१४ कार्तिक २०८१ बुधबार
image/svg+xml
खेल

साफ महिला च्याम्पियनसिपको उपाधि जित्न चुक्यो नेपाल

तस्बिर एन्फा

नेपाल साफ महिला च्याम्पियनसिपको उपाधि जित्न असफल भएको छ। 

दशरथरंगशालामा बुधबार भएको फाइनल खेलमा बङ्गलादेशसँग २ - १ गोलले पराजित हुँदै नेपाल उपाधि जित्न असफल भएको हो।

मध्यान्तर सम्म गोलरहित बराबरी भएको खेलमा नेपालविरुद्ध बङ्गलादेशले ५१ मिनेटमा पहिलो गोल गर्दै  १-० को अग्रता लिएको थियो ।तर त्यो अग्रतालाई घरेलु खेलाडी अमिशा कार्कीले चार मिनेट पछि  गोल फर्काउँदै बराबरीमा ल्याइन । अन्ततः ८० औ मिनेटमा बङ्गलादेशले दोस्रो गोल गर्दै २ -१ अग्रता लियो।

यो अग्रतालाई कायमै गर्दै बङ्गलादेशले दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ ।बंगलादेशका लागि मोनिका चक्मा र ऋतु पोर्ना चक्माले १-१ गोल गरेका हुन।

यस अघि पनि बङ्गलादेशले फाइनलमा नेपाललाई नै हराएर पहिलो पटक उपाधि जित्न सफल भएको थियो । नेपालले अहिले सम्म साफ महिला च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन ।  

यो संगै नेपाल साफ महिला च्याम्पियनसिपमा चार पटक भारतसँग तथा दुई पटक बङ्गलादेशसँग फाइनलमा पराजित हुन पुगेको छ । 

सन् २०१० मा बङ्गलादेशबाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा नेपालको उपाधि जित्न सपना यसपाली पनि पुरा हुन पाएन । यसपटक पनि नेपाल उपविजेतामै  चित्त बुझाउन बाध्य भएको छ ।  

यसपटक नेपाल र बङ्गलादेश दुवै अपराजित रहँदै साफको फाइनल पुगेका हुन्। नेपालले भारत र बङ्गलादेशले भुटानलाई हराउँदै प्रतियोगिताको फाइनल यात्रा तय गरेका हुन्।

नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोलअन्तरले हराएको थियो । त्यसैगरी नेपालले श्रीलंकालाई ६–० गोलअन्तरले पराजित गरेको  थियो।

यस्तै बङ्गलादेशले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारतलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो।

प्रकाशित: १४ कार्तिक २०८१ २०:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App