाली टोलीलाई बिदाइ गरेकी हुन्। निमित्त सदस्यसचिव अञ्जनाले खेलाडीहरूलाई खादा र टीका लगाएर बिदाइ गरिन्।

सो अवसरमा निमित्त सदस्यसचिव अञ्जनाले नेपालीहरूले श्रम र पसिना बगाएको मरुभूमिमा देशका खेलाडीको सफलताले उत्साह प्रदान गर्ने उल्लेख गर्दै उँचो प्रदर्शन गर्न शुभकामना दिइन्। निश्चल केसीको कप्तानीमा रहेको १५ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली बुधबार त्यसतर्फ जाँदै छ।

नेपालको प्रशिक्षण टोलीमा मुख्य प्रशिक्षक विपिन वज्राचार्य, प्रशिक्षक सञ्जीव फुँयाल केसी, रोशन थापा र तिलक ढुङ्गाना छन्। निश्चलको कप्तानीमा रहेको नेपाली टोलीमा आर्यनजंग क्षेत्री, विजय पाण्डे, भविसन राई, दिनेशसिंह भण्डारी, निकेश केसी, वीरबहादुर मल्ल, रितेश विश्वकर्मा, रोहन खत्री, सनिल लामा, सगुन खिचाजु, सुवास बोहरा, ईश्वर थापा र सबिन नेपाल छन्।

नेपालले यस प्रतियोगिताका लागि करिब तीन महिनादेखि प्रशिक्षण गरेको र यस लिगमा खेल्ने ५ वटा राष्ट्र डब्लुबिसीको विश्व ¥याङकिङमा नेपालभन्दा माथि रहेको नेपाल बेसबल संघका अध्यक्ष दीपक न्यौपानले जानकारी दिए।

अध्यक्ष न्यौपानेसँगै अन्य अफिसियलहरू दीपेन्द्र कार्की, प्रदीप फुयाल, विवेक सुवेदी, श्यामराज लिम्बु र उपेन्द्रविक्रम लामा पनि यसै प्रतियोगिताका लागि दुबई जाँदै छन्। बेसबल युनाइटेडको आयोजनामा पहिलोपल्ट हुन लागेको अरब क्लासिक बेसबल लिगमा सहभागी कुल ९ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘बी’ मा छ।

यो समूहमा नेपालसहित प्यालेस्टाइन, श्रीलंका र साउदी अरेबिया छन्। समूह ‘ए’ मा भने भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र युएईले प्रतिस्पर्धा गर्नेछन्। नेपालले प्यालेस्टाइनसँग आगामी शुक्रबारदेखि प्रतियोगिताको सुरुआत गर्नेछ।

नेपालले दोस्रो खेल साउदी अरेबियासँग नोभेम्बर ८ र समूहको अन्तिम खेल श्रीलंकासँग नोभेम्बर ९ मा खेल्ने तालिका छ। दुई समूहका विजेता टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। समूहमा दोस्रो र तेस्रो हुने टोलीले भने सेमिफाइनल यात्राका लागि क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछन्। 

प्रकाशित: २० कार्तिक २०८१ ०९:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App