नेपाल पुलिस क्लबकी निशा दर्नालले कोरियन एम्बासडर ओपन तेक्वान्दो च्याम्पियनसिपमा तीन स्वर्ण पदक जितेकी छन्।
नेपालस्थित कोरियाली दूतावासको सहयोग र नेपाल तेक्वान्दो संघको आयोजनामा जारी च्याम्पियनसिपमा पुलिसकी निशाले शनिबार एकल, महिला टिम र पेयर पुम्सेमा गरी तीन स्वर्ण पदक जितेकी हुन्।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा भएको खेलमा निशाले महिला एकल पुम्से (१७ देखि ३० वर्ष उमेरसमूह) मा पुलिसकै रमिला लामालाई हराउँदै स्वर्ण जितिन्। निशाले ७.७९ स्कोर र रमिलाले ७.७४ स्कोर गरे। यसै विधामा गोदावरीकी रोशनी सिलवाल र एपिएफकी सञ्जना घर्तिमगर संयुक्त रूपमा तेस्रो भए।
निशाले अर्को स्वर्ण महिला टिम पुम्सेमा जितिन्। निशा, रमिला र सबिना घले सम्मिलित टोलीले सर्वाधिक ६.९८ स्कोर बटुल्दै स्वर्ण जिते। यसै विधामा पोखरा तेक्वान्दो रजत पदक जित्न सफल भयो। अस्मिका मानन्धर, रितु बुढाथोकी र रक्षा पुर्जाको टोलीले ६.६४ स्कोर बटुले।
निशाले पेयर पुम्सेमा अस्मिन राउतसँग मिलेर पुलिसलाई तेस्रो स्वर्ण पदक दिलाइन्। यो जोडीले सर्वाधिक ७.६३ स्कोर ल्याए। एपिएफका सञ्जना घर्तिमगर र निर्मल पुनमगरले रजत पदक जिते। यो जोडीले ७.४४ स्कोर बटुले। पुरुष एकल पुम्से (१७ देखि ३० वर्ष उमेरसमूह) मा एपिएफका निर्मल पुनमगरले स्वर्ण र पुलिसका अस्मिन राउतले रजत पदक जिते।
निर्मलले ७.८५ स्कोर र अस्मिनले ७.७१ स्कोर बटुले। १३औं दक्षिण एसियाली खेलकुद (साग) को कांस्य पदक विजेता पुलिसका प्रेमबहादुर लिम्बु र पुलिसका अञ्जन चौधरी संयुक्त रूपमा तेस्रो भए। पुरुष टिम पुम्से (१७–३० वर्ष उमेरसमूह) मा पनि पुलिसले सर्वाधिक ७.६१ स्कोर ल्याउँदै सफलता पायो। यो टिममा प्रेमबहादुर लिम्बु, अस्मिन राउत र अञ्जन चौधरी थिए।
ओम भण्डारी, उपासक घिमिरे र आयुष सुयालले सीतापाइलालाई रजत दिलाए। ३० वर्ष उमेरसमूहको पुम्सेमा महिलातर्फ सीता तामाङ र पुरुषमा जितबहादुर बोटले स्वर्ण जिते। दुवै पुलिसका खेलाडी हुन्।
सीताले एपिएफकी प्रतिभा बिष्ट र जितबहादुरले एपिएफका चन्द्रबहादुर रानामगरलाई हराए। यसै उमेरसमूहको पेयर पुम्सेमा जितबहादुर र सीताको जोडीले पुलिसलाई दोस्रो स्वर्ण दिलाए। यो जोडीले एपिएफका प्रतिभा बिष्ट र चन्द्रबहादुरको जोडीलाई पछि पारे। ग्यरोगीतर्फ महिला २६ केजी तौलसमूहमुनि अस्मी धिमालले फाइनलमा हृदयानी बस्नेतलाई हराउँदै स्वर्ण जितिन्।
दक्षता रावल र दीपिका गुरुङ संयुक्त रूपमा तेस्रो भए । २९ केजीमुनि मोनालिसा धामीले फाइनलमा जमुना भण्डारीलाई हराइन्। सुप्रिया जोशी र निसानी खड्काले कांस्य जिते। चारदिने प्रतियोगितामा ग्यरोगी र पुम्से गरी कुल ७२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भैरहेको छ।
प्रकाशित: ४ कार्तिक २०८१ ०७:५१ आइतबार