अनुभवी बलर सोमपाल कामीले डेथ र सुपर ओभरमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले घरेलु टोली अमेरिकासँगको ट्वान्टी–२० शृंखला एक खेलअगावै आफ्नो बनाएको छ।
डालसस्थित ग्रान्ड प्रे्ररी स्टेडियममा नेपालले आइतबार दोस्रो खेलमा सुपर ओभरमार्फत जित निकाल्दै तीन खेलको शृंखला आफ्नो बनाएको हो। नेपालको जितमा दुईवटा आइसिसी ट्वान्टी–२० विश्वकप खेलेका सोमपालको प्रदर्शन यादगार रह्यो। हारको संघारमा देखिएको नेपालका लागि सोमपालले डेथ ओभरमा उत्कृष्ट बलिङ गरे। जितका लागि अमेरिकालाई अन्तिम ओभरमा ६ बलमा ७ रन आवश्यक थियो। तर, सोमपालले एक विकेट लिँदै ६ रन मात्र दिए। यससँगै १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले पूरै ओभरमा १७० रन जोडेपछि खेल सुपर ओभरमा धकेलियो।
सुपर ओभरमा पनि सोमपालको प्रदर्शन उत्कृष्ट रह्यो। उनले दुई रन मात्र दिँदै दुई विकेट लिएपछि नेपालले ३ रनको झीनो लक्ष्य पायो। जुन लक्ष्य नेपालले चौथो बलमा पूरा गर्यो र एक खेलअगावै शृंखला आफ्नो बनायो। त्यसअघि डेथ ओभरमा सोमपालले उत्कृष्ट ब्याटिङ गरिरहेका आन्द्रेस गौसलाई ६२ रनमा पभेलियन फर्काउँदै ठूलो सफलता दिलाए। त्यो विकेटपछि अन्तिम दुई बलमा अमेरिकालाई तीन रन आवश्यक थियो। त्यसपछि क्रिजमा आएका अली खानले पाँचौं बलमा १ रन लिँदै अनुभवी जसदीप सिंहलाई स्ट्राइक दिए।
अन्तिम बलमा दुई रन लिने प्रयासमा सिंह रनआउट भए। सुपर ओभरमा पनि अमेरिकाका लागि आक्रामक ब्याटर गौस र सायन जहानगिर आए। नेपालका कप्तान रोहितकुमार पौडेलले सुपर ओभरमा पनि उनै अनुभवी सोमपाललाई बलिङ गर्ने अवसर दिए। सोमपालले पहिलो दुई बलमा कसिलो बलिङ गर्दै समान दुई रन दिए। तर, सोमपालले तेस्रो बलमा जहानगिरलाई बोल्ड र आरोन जोन्सलाई क्याच आउट गर्दै दोस्रो खेलमा रोमाञ्चक जित दिलाए। सुपर ओपरमा सामान्य लक्ष्य पाएको नेपालका लागि लयमा रहेका कुशल भुर्तेल र कप्तान रोहित आए।
दुवैले धैर्यतापूर्वक ब्याटिङ गर्दै चार बलमा तीन रनको लक्ष्य पूरा गरे। त्यसअघि कुशलकै आक्रामक ब्याटिङमा नेपालले अमेरिकासामु १७१ रनको राम्रो लक्ष्य बनाएको थियो। कुशल ९२ रनमा नटआउट रहे । उनले ५४ बलमा सात चौका र ६ छक्का प्रहार गरे। तेस्रो नम्बरमा ब्याटिङ गरेका कुशलले नेपाललाई राम्रो योगफलतर्पm अग्रसर गराए। उनी म्यान अफ दी म्याचसमेत भए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालको सुरुआत राम्रो हुन सकेन। घरेलु टोलीका बलरले कसिलो बलिङ गर्दै सुरुआती दबाब सिर्जना गरे।
यससँगै २.४ ओभरमै नेपालले ओपनर आसिफ सेखलाई १ रनमै गुमायो। त्यसपछि ब्याटिङमा आएका कुशलले इनिङ समाले। यस क्रममा कुशलले दोस्रो विकेटका लागि अनिलकुमार साहसँग ४९, तेस्रो विकेटका लागि गुलसन झासँग २९, चौथो विकेटका लागि कप्तान रोहितसँग ४५ रन र पाँचौं विकेटका लागि दीपेन्द्रसिंह ऐरीसँग २३ रनको महŒवपूर्ण साझेदारी गरे। ओपनर अनिलले २५ रन, गुलसनले १९ र कप्तान रोहितले १८ रनको योगदान दिए। अमेरिकाको बलिङमा जसदीप र नोस्थुस किनजिगेले समान दुई तथा सौरभ नेत्राभाल्करले एक विकेट लिए।
नेपालले एक विकेट रनआउटका रूपमा गुमाउन पुग्यो। अन्तिम ६ ओभरमा ६९ रन जोडेपछि नेपाल २० ओभरमा १७०/६ को स्थितिमा पुगेको हो। जबाफी ब्याटिङ गरेको अमेरिकाले तेस्रो ओभरदेखि नै नेपाली बलरमाथि दबाब बनायो। त्यसअघि दोस्रो ओभरमै नेपालका करण केसीले अमेरिकाका कप्तान मोनान्क पटेललाई १ रनमै आउट गरेका थिए। तर, त्यसपछि भने अमेरिकी ब्याटर समालिए। ओपनर साइतेजा मुक्कामल्ला र गौसले ९२ रनको उत्कृष्ट साझेदारी गर्दै जितको बलियो आधार बनाए।
दीपेन्द्रसिंहले १२औं ओभरमा साइतेजालाई ४७ रनमा आउट गर्दै यो साझेदारी तोडे। तर, अर्को छेउबाट भने गौसले इनिङ समाल्दै जितनजिक पुर्याए। यद्यपि, अन्तिम ओभरमा धैर्यता गुमाउँदा गौस आउट भए र अमेरिका पनि जितनजिक पुगेर असफल भयो। गौसले ४३ बलमा तीन चौका र चार छक्का प्रहार गरे। मिलिन्द कुमारले १५ र जहानगिरले १४ रन जोडे पनि पर्याप्त भए। नेपालको बलिङमा करणले तीन, सोमपालले दुई तथा सागर ढकाल र दीपेन्द्रसिंहले समान एक विकेट लिए।
प्रकाशित: ५ कार्तिक २०८१ ०६:३७ सोमबार