१८ मंसिर २०८१ मंगलबार
image/svg+xml
खेल

मिक्वाखोलामा मंसिर ७ देखि वडा स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवास्थित तेम्बा टोलमा मंसिर ७ गते देखि वडा स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने भएको छ।

फुङफुङ्गे झरना पर्यटन विकास समितिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो। समिति अध्यक्ष बिजय साँवा लिम्बूका अनुसार प्रतियोगितामा वडाका जुनसुकै टिमले पनि सहभागिता जनाउन पाउने छन्।  अलग वडाका खेलाडी मिसाएर खेलाउन भने नपाउने समेत साँवाले जानकारी दिए।

प्रतियोगिता मंसिर १० गते समापन हुने भएको छ। प्रतियोगिता अन्तर्गत पुरुष फुटबलका विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले ६१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र पाउने छन्। यस्तै महिला फुटबलतर्फका विजेताले ५५ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र पाउने समितिका कोषाध्यक्ष सुकबहादुर साँवाले जानकारी दिए।

फुङफुङ्गे झरना पर्यटन विकास समितिले बुधवार प्रतियोगिताका बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा समिति अध्यक्ष साँवाले फुङफुङ्गे झरना सहित मिक्वाखोला क्षेत्रमा रहेका प्राकृतिक सम्पदाहरूको प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको बताए।

सशस्त्र द्धन्दसंगै २०५२ सालबाट स्थगित भएको प्रतियोगिता फेरि सुरु गर्न लागिएको आयोजक संस्थाले जनाएको छ। मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले मिक्वाखोला क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन तथा खेलकुदको उन्नयनका लागि हुन लागेको प्रतियोगिताका लागि पालिका कोतर्फबाट ४ लाख रुपैयाँ सहयोग हुने बचन दिए।

प्रतियोगिता सम्पन्न गर्नका लागि २५ देखि २८ लाख रुपैयाँ सम्म खर्च हुने अनुमान गरिएको आयोजक संस्थाका अध्यक्ष साँवाले जानकारी दिए। प्रतियोगिता सँगै स्थानीय मौलिक संस्कृतिमा आधारित प्रतिस्पर्धात्मक सांस्कृतिक कार्यक्रम समेतको आयोजना गरिएको समेत फुङफुङ्गे झरना पर्यटन विकास समितिले जनाएको छ। 

प्रकाशित: १४ कार्तिक २०८१ १३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App