हेटौंडाका सुहान गुरुङ र ललितपुरकी रुबी तामाङले कोरियन एम्बासडर ओपन तेक्वान्दो च्याम्पियनसिपमा व्यक्तिगत पुम्सेतर्फ स्वर्ण जितेका छन्।
शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा सुहानले १० वर्षमुनि बोइज पुम्सेतर्फ र रुबीले गर्ल्सतर्फ स्वर्ण जितेका हुन्। नेपाल र कोरियाबीच दौत्य सम्बन्ध भएको ५०औं वार्षिकोत्सवको अवसरमा नेपालस्थित दक्षिण कोरियाली दूतावासको आर्थिक सहयोग र नेपाल तेक्वान्दो संघको आयोजनामा यो प्रतियोगिता सुरु भएको हो।
१० वर्षमुनि बोइजमा रुजल तामाङ दोस्रो र आभास श्रेष्ठ तेस्रो भए। गर्ल्सतर्फ भने साकुरा गुरुङले दोस्रो स्थान हात पार्दा आयुष लिम्बूले तेस्रो स्थानमा चित्त बुझाइन्।
१० वर्षमुनिको पेएर पुम्सेमा रुजल र रुबीको जोडीले पहिलो स्थान हात पार्यो। यही विधामा सन्ध्या नगरकोटी र आशिक थिङको जोडी दोस्रो भयो। प्रिन्सकुमार राम र फुङ्मा तुम्बापोले तेस्रो स्थान हात पारे। १० वर्षमुनिको बोइज ग्रुप पुम्सेमा भीमेश भण्डारी, पुस्कल घिमिरे र प्रिन्सकुमार रामले पहिलो स्थान हात पार्न सफल भए।
यही विधामा मोहम्मद वासिम फारुकी, सुयोग पुन र राज भुषालको समूह दोस्रो भयो। रयान अर्याल, सुयोग शाह र रुस्तम गोलले तेस्रो स्थानमा चित्त बुझाए।
गल्र्सतर्फ युनिसा पौडेल, रुबी तामाङ र सुक्रिया पुरकुटी पहिलो भए। फुङ्मा तुम्बापो रेन्जी चौलागाईं र अस्मिता खड्का दोस्रो हुँदा सुधात्मा कैनी, साम्राज्ञी क्षेत्री र मनीषा गुरुङ तेस्रो भए। १० देखि १२ वर्षको व्यक्तिगत पुम्सेको बोइजतर्फ आरभ चन्द ठकुरी पहिलो भए।
यही विधामा साजन लामा दोस्रो, बिलोभराज क्षेत्री र सुजल मोक्तान तेस्रो भए। गर्ल्सतर्फ युनिसा रानमगर पहिलो, सुहाना थापा दोस्रो र सृष्टि स्याङ्बो तेस्रो भए। यही उमेरको पेयर पुम्सेमा सृष्टि स्याङ्बो र आरभ चन्द ठकुरी पहिलो भए।
युनिसा रानामगर र सुमन तामाङ दोस्रो हुँदा सुहाना थापा, अग्रिम गुरुङ, सुजन लामा र सन्ध्या प्रधानले तेस्रो स्थान हात पारे। चार दिन चल्ने प्रतियोगितामा ग्यरोगी र पुम्से गरी कुल ७२ स्वर्ण पदकका लागि करिब १२ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
उक्त प्रतियोगिताको नेपाली कांग्रेसका महामन्त्री गगन थापा र कोरियाली राजदूत पार्क ताइ योङले संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गरेका हुन्।
सो अवसरमा महामन्त्री थापाले नेपाल र कोरियाबीचको सम्बन्ध दशकौंसम्म जारी रहने आशा व्यक्त गरे। उनले नेपालका विभिन्न क्षेत्रमा कोरियाको लगानी आवश्यकता रहेको र कोरियासँग विभिन्न क्षेत्रमा सहकार्य गर्न चाहेको बताए।
प्रकाशित: ३ कार्तिक २०८१ ०८:२२ शनिबार