२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

साफ महिला च्याम्पियनसिप: खराब डिफेन्सले पाकिस्तान पराजित

सुधारिएको प्रदर्शन गरे पनि पाकिस्तानले कट्टर प्रतिद्वन्द्वी भारतसँग बिहीबार खराब नतिजा सुम्पिँदै साफ महिला च्याम्पियनसिपको सुरुआत गरेको छ।

राजनीति र खेलमैदानको कट्टर प्रतिद्वन्द्वी भारतविरुद्ध पाकिस्तानले कडा चुनौती दिने आशा गरिएको थियो। यद्यपि, पाँचपल्टको च्याम्पियन भारतले दशरथ रंगशालामा भएको उद्घाटन खेलमा पाकिस्तानमाथि ५–२ को फराकिलो जित रच्दै च्याम्पियनसिपको सुरुआत गर्‍यो। पाकिस्तानको खराब डिफेन्स नै भारतको जितको महत्त्वपूर्ण आधार रह्यो। साथै पाकिस्तानकी गोलकिपर निशा असरफले लगातार गल्ती गरेपछि भारतले फाइदा लियो। खराब नतिजाका बावजुद पाकिस्तानले पछिल्लो संस्करणको तुलनामा सुधारिएको प्रदर्शन गर्‍यो। तयारीबारे बुधबार भएको पत्रकार सम्मेलनमा पाकिस्तानका प्रशिक्षक अदिल रिज्कीले यसपल्ट आफ्नो टोलीले सुधारिएको प्रदर्शन गर्ने अपेक्षा गरेका थिए।

तर, उनले भनेजस्तो पाकिस्तानको सुरुआत राम्रो हुन सकेन। ४३औं मिनेटमै भारतले चार गोल गर्दै कट्टर प्रतिद्वन्द्वीमाथि गोलवर्षा गर्ने संकेत गर्‍यो। यद्यपि, पाकिस्तानले यसपछि सुधारिएको प्रदर्शन देखायो। अदिलले सुरुआतमा गोलकिपर निशालाई केही समस्या भएपछि गोल बेहोर्नुपरेको उल्लेख गरे। ‘सुरुमा गोलकिपरलाई समस्या भएको थियो। पछि फिजियो पठायौं र उनलाई सहज भयो। उनले प्रदर्शनमा सुधार गरिन्,’ आदिलले भने। तर, पहिलो हाफको थप समयपछि पाकिस्तान लयमा फर्कियो र भारतलाई पनि चुनौती दियो। त्यसपछि लगातार दुई गोल फर्काउँदै पाकिस्तानले छिमेकी राष्ट्रविरुद्ध चुनौती प्रस्तुत गर्‍यो। तर, फेरि अन्तिम समयमा खराब डिफेन्स गरेपछि भारतले पाँचौं गोल गर्‍यो।

यससँगै पाकिस्तानको खेलमा फर्कने अवसर लगभग समाप्त पार्‍यो। पाकिस्तानले केही सुन्दर अवसर खेर फाल्दा भारतलाई सहज पनि भयो। भारतको जितमा ग्रेस डेङ्मेईको प्रदर्शन तारिफयोग्य रह्यो। उनले दुई गोलसँगै गोल अवसर पनि सिर्जना गरिन्। उनी प्लेयर अफ द म्याच पनि भइन्। मनीषा र बालादेवीले समान एक गोल थपे। पाकिस्तानकी सुहा हिरानी र डिफेन्डर कायला मारी सिद्दिकीले गोल गरे पनि आफ्नो टोलीको हार टार्न सकिनन्। पाकिस्तानका प्रशिक्षक अदिल आफ्नो टोलीको प्रदर्शनमा सन्तुष्ट देखिए। तर, उनले खेलकी रेफ्री अन्जना राईको गलत निर्णयले नतिजामा असर परेको बताए।

‘हाम्र्रो सुरुआत राम्रो हुन सकेन। तर, पहिलो हाफको अन्त्यपछि खेलाडी लयमा फर्किए। उनीहरूले राम्रो खेले। तर, खेलमा रेफ्रीले गलत निर्णय दिइन्, त्यसले नतिजामा फरक पर्‍यो,’ उनले भने। यो खेलमा नेपाल, भारत र बाङ्लादेश का निर्णायक हुनुमा नै उनी असन्तुष्ट देखिए। ३५औं मिनेटमा भारतलाई दिएको इनडाइरेक्ट फ्रिकिकप्रति उनको आपत्ति थियो। उनले नेपालकी रेफ्रीले एकपछि अर्को गलत निर्णय गरेको आरोप लगाए। भारतका प्रशिक्षक सन्तोष कश्यपले पाकिस्तानले राम्रो खेलेको भन्दै रेफ्रीको निर्णय गलत नभएको प्रतिक्रिया दिए।

