६ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

अन्तिम समयमा समालिन नसकेको पाकिस्तान

अन्तिम समयमा समालिन नसक्दा पाकिस्तानले साफ च्याम्पियनसिपमा आइतबार डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई हराउने अवसर गुमाएको छ।

खेल अवधिभर रक्षात्मक रणनीतिका साथ खेलेको पाकिस्तानले डिफेन्डिङ च्याम्पियनसँग अन्तिम समय भने समालिन सकेन। दशरथ रंगशालामा भएको समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा अग्रता गुमाएपछि पाकिस्तानले बलियो टोली बंगलादेशसँग १–१ को बराबरीमै चित्त बुझाउनु परेको हो। 

समूह ‘ए’ मा पाँचपल्टको च्याम्पियन भारत रडिफेन्डिङ च्याम्पियन बंगलादेश थिए। त्यसैले यो समूहमा पाकिस्तानलाई कमजोर टोलीका रूपमा हेरिएको थियो। तर, समूहका दुवै खेलमा पाकिस्तानले आफूलाई नयाँ र फरक टोलीका रूपमा प्रमाणित गरेको छ। पहिलो खेलमा पाकिस्तान भारतसँग ५–२ ले पराजित हुन पुगेको थियो।

तर, त्यो नतिजाका बावजुद पाकिस्तानले कडा प्रतिस्पर्धा प्रस्तुत गरेको थियो। जुन प्रदर्शन पाकिस्तानले आइतबार बंगलादेशविरुद्ध पनि दोहोर्‍यायो। साथै डिफेन्डिङ च्याम्पियनलाई झन्डै हार सामना गर्न बाध्य बनायो। बंगलादेशसँग जितले पाकिस्तानको सेमिफाइनल सम्भावना बलियो बन्थ्यो। तर, इन्जुरी समयमा पाकिस्तान समालिन सकेन र काउन्टर अट्याकमा गोल बेहोर्न पुग्यो। समूहको अन्तिम खेलमा बराबरीका बावजुद पाकिस्तानको सेमिफाइनल सम्भावना जीवन्त छ। पाकिस्तानले दोस्रो चरणमा पुग्न भारत रबंगलादेशबीच समूहको अन्तिम खेल कुर्नुपर्नेछ। पाकिस्तानका प्रशिक्षक अदिल रिज्की आफ्ना खेलाडीको प्रदर्शनबाट सन्तुष्ट देखिए।

भारतले समूहको अन्तिम खेलमा बंगलादेशलाई कम्तीमा ३–० ले हराए मात्र पाकिस्तानको दोस्रो चरण सम्भावना रहनेछ। पहिलो खेलमा पाकिस्तानले खराब डिफेन्स प्रस्तुत गर्दा भारतसँग धेरै गोल बेहोरेको थियो। बंगलादेशसँग भने सुधारिएको डिफेन्स मात्र प्रस्तुत गरेन अन्तिम समयसम्म हरेक बंगाली खेलाडीलाई बलियो निगरानीमा राख्यो।

खुलेर खेल्न नदिएपछि निर्धारित समय संघर्ष गर्‍यो। तर, अन्तिम समयमा भने काउन्टरमा बंगलादेशले सफलता पायो। यता, पाकिस्तानले सुरुदेखि रक्षात्मकसँगै काउन्टर रणनीति अपनायो। जहाँ उसले सफलता प्राप्त पनि गर्‍यो र पहिलो हाफमै अग्रता लियो। साथै पाकिस्तानले दुईवटा वान भर्सेस वानमा गोल गर्ने अवसर गुमाउन गुग्दा बंगलादेशलाई केही सहज भयो। 

खेल अवधिभर बंगलादेशले बल पोसेसन पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राख्यो। दुवै तर्फबा काउन्टर प्रयासमा राम्रा अवसरपनि बने। त्यसअघि खेलको २०औं मिनेटमा सामसुन नाहर करिब १५ यार्ड टाढाबाट गोल गर्न असफल भइन्। उनको प्रहार बार माथिबाट अकासियो। तीन मिनेटपछि नै बंगलादेशले अर्को आक्रमण बुन्यो। पेनाल्टी बक्स बाहिरबाट रितु चक्माले गरेको प्रहार पाकिस्तानकी गोलकिपर निशा असरफका लागि चुनौती बनेन। २५औं मिनेटमा पाकिस्तानले पहिलो सुन्दर अवसर बनायो। अनमोल हिराको लामो प्रहार बंगलादेशकी गोलकिपर रूपना चक्माले मुस्किलले बचाइन्। यद्यपि, ३२औं मिनेटमा भने पाकिस्तानले काउन्टर अट्याकमा गोल गर्दै अग्रता लियो।

करिब मध्यभागबाट रमिन फरिदले दिएको ओभरहेड पासलाई बंगलादेशका डिफेन्डरले फुत्काइन्। सोही बल नियन्त्रणमा लिँदै जमिना मल्लिकले गोल गरेकी हुन्। ४३औं मिनेटमा बंगलादेशको बराबरी गर्ने अवसर गुम्यो। रितु चक्माले लामो दूरीबाट गरेको सशक्त प्रहार माथिल्लो बारबाट ठोकिएर फर्किएपछि पाकिस्तानलाई राहत मिल्यो। त्यसपछि पहिलो हाफमा थप गोल भएन रपाकिस्तान १–० ले अगाडि रह्यो। दोस्रो हाफमा पनि पाकिस्तानले रक्षात्मक रणनीति जारी राख्यो। यता, बंगलादेशले भने बल पोसेसन राख्दै आक्रामण बुनिरह्यो। 

तीन मिनेटपछि मोनिका चक्माको सशक्त प्रहार पाकिस्तानी गोलकिपर निशाले मुस्किलले बचाइन्। उनको हातबाट बल फुत्किए पनि कप्तान मारिया खानले क्लियर गर्दै संकट टारिन्। पाकिस्तानले ७७औं मिनेटमा अग्रता दोब्बरबनाउने अवसर खेर फाल्यो। पाकिस्तानकी अमिना हानिफ बंगलादेशकी गोलकिपर चक्मासँग वान भर्सेस वानमा चुकिन्। दुई मिनेटपछि नै नादिया खानले पनि गोल गर्ने अवसर सदुपयोग गर्न सकिनन्। ८१औं मिनेटमा सामसुनले २० यार्डबाट गरेको सट पाकिस्तानी गोलकिपर निशाले सहजै रोकिन्।

दुई मिनेटपछि रितु चक्माको सशक्त प्रहार पनि निशाले विफल बनाइन्। तर, इन्जुरी समयको पहिलो मिनेटमा बंगलादेशले काउन्टर अट्याकमा गोल फर्कायो। रितुले लेफ्ट साइडबाट दिएको बललाई सामसुनले दुई डिफेन्डरको बीचबाट हेड गर्दै जाली चुमाइन्। यससँगै पाकिस्तानको डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई हराउने लक्ष्य पूरा भएन रखेल १–१ को बराबरीमा टुङ्गियो। 

प्रकाशित: ५ कार्तिक २०८१ १०:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App