न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा श्रीलंका विजयी भएको छ।
गालेमा २७५ रनको लक्ष्य पछ्याएको भ्रमणकारी टोली न्युजिल्यान्डलाई २११ रनमा अलआउट गर्दै घरेलु टोलीले २ म्याचको सिरिजमा अग्रता बनाएको हो।
८ विकेटको क्षतिमा २०७ रनबाट सोमबार पाँचौ दिनको खेल थालेको किबिज टोली थप ३ ओभर ४ बलमात्र क्रिजमा टिक्न सक्यो। रचिन रभिन्द्रले ९२ तथा केन विलिएम्सन र टोम ब्लुन्डेलले समान ३० रनब बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झन लायक रहेन।
भ्रमणकारी टोलीलाई सस्तैमा समेट्न प्रभाव जयसुर्याले ५ तथा रामेश मेन्डिसले ३ विकेट लिए।
पहिलो इनिङ्समा न्युजिल्यान्डले ३४० रन बनाएको थियो। श्रीलंकाले भने पहिलो इनिङ्समा ३०५ र दोस्रोमा ३०९ रनको योगफल तयार पारेको थियो।
दोस्रो तथा अन्तिम टेस्ट बिहीबार गालेमा सुरु हुनेछ।
प्रकाशित: ७ आश्विन २०८१ १२:२६ सोमबार