१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

एएफसी यु-२० एसियन कप छनोट: नेपालले हारबाटै यात्रा टुंग्यायो

बहराइनविरुद्ध बल बढाउँदै नेपालका समीर तामाङ। तस्बिर सौजन्य : एन्फा

साफ यु– २० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीका लागि एएफसी यु– २० एसियन कप छनोट सम्झनलायक रहेन। कम्तीमा शीर्ष दुईमा रहँदै चीनमा अर्को वर्ष हुने एसिया कपमा छनोट हुने लक्ष्यसहित यो टोली चाइनिज ताइपेइ पुगेको थियो।

तर, जति बलियो लक्ष्य बुनेको थियो, त्यसअनुरूप प्रदर्शन गर्न भने सकेन। कम्बोडियासँगको हारबाट सुरुआत गरेको नेपालले शुक्रबार पनि बहराइनसँग ४–० को हार बेहोर्दै छनोटको अन्त्य गरेको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले उज्बेकिस्तानबाहेक अन्य टोलीसँग नतिजा निकाल्न खासै चुनौतीपूर्ण नहुने उल्लेख गरेका थिए। तर, उनले भनेजस्तो भएन र नेपाली टोलीले फराकिलो हार बेहो¥यो। नेपाल तीन अंकसहित छनोट यात्रा टुंग्याउन बाध्य भयो।

कम्बोडियासँग ४–१ को हार बेहोर्दै नेपालले छनोटको सुरुआत गरेको थियो। प्रशिक्षक श्रेष्ठले यो खेलमा जित्ने लक्ष्यसहित मैदान उत्रिए पनि चिप्लो हुँदा आफ्नो खेलाडीले खेल्न नसकेको दुखेको पोखेका थिए। त्यही मैदानमै नेपालले कमजोर टोली चाइनिज ताइपेइबाहेक अन्यसँग सुखद नतिजा निकाल्न नै सकेन।

घरेलु टोली चाइनिज ताइपेइविरुद्ध ३–१ को जित हासिल गरेको नेपालले त्यसपछि उज्बेकिस्तानसँग ६–० र बहराइनसँग ४–० को फराकिलो हार बेहोर्‍यो। दोस्रो खेलमा कम्बोडियासँग १–० ले पराजित भएपछि बहराइनलाई शुक्रबार जित्नैपर्ने दबाब थियो।

तर, खेलाडीमा भने दबाब देखिएन। बहराइनलाई खेलको दोस्रो मिनेटमै झड्का लागेको थियो। फरवार्ड अब्दुल्ला जमाल चिप्लिएर लडेपछि खेल्नै सकेनन्। उनको स्थानमा अब्दुल्लाह हेशामलाई मैदान पठाइएको थियो। तर, बहराइनलाई त्यसले कुनै असर गरेन।

२८औं मिनेटमै बहराइनले सामी बासमको फ्रिकिक गोलमार्फत सुरुआती अग्रता लियो। बहराइनका मोहम्मद अहमदलाई प्रशान्त लक्ष्यमले तानेर लडाएपछि बहराइनले फ्रिकिक पाएको हो। सामीले प्रहार गरेको बल नेपाली गोलकिपर जियारथ शेखले दिशा पत्ता लगाए पनि रोक्नै सकेनन्। नेपालले दोस्रो गोल पनि फ्रिकिकमार्फत नै बेहोर्न पुग्यो।

राम थापाले पेनाल्टी बक्सनजिक हामद इस्सामाथि ट्याकल गरेपछि बहराइनलाई अग्रता दोब्बर बनाउने मौका जुरेको हो। पहिलो हाफको इन्जुरी समयमा खालिद अलखलाफको शक्तिशाली प्रहार शेखले रोक्न सकेनन्।

७३औं मिनेटमा बासमले गरेको लामो प्रहार सीधै जाली चुम्यो र नेपाल ३–० ले पछाडि पुग्यो। त्यसको ११ मिनेटपछि अली अहमदले कर्नरबाट आएको बललाई फ्री हेडरमा जाली चुमाउँदै छनोट हुने सम्भावना उच्च बनायो। समूह ‘बी’ बाट बाहिरिने नेपाल पहिलो टोली बनेको छ।

६ अंक जोड्दै शीर्ष स्थानमा रहेको उज्बेकिस्तानले घरेलु टोली चाइनिज ताइपेइ र बहराइनसँग खेल्न बाँकी छ। समान अंक जोड्दै तेस्रो स्थानमा रहेको कम्बोडियाले समूहचरणको अन्तिम खेल चाइनिज ताइपेइसँग खेल्दै छनोट पूरा गर्नेछ।

दुई खेल खेल्न बाँकी रहेको चाइनिज ताइपेइ अंकविहीन छ। यो समूहमा शीर्ष स्थानमा रहने टोली चीनमा अर्को वर्ष हुने एएफसी एसिया कपमा सीधै छनोट हुनेछ। शीर्ष दुईमा रहने टोलीको पनि सम्भावना जीवितै रहने छ।  

प्रकाशित: १२ आश्विन २०८१ १०:३० शनिबार

#AFC U20 Asian Cup Qualifiers