३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

एएफसी यू–२० एसियन कप छनोट: साफको पीडा भुलाउने लक्ष्यमा नेपाल

साफ यू–२० च्याम्पियनसिपको उपाधि गुमाउनु पर्दाको पीडा कति ठूलो हुँदो रहेछ बल्ल बुझ्दै छन्, नेपाली टोलीका युवा खेलाडी। अपराजित रहँदै फाइनल पुग्नुअगाडि नेपालले जुन प्रदर्शन गरेको थियो, त्यसले नै नेपाललाई विजेताको हकदार बनाइसकेको थियो। तर, फाइनलमा नेपाल पाहुना टोली बंगलादेशलाई ४–० को सहज नतिजा सुम्पिन पुग्यो। यसले उपाधि घरमै राख्ने नेपाली टोलीको सपना अधूरै मात्र रहेन खेलाडीलाई पनि पीडा दियो। उपाधिविहीन हुनुको कारण तालमेलको मात्र अभाव होइन, टोलीभित्र देखिएको खटपट पनि रहेको बताउँछन्, कप्तान कुशