२३ पुस २०८२ बुधबार
image/svg+xml
खेल

सुपर लिगमा पुग्ने टोली टुङ्गो

एक साता भइसकेको थियो, वालिङ नगरपालिकाले एन्फा महिला फुटबल लिगमा जित हासिल गर्न नसकेको। वालिङको पछिल्लो जित नै असोज ३ गते बागमती युथ क्लबविरुद्ध ४–० को थियो।

त्यसैले प्रशिक्षक दिलीप थापामाथि प्रश्न उठिरहन्थ्यो, ‘वालिङले तय गरेको शीर्ष पाँचको लक्ष्य पूरा होला त ?’ सधैं दोहोरिने प्रश्नले कहिलेकाहिँ उनी आफैँ पनि आगामी नतिजामा शंका गर्थे। अनि जबाफ दिन्थे, ‘लिगमा आफूले आत्मविश्वास देखाएर मात्रै हुँदैन, अरूको नतिजा पनि हेर्नुपर्छ। तर, हामी छनोट हुन्छौं र मेरो टोलीमा विश्वास छ।’ दिलीपको त्यो विश्वास एक सातापछि यथार्थमा परिणत भएको छ। तथापि, यसबीच वालिङले नेपाल पुलिससँग २–० र त्रिभुवन आर्मी क्लबसँग ८–० को फराकिलो हार पनि बेहोर्नु पर्‍यो। यहाँबाट पुनरागमन गर्दै वालिङले अन्ततः अन्तिम खेलमा जित निकाल्दै सुपर लिगमा स्थान बनाएको छ।

पहिलोचरणको आफ्नो अन्तिम तथा नवौं खेलमा वालिङले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा चन्द्रपुर नगरपालिकामाथि २–१ को संघर्षपूर्ण नतिजा निकालेको हो। यससँगै ९ खेलबाट १५ अंक जोड्दै वालिङले चौथो स्थानमा रहेर पहिलोचरण पूरा गर्‍यो। यस चरणबाट शीर्ष स्थानमा रहेको एपिएफसँगै पुलिस र आर्मीले यसअघि नै सुपर लिगमा स्थान बनाइसकेका थिए। कोसी पनि बिहीबार नै एन्फा कम्प्लेक्स मैदानमा कमजोर टोली सुदूरपश्चिम प्रदेशमाथि ४–० को जित निकाल्दै सुपर लिग पुग्ने पाँचौं टोली बन्यो। समान ९ खेल नै खेलेको कोसीले १४ अंक बटुल्यो।

अंकविहीन रहँदै बाहिरिएको सुदूरपश्चिमले लिगमा ६९ गोल बेहोर्‍यो। दिलीप आफ्नो लक्ष्य पूरा भएकोमा खुसी देखिन्छन्। उनी भन्छन्, ‘बेन्चका खेलाडीहरू अनुभवी थिएनन्। अन्तिम खेलमा प्लेइङका मिडफिल्डर (अञ्जली मचामसी) र कप्तान माया मास्के निस्किने बित्तिकै दबाब पर्‍यो। तर, जित निस्कियो। यही जितले लक्ष्य पूरा हुँदा खुसी छु।’ करिब साढे चार वर्षअघि वालिङले एन्फा कम्प्लेक्स मैदानबाट महिला लिग खेल्न सुरु गरेको हो। पहिलो सहभागितामै सात टोली सम्मिलित लिगमा चौथो भएको वालिङ गत संस्करण भने एक अंक मात्रै बटुल्दै स्याङ्जा फर्कियो।

यसपल्ट शीर्ष पाँचमा अटाउने लक्ष्यसहित काठमाडौं आएको वालिङ कागजमा पनि उत्तिकै बलियो थियो। हेर्दा लाग्थ्यो, यो टोली विभागीयभन्दा कम छैन। सिनियर टोलीमा खेलेका खेलाडी भने थिएनन्। तर, नेपालका विभिन्न उमेरसमूहबाट खेलेका खेलाडीको बाहुल्यता वालिङमा राम्रै थियो। गोलकिपर राधिका ओली, कप्तान माया मास्के, सुक्रिया मियाँ, अञ्जली मचामसी र सहारा बज्राचार्यले विभिन्न उमेरसमूहका प्रतियोगिता खेलिसकेका थिए। त्यसबाहेक युगान्डाका चार विदेश खेलाडी थपिँदा वालिङ बलियो देखिन्थ्यो। दिलीप यो कुरालाई नकार्न सक्दैनन्।

‘हामीसँग राम्रै खेलाडी छन्। तर, फिनिसिङमा चिन्ता थियो, त्यसमा विदेशी खेलाडीले राम्रै भूमिका निर्वाह गरे। त्यसैले शीर्ष पाँचमा अटाउन सफल भयौं,’ उनले भने। बिहीबार खेलको पाँचौं मिनेटमै सुक्रियाले गोल गर्दै सुरुआती अग्रता दिलाइन्। सिसी एनटोङ्गोले प्रहार गरेको कर्नर बललाई चन्द्रपुरकी गोलकिपर उषा थापाले रोक्ने प्रयास गरेकी थिइन्। तर, उनले बल फुत्काउँदा सुक्रियाले बललाई जाली चुमाइन्। सुस्मा तामाङले दिएको क्रसमा अनमार्क ज्याकलिन नसालीले गोल गरिन्। यो गोल नै निर्णायक भएपछि वालिङले शीर्ष पाँचमा स्थान पक्का गरेको हो। ज्याकलिनको यो आठौं गोल हो।

प्रशिक्षक दिलीपका अनुसार वालिङका सिसी एनटोङ्गो, ज्याकलिन नासाली, भायोला नमुद्दु र फतुमा नाकसुम्बा युगान्डा फर्किने छैनन्। उनीहरू सुपर लिगको तयारी गर्नेछन्। यद्यपि, दिलीपलाई यी खेलाडीबाट अझैँ चित्त बुझेको छैन। सुपर लिगमा कोसीबाहेक अन्य तीन टोली विभागीय नै हुने भएकाले कडा प्रतिस्पर्धा गर्न अन्य क्लबका खेलाडी अनुबन्ध गर्न दिनुपर्ने उनको तर्क छ। ‘नियमले के भन्छ भन्ने हो। फेरबदल भएर अर्को टोलीको राख्न पाउने भए थप्छौं। ४० जना दर्ता गर्न पाउने नियम छ र अहिले २७ खेलाडी मात्रै दर्ता गरेका छौं। सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य छ,’ उनले भने।

जित्नैपर्ने अर्को खेलमा भने कोसीले सुदूरपश्चिमलाई ४–० ले सहजै हरायो। कोसीको जितसँगै बागमती र संकटाको शीर्ष पाँचमा पुग्ने सम्भावना सकियो। बागमतीले लिगको अन्तिम खेल शुक्रबार एपिएफसँग खेल्नेछ। १० अंक रहेको बागमतीले अन्तिम खेलमा जित हासिल गरे पनि शीर्ष ६ मै रहेर लिगको यात्रा टुङ्गाउनेछ। अब लिगमा पहिलो चरणका तीन खेल बाँकी छ।

प्रकाशित: ११ आश्विन २०८१ ११:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App