१० कार्तिक २०८१ शनिबार
image/svg+xml
खेल

चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस : सुनिरा र रितिक च्याम्पियन

सुनिरा थापा र रितिक राणा चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको सिंगल्समा च्याम्पियन भएका छन्।

गणेशमान सिंह फाउन्डेसनको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा सुनिरा महिला सिंगल्स र रितिक पुरुष सिंगल्समा च्याम्पियन भएका हुन्। सिंगल्स च्याम्पियनद्वय रितिक र सुनिराले समान एक लाख रुपैयाँ नगद पुरस्कार पाए। नेपाल टेनिस संघको कोर्टमा भएको पुरुष सिंगल्सको फाइनलमा सुनिराले अभिलाशा बिष्टमाथि ६–४ र ७–५ को जित रचिन्। पुरुष सिंगल्सको फाइनलमा रितिकले राजवीर प्रधानलाई ६–३ र ६–४ ले हराए । सिंगल्समा दोस्रो भएका खेलाडीले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

पुरुष सिंगल्समा प्रणव मानन्धर र आयुषमान हजुर घले संयुक्त रूपमा तेस्रो भए। महिला सिंगल्समा भने प्राज्ना मानन्धर र स्वस्तिका बिष्ट तेस्रो भए। तेस्रो स्थानका खेलाडीलाई समान १२ हजार पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो। पुरुष ४५ वर्षमाथि सिंगल्समा कमलबहादुर भण्डारी च्याम्पियन भए। कमलले फाइनलमा छेवाङ लामामाथि ६–१ र ६–२ को जित रचे। च्याम्पियन कमलले ३७ हजार पाँच सय र छेवाङले १८ हजार सात सय ५० रुपैयाँ प्राप्त गरे। यसै उमेरसमूहमा सुकमान तामाङ र महेश श्रेष्ठ तेस्रो स्थानमा रहे। यी दुईले तीन हजार १२५ रुपैयाँ प्राप्त गरे।

पुरुष डबल्समा आयुष्मान घले र प्रदीप खड्काको जोडीले सफलता पाएका थिए । महिला डबल्समा भने खेलाडी संख्या नपुगेपछि प्रतिस्पर्धा रद्द गरिएको थियो। नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगिताको सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २२ स्पर्धामा प्रतिस्पर्धा भएको थियो। पुरूषमा ३५ वर्षमाथि सिंगल्समा सन्तोष खत्री र डबल्समा सन्तोष खत्री र सुवास बस्नेतको जोडी, ५५ वर्षमाथि सिंगल्समा कमल थापा र डबल्समा उत्तम शेर्पा र चन्द्र शाहीको जोडी, ६५ वर्षमाथि सिगंल्समा कमल थापा र डबल्समा विदुर बिष्ट र भिक्टोर राणाको जोडीले सफलता पाए।

३५ वर्षमाथि सिगंल्समा विजेताले ५० हजार, २५ हजार र १२ हजार पाँच सय रूपैयाँ पाए । ३५ वर्षमाथि डबल्सको विजेताले ३१ हजार २५०, उपविजेताले १८ हजार ७५० र तेस्रो हुनेले १२ हजार पाँच सय प्राप्त गरे। ४५ वर्षमाथि सिंगल्स विजेताले ३७ हजार पाँच सय, उपविजेताले १८ हजार ७५० र तेस्रोले ६ हजार  २५० रूपैयाँ पाउनेछन्। यसै उमेरसमूहका डबल्स विजेताले २५ हजार, १२ हजार पाँच सय र तेस्रो हुनेले १२ हजार पाँच सय रूपैयाँ पुरस्कार पाउनेछन्।

जुनियरतर्फ बोइज र गल्र्समा यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ सिंगल्स र खुला डबल्स विधामा प्रतिस्पर्धा भयो। प्रतियोगिताको विजेतालाई उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, गणेशमान सिंह फाउन्डेसनका सदस्य तथा प्रतियोगिताका संयोजक भाष्करमान सिंह र नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले लगायतले पुरस्कृत गरे।

प्रकाशित: १० कार्तिक २०८१ १९:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App