३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

पलेशा र प्रशिक्षक लामालाई चार संस्थाको सम्मान

ऐतिहासिक पदक विजेता पारा तेक्वान्दोकी पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामा बुधबार छुट्टाछुट्टै चार संस्थाबाट सम्मानित भएका छन्।

पारा तेक्वान्दोकी पलेशाले गत पेरिस पारालिम्पिकमा के–४४ को विधाअन्तर्गत महिला ५६ केजीमुनि तौलसमूहमा कांस्य पदक जितेकी थिइन्। त्यो नै नेपाली खेलकुदका लागि अहिलेसम्मकै ठूलो सफलता हो। पछिल्ला समय एकपछि अर्को संस्थाहरूबाट सम्मानित हुँदै आएकी पलेशासँगै प्रशिक्षक लामालाई बुधबार चार संस्थाले फरकफरक कार्यक्रमबाट सम्मान गरेको हो। बुधबार काठमाडौं जिल्ला तेक्वान्दो संघ, सिद्धार्थ बनस्थली इन्टिच्युट, काठमाडौं महानगरपालिका वडा–८ र राष्ट्रिय पारालिम्पिक कमिटी नेपालले छुट्टाछुट्टै कार्यक्रममार्फत् उनीहरूलाई सम्मान गरेको थियो।

पलेशा अध्ययनका लागि बिहीबार चीन प्रस्थान गर्दैछिन्। काठमाडौं जिल्ला तेक्वान्दो संघले पलेशालाई एक लाख ३८ हजार नगदसहित प्रशंसापत्रबाट सम्मान गरिएको थियो। उनका प्रशिक्षक कविराज नेगी लामालाई ५८ हजार र पेरिस पारालिम्पिकमै सहभागी पारा तेक्वान्दो खेलाडी भरतसिंह महतालाई १० हजार नगदसहित प्रशंसापत्र प्रदान गरिएको हो। व्यवस्थापक रामचन्द्र श्रेष्ठ प्रशंसापत्रबाट सम्मानित भए। पलेशाका पिता प्रदीपलाई मायाको चिनो प्रदान गरिएको थियो। सिद्धार्थ बनस्थली इन्टिच्युटमा भएको कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्सका सदस्य एवं च्याम्बरअन्तर्गत शिक्षा तथा खेलकुद उपसमितिका अध्यक्ष रूपकराज बन्सी र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले उनीहरू सम्मान गरे।

सोही अवसरमा सिद्धार्थ बनस्थली इन्टिच्युटले पनि पलेशालाई छुट्टै नगदसहित सम्मान गरेको थियो। प्रिन्सिपल बन्सीले पलेशालाई ५० हजार नगदसहित सम्मान गरेका हुन्। बुधबारै काठमाडौं महानगरपालिका वडा–८ ले पनि पलेशा र प्रशिक्षक लामालाई नगदसहित सम्मान गर्‍यो। वडा–८ अध्यक्ष आसामान संगतले दुवैलाई जनही ५१ हजार प्रदान गरी सम्मान गरे। बुधबार नै राष्ट्रिय पारालिम्पिक कमिटी नेपालले आाफ्नो २५औं वार्षिकोत्सवको अवसरमा पलेशा, प्रशिक्षक लामा र अन्य खेलाडीलाई पनि सम्मान गरेको थियो।

यसअघि नै एनसेलले उनीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको थियो। सोही कार्यक्रममा एनसेलले पलेशालाई १० लाख, प्रशिक्षक लामालाई तीन लाख र पेरिस पारालिम्पियन तेक्वान्दोकै भरतसिंहलाई एक लाख रूपैयाँ प्रदान गर्‍यो। पौडीका पारा खेलाडी भीमबहादुर कुमाल र उनका प्रशिक्षक विजेनमान श्रेष्ठ पनि एक लाख रूपैयाँसहित सम्मानित भए। सो अवसरमा राष्ट्रिय पारालिम्पिक कमिटी नेपालले यस अघि विभिन्न समयका पारालिम्पियनलाई पनि सम्मान गर्‍यो।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राखेपका सदस्यसचिव टंकलाल घिसिङ र राष्ट्रिय पारालिम्पिक कमिटी नेपालकी अध्यक्ष राधा घलेलगायतले उनीहरूलाई सम्मान गरेका हुन्। उक्त कार्यक्रममा पलेशाले पारालिम्पिकमा पदक जितेसँगै पारा खेलाडीप्रति सबैको ध्यान गैरहेकाले यो समय नीजि क्षेत्रको पनि थप सहयोग हुँदा अन्तर्राष्ट्रिय सफलता सम्भव हुने बताइन्। साथै उनले आफूमाथि विश्वास राखे मात्र सफलता प्राप्त हुने भएकाले सोहीअनुरूप लक्ष्य राख्न अनुरोध गरिन्।

मन्त्री चौधरीले जापानमा हुने एसियन गेम्स र अमेरिकामा तय आगामी पारालिम्पिकलाई लक्षित गरेर अहिलेदेखि नै तयारी गरे ऐतिहासिक सफलता सम्भव रहेको बताए। उनले सबै खेल संघहरूलाई विद्यमान ऐनअनुरूप चल्न आग्रहसमेत गरेका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले सबै खेलकुद संघले पारा खेलकुदबारे नीति निर्माण र योजना बनाएर अगाडि बढ्नुपर्ने धारणा राखे। साथै उनले पारा खेलकुदमा रहेका दुई समानान्तर पारा खेल संघलाई मिलेर काम गर्दै एक हुन आवश्यक रहेको बताएका छन्। उनले परिषद्को आगामी ११८औं बोर्ड बैठकअगाडि नै दुई संघबीचको विवाद समाधान गर्ने विश्वास व्यक्त गरेका छन्। 

प्रकाशित: ३ आश्विन २०८१ ०८:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App