१० कार्तिक २०८१ शनिबार
image/svg+xml
खेल

नेपाललाई चोटको पीडा

महिला साफ च्याम्पियनसिपअन्तर्गत बिहीबार श्रीलंकाविरुद्धको समूहचरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ दोधारमा देखिए। उनीसामु पहिलो हाफमै मिडफिल्डर प्रीति राईलाई परिवर्तन गर्नुपर्ने अवस्था आइपर्‍यो।

‘प्रीतिको घुँडामा पुरानो चोट थियो। त्यो चस्कियो भनेपछि बाध्य भएर बाहिर निकाल्न पर्‍यो,’ उनले भने। समूह ‘बी’ को विजेता बन्न जसरी पनि पाँचभन्दा बढी गोलअन्तरले जित्नुपर्ने दबाबका बेला प्रीतिजस्ती प्रभावशाली मिडफिल्डर टोलीका लागि निकै महत्वपूर्ण थिइन्।

तर, सेमिफाइनल पनि उत्तिकै महत्वपूर्ण भएका कारण राजेन्द्रले मन खिन्न बनाउनुपर्‍यो। उनको स्थानमा दोस्रो हाफको सुरुआतमै रश्मिकुमारी घिसिङ मैदान प्रवेश गरेकी थिइन्। एकपक्षीय दबाब कायम राखेको खेलमा नेपालले खेल ६–० ले जित्यो। तर, उनी खुसी भने देखिएनन्।

‘प्रीति घाइते भएका कारण मिडफिल्डमा कन्ट्रोल गर्न गाह्रो भयो। पहिलो हाफमै गोल (चार) निस्किएपछि केही सहज भयो। तर, दोस्रो हाफमा श्रीलंकाले गाह्रो पार्‍यो,’ उनले भने। शारीरिक रूपमा सानी देखिए पनि प्रीति आफ्नो ‘फुट वर्क’ का कारण चर्चामा रहने गर्छिन्। लोभलाग्दो ‘ड्रिब्लिङ’ र दुवै खुट्टा उत्तिकै चलाउन सक्ने खुबी उनमा छ। 

यसैलाई बलियो हतियार बनाउँदै विपक्षीको बाधालाई चिर्दै स्ट्राइकरलाई बल उपलब्ध गराउन सक्ने कौशल त उनीसँग हुने भइहाल्यो। अझ चाहिएको बेला उनले गोल निकाल्न सक्छिन्।

माल्दिभ्सविरुद्धको खेलमा पनि उनले ह्याट्रिक पूरा गरेकी थिइन्। उक्त खेलमा नेपाल ११–० ले विजयी भयो। तर, उत्कृष्ट प्रदर्शन गर्दै आए पनि बेलाबेला उनीसामु चोट बाधक बन्ने गरेको छ।

सन् २०२३ मार्च ८ मा एएफसी यु–२० महिला एसियन कप छनोटअन्तर्गत घरेलु टोली प्यालेस्टाइनविरुद्ध उनको खुट्टा भाँचिएको थियो। त्यसपछि उनी करिब ६ महिना मैदानबाहिर रहिन्। उनले जुलाईमा बंगलादेशसँगको मैत्रीपूर्ण खेलमार्फत टोलीमा पुनरागमन गरेकी थिइन्। तर, फेबु्रअरीमा साउदी अरबमा भएको पश्चिम एसियाली फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपअन्तर्गत जोर्डनविरुद्धको फाइनलमा उनको घुँडामा  चोट लाग्यो।

त्यसपछि तीन महिना मैदानबाहिर बसेकी प्रीतिको त्यही चोट बल्झिएको राजेन्द्रको संकेत छ। ‘पूरै घाइते भएको त होइन। तर, उसले चोट चस्किएको महसुस गरेकी हुन्। त्यसैले म यो खेलमा आराम गर्छु र सेमिफाइनल खेल्छु भनेपछि मैले खेलाइनँ,’ उनी भन्छन्। नेपालको समस्या यतिमा सीमित छैन। भुटानविरुद्धको पहिलो खेलमै लेफ्ट ब्याक हीराकुमारी भुजेल र मिडफिल्डर दीपा शाहीले एकैपल्ट ‘एसिएल’ को चोट बोकेका थिए। टोलीकी चिकित्सक ज्योति राईका अनुसार उनीहरूको गत आइतबार शल्यक्रिया गरिएको छ।

