७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

एकता युवा क्लब (कैलाश)राई स्मृति फुटबलको सेमिफाइनलमा

फुटबल खेल सुरु हुनुअघि स्मृति स्तम्भ मैदानमा लादै आयोजक खेलाडी । तस्विरः महेश्वर

उदयपुरमा जारी ‘दोस्रो स्वर्गीय युवराज (कैलाश) राई स्मृति फुटबल प्रतियोगिता २०८१’को तेस्रो दिनको खेल बेल्टारले जितेको छ । सोमबार भएको खेलमा चौदण्डीगढी नगरपालिका ६ बेलटारस्थित एकता युवा क्लबले सिन्धुलीको दुधौली स्पोर्टस् क्लबलाई पराजित गर्दै विजयी यात्रा प्रारम्भ गरेको हो।

त्रियुगा नगरपालिका ४ स्थित बगाहा खेलमैदानमा जारी प्रतियोगितामा दुधौलीलाई २–१ गोलले पराजित गर्दै बेलटार अघि बढेको हो। खेल सुरु भएको छैठौँ मिनेटमै बेलटारका निश्चल विश्वकर्माले पहिलो गोल गर्दै आफ्नो टिमलाई अघि बढाएका थिए। मध्यान्तरअघिकै खेलमा १५ औँ मिनेटमा दुधौलीका सुनिल दनुवारले गोल फर्काउँदै खेललाई बराबरी बनाए।

मध्यान्तरअघि १–१ गोलको बराबरी भएको खेल मध्यान्तरपछिको २२ औँ मिनेटमा बेलटारका जेबी राईको प्रहारले जाली चुमाउँदै टिमलाई २ गोल बताए । प्रतिस्पर्धी दुधौलीले थप गोल गर्न नसकेसँगै बेलटार विजयी हुन सफल भएको हो। सोमबारको खेलमा बेलटारकै जेबी राई म्यान अफ द म्याच घोषित भए। उनलाई नगद १ हजार र मेडल प्रदान गरियो।

जितसँगै बेल्टार प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबारको खेलमा त्रियुगा ५ को दमौटी फुटबल क्लब र सप्तरीको नवबुद्ध युवा क्लबबीच प्रतिस्पर्धा हुने आयोजक बगाहा युवा समूहले जनाएको छ । मङ्गलबारको खेल जित्ने समूह पनि सेमिफाइनलमा प्रवेश गर्ने आयोजकले जनाएको छ। यसअघिका विजेताहरू सगरमाथा फुटबल क्लब त्रियुगा ८ (राजावास) र फ्युजन फुटबल क्लब त्रियुगा १० बोक्से पनि सेमिफाइनल प्रवेश गरिसकेका छन्।

बुधवार र बिहीबार सेमिफाइनलमा प्रतिस्पर्धा हुने प्रतियोगिताको फाइनल आउँदो १० गते फाइनल स्पर्धा हुनेछ । उपाधि विजेताले ५१ हजार नगद र ट्रफि तथा प्रमाणपत्र पाउने छ भने उपविजेताले ३१ हजार नगदसहित ट्रफि र मेडल प्राप्त गर्ने आयोजक समूहले जनाएको छ।

चर्चित युवा फुटबल खेलाडी बगाहाका स्वर्गीय कैलाश राईको स्मृतिमा स्थानीय युवा समूहले वर्षेनी फुटबल प्रतियोगिता गराउँदै आएको छ । विद्युतीय झट्का (करेन्ट) लागेर गतवर्ष ज्यान गुमाएका फुटबल प्रेमी राईको स्मृतिमा परिवार र समूहको आयोजना जिल्ला फुटबल संघ (एन्फा) उदयपुरको समन्वयमा प्रतियोगिता आयोजना गरिएको हो।

प्रकाशित: ५ कार्तिक २०८१ १९:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App