खेलको पाँचौं मिनेटमै ग्रेसले भारतलाई अग्रता दिलाइन्। उनले पेनाल्टी बक्सबाहिरबाट गरेको फितलो प्रहार पनि पाकिस्तानकी गोलकिपर निशाले जोगाउन सकिनन्। खेलको पहिलो आक्रमणमै गोल सम्भव बन्यो। १७औं मिनेटमा भारतले काउन्टर अट्याकमा दोस्रो गोल गर्‍यो। मध्यभागबाट भारतले गरेको काउन्टर प्रयासमा मनीषाले गोल गरेकी हुन्। २७औं मिनेटमा पनि भारतले अर्को उत्कृष्ट आक्रमण बुन्यो। तर, पाकिस्तानकी गोलकिपर निशाले त्यो प्रयास असफल बनाइन्।

उनले ग्रेसको हेडरलाई बचाएकी हुन्। एकपछि अर्को आक्रमण बुनेको भारतले ३४औं मिनेटमा तेस्रो गोल गर्‍यो। पाकिस्तानकी गोलकिपर निशाले धेरै समय बल नियन्त्रणमा राखेपछि भारतले इनडाइरेक्ट फ्रिकिक पायो। जहाँ अनुभवी बालादेवीले करिब १२ यार्डबाट उत्कृष्ट गोल गरिन्। सुरुमा मनीषाले दिएको फ्रिकिक पासलाई बालादेवी नाङ्गोमले गोल गर्दै भारतलाई ३–० ले अगाडि बढाइन्। ४१औं मिनेटमा पाकिस्तानकी केयाला सिद्दिकी नजिक दूरीबाट सुन्दर हेडर गोल गर्न असफल भइन्। तर, एक मिनेटमा नै भारतले चौथो गर्दै पाकिस्तानलाई पूर्ण दबाब राख्यो।

भारतकी ग्रेसले पाकिस्तानी गोलकिपर निशाले नियन्त्रणमा लिन नसकेको बललाई जाली चुमाएकी हुन्। ग्रेसको प्रहार पाकिस्तानकी कप्तान मारिया खानले रोक्ने प्रयास गरे पनि सफल भइनन्। यससँगै पाकिस्तान ४–० ले पछाडि रह्यो र पूर्ण दबाबमा पर्‍यो। तर, पाकिस्तानले यसपछि सुधारिएको प्रदर्शन गर्दै भारतलाई सहजै नतिजा सुम्पिएन। पहिलो हाफको थप समयमा पाकिस्तानले पेनाल्टीमार्फत् गोल गर्‍यो। स्ट्राइकर नादिया खानलाई भारतकी कप्तान असलता देवीले लडाएपछि पाकिस्तानले पेनाल्टी पाएको हो।

उक्त अवसरमा सुवा हिरानीले सुन्दर गोल गरिन्। यससँगै पहिलो हाफमा भारतले ४–१ को अग्रता लियो। तर, दोस्रो हाफको सुरुमै पाकिस्तानले गोल गर्दै खेलमा फर्कने संकेत देखायो। ४७औं मिनेटमै पाकिस्तानले दोस्रो गोल गर्दै ४–२ को स्थितिमा ल्यायो। पेनाल्टी बक्समा अनमार्क सिद्दिकीले सहज गोल गरेकी हुन्। कर्नर प्रहारमा पेनाल्टी बक्सबाहिर रहेकी रमिन फरिदले नियन्त्रणमा लिँदै पेनाल्टी बक्समा पास दिइन् र त्यहाँ अनमार्क रहेकी सिद्दिकीले गोल गरिन्। पाकिस्तानले ६०औं मिनेटमा अग्रता छोट्याउने अवसर गुमायो। जमिना मलिक भारतकी गोलकिपर पन्थोई चनुसँग वान भर्सेस वानमा गोल गर्न चुकिन्। दुई मिनेटमै भारतको उत्कृष्ट आक्रमण पाकिस्तानकी गोलकिपर निशाले बिफल पारिन्।

पाकिस्तानले फेरि ६३औं मिनेटमा गोल गर्न सकेन। अमिना हानिफले गोल गर्ने सहज अवसर खेर फालेपछि पाकिस्तान अवसर गुमाउन पुग्यो। तर, ७८औं मिनेटमा पाकिस्तानको खराब डिफेन्सको फाइदा लिँदै भारतले पाँचौं गोल गर्‍यो। डालिमा छिब्बरको कर्नर प्रहारमा भारतकी ज्योति चौहानले फ्रिहेडबाट गोल गरेकी हुन्। यससँगै भारतले पाकिस्तानको दबाबलाई नियन्त्रण राख्दै ५–२ को अग्रता लियो। यसपछि बाँकी समयमा थप गोल हुन सकेन र भारतले जित निकाल्दै तीन अंक बटुल्यो। तीन राष्ट्र रहेको ‘ए’ समूहमा पहिलो हारसँगै पाकिस्तानको दोस्रो चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ। अब पाकिस्तानले दोस्रो खेल डिफेन्डिङ च्याम्पियन बाङ्लादेश बाङ्लादेश सँग खेल्नेछ।

प्रकाशित: २ कार्तिक २०८१ ०८:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App