सामान्यतया यो शल्यक्रियापछि चोट निको हुन ९ महिना लाग्नेछ। त्यसैले उनीहरूले साफ गुमाइसकेका छन्। अर्कोतर्फ दुई डिफेन्डर पूजा राना र समीक्षा घिमिरे पनि पछिल्लो समय टोलीको ‘वाम अर्प’ मा देखिन छाडेका छन्। पूजाले भुटानविरुद्धको पहिलो खेल पूरै खेलेकी थिइन्। तर, त्यसपछिका खेलमा भने उनलाई राजेन्द्रले खेलाउन सकेका छैनन्। समीक्षाले भने अहिलेसम्म मैदान उत्रिन पाएकी छैनन्। ‘समीक्षामा घुँडाको समस्या अझै छ। प्रशिक्षणमा पनि उसको कन्फिडेन्ट लेभल राम्रो भइरहेको छैन। पूजाको पनि त्यही समस्या छ। उसलाई श्रीलंकाविरुद्ध खेलाउन सक्छु कि भन्ने लागेको थियो तर सकिनँ,’ उनी भन्छन्।

नेपालले अब सेमिफाइनलमा पाँचपल्टको साफ विजेता भारतसँग प्रतिस्पर्धा गर्दै छ। भारत नेपालका लागि सजिलो प्रतिद्वन्द्वी होइन। भारतले नेपाललाई पाँचैपल्ट हराउँदै उपाधि हात पारेको थियो। भारतले सन् २०१६ को साफमा भने नेपाललाई सेमिफाइनलमै रोकेको थियो। तर, अघिल्लो संस्करणमा भने नेपाल बदला लिन सफल भयो। उक्त खेलमा रश्मिकुमारी घिसिङले गरेको गोल नै निर्णायक बनेको थियो। तर, पेनाल्टी बक्सबाट प्रीतिको उत्कृष्ट लेफ्ट फुटेट पासमार्पmत नै रश्मिको उक्त गोल सम्भव भएको हो।

उक्त खेलमा हीरा र दीपाले पनि महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए। यसपल्ट हीरा र दीपाको अभाव महसुस हुने नै छ। अर्कोतर्फ प्रीति र पूजाले पूर्ण समय खेल्न सक्छन् कि सक्दैनन् भन्नेमा पनि शंका उत्तिकै छ। यस्तो अवस्थामा नेपाल २१ खेलाडीका साथ प्रतियोगिता खेलिरहेको छ। अहिले घाइते भएकाजस्तो उत्कृष्ट खेल्ने अन्य कुनै खेलाडी नरहेको प्रशिक्षक राजेन्द्रको भनाइ छ। त्यसैले टोली रणनीतिमा नै परिवर्तन गरेर पनि मैदान उत्रिरहेका छन्। हीरा र दीपाको स्थानमा राख्ने खेलाडी नहुँदा उनले श्रीलंकाविरुद्धको ३–५–२ को ‘फर्मेसन’ मा टोली मैदान उतारेका थिए।

अहिलेसम्म नेपालको डिसेन्स लाइन परीक्षण हुन पाएको छैन। परीक्षण हुने भनेको भारतविरुद्धको सेमिफाइनलमा नै हो। त्यसैले ‘गर या मर’को खेलमा कस्तो रणनीतिमा मैदान उत्रने भन्नेबारे राजेन्द्र अभैm स्पष्ट छैनन्। ‘हिरा र दीपाजस्तो क्षमतावान् खेलाडीको अभाव हुनेछ। त्यसैले उनीहरूको स्थानलाई कभर गर्न रणनीति परिवर्तन गर्नुपर्छ। पूजा र समीक्षा पनि घाइते हुँदा यहाँबाट अगाडि बढ्न पनि खेलाडी बचाएर खेल्नुपर्ने बाध्यता छ,’ उनी भन्छन्।

भारतसँगको अघिल्लो संस्करणमा जितेको हुँदा नेपाली टोली आइतबार उच्च मनोबलसहित मैदान उत्रिनेछ। तर, चोटको पीडाले भने भारतसँग केही असहज हुनेछ। यद्यपि, भारतको प्रशिक्षक र उनले खेलाउने रणनीति नयाँ हुँदा ‘पेनिक’ भएर भन्दा पनि राम्रो खेल्ने नेपालको लक्ष्य छ।

प्रकाशित: १० कार्तिक २०८१ ०९:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App