२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

एसिया रग्बीको दुवैतर्फको उपाधि फिलिपिन्सलाई

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ को पुरुष र महिला दुवैतर्फको उपाधि फिलिपिन्सले हात पारेको छ।

एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको प्रतियोगिताको फाइनलमा पुरुषतर्फ फिलिपिन्सले चाइनिज ताइपेई र महिलातर्फ भारतलाई हराउँदै उपाधि जितेको हो।

जितसँगै दुवैतर्फ फिलिपिन्सले सन् २०२५ मा हुने एसिया रग्बीको ट्रफीमा स्थान सुरक्षित गरेको छ। दोस्रो हुने चाइनिज ताइपेई र भारतले रजतमा चित्त बुझाएको छ। पुरुषतर्फ सेमिफाइनलमा श्रीलंकालाई १९–१२ ले पराजित गर्दै फिलिपिन्सले फाइनलमा स्थान बनाएको थियो।

चाइनिज ताइपेईले भने उज्बेकिस्तानलाई २४–० ले पाखा लगाउँदै फिलिपिन्ससँगको भेट पक्का गरेको हो। सेमिफाइनलमा एकपक्षीय जित निकाले पनि चाइनिज ताइपेईले फाइनलमा सोही लयलाई कायम राख्न सकेन। सुरुआतदेखि नै दबाब झेलेको चाइनिज ताइपेईले फिलिपिन्सलाई २७–१४ को सहज स्कोर सुम्पियो। पुरुषतर्फ श्रीलंका तेस्रो भयो। उसले उज्बेकिस्तानविरुद्ध ३२–० को सहज जित हासिल गर्‍यो।

पुरुषको तुलनामा महिलातर्फ उपाधिका लागि रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। यद्यपि, बाजी भने फिलिपिन्सले ७–५ को स्कोरले मार्‍यो। फिलिपिन्सले एक कन्भर्जन किकसहित सुरुमै सात अंक बटुलेको थियो। तर, भारतले पनि पुनरागमन गर्ने मौका प्राप्त गर्‍यो। ट्राई गरेर ५ स्कोर हात पारेपछि भारतले दोस्रो हाफमा कन्भर्जन किक प्राप्त गरेको थियो। तर, कन्भर्ट भने गर्न सकेन। त्यसैले भारत उपविजेतामा सीमित बन्न पुग्यो।

फिलिपिन्सले सेमिफाइनलमा इन्डोनेसियालाई १९–१० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। भारतले भने गुवाममाथि २४–७ को एकपक्षीय जित हासिल गर्दै फिलिपिन्ससँगको उपाधि भिडन्त पक्का गरेको थियो।

महिलातर्फ नै तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा भने गुवाम बलियो साबित भयो। एक समय १७–१९ ले अघि रहेको स्थितिमा गुमामले ट्राईमार्फत ५ स्कोर हात पार्‍यो। त्यही ट्राईमार्फत हात लागेको स्कोरसँगै गुवामले २२–१९ ले खेल आफ्नो पक्ष्यमा पार्‍यो। 

नेपालको फितलो प्रदर्शन 

उपाधि घरमै राख्ने लक्ष्य बुनेको नेपालको प्रदर्शन भने सन्तोषजनक हुन सकेन। समूहचरणमा नेपालले एकमात्रै जित हासिल गरेको थियो, त्यो थियो महिलातर्फ समूह ‘ई’ मा रहेको नेपाली महिला टोलीले उज्बेकिस्तानमाथि १२–७ को स्कोरमा जित हासिल गर्दै बाउल सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो। तर, श्रीलंकासँग आफ्नै गल्तीका कारण जितिसकेको खेल गुमाउन पुग्यो।

नेपालले बाउलमा श्रीलंकासँग १७–१५ को हार बेहोर्‍यो। इरानको महिला टोलीले अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएको कारण नेपालले र्‍याङ्किङको लागि प्रतिस्पर्धा गर्नै परेन। त्यसैले सात टोलीसम्मिलित प्रतियोगितामा नेपाली महिला टोली सातौं स्थानमा रह्यो। पुरुषतर्फ भने नेपाल ‘च्यालेन्ज थर्ड’ बन्न सफल भयो। समूहचरणमा कुनै पनि खेल जित्न नसकेको नेपालले सेमिफाइनलमा कतार प्रतिद्वन्दी पाएको थियो।

तर, कतारले नेपालमाथि ३३–० को स्कोरको एकपक्षीय जित हात पार्‍यो। कतार अगाडि बढ्दा नेपाल भने ‘च्यालेन्ज थर्ड’ फाइनलतर्फ धकेलिएको थियो। उक्त प्रतिस्पर्धा पनि नेपाली खेलाडीले प्रतिस्पर्धात्मक खेल पस्किन सकेनन्। सुरुआती समयदेखि नै अफगानिस्तान हाबी हुँदै नेपाललाई २२–५ को स्कोरमा पाखा लगायो। विजेता टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङ र नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले मेडल प्रदान गरेका थिए।

प्रकाशित: १९ आश्विन २०८१ १९:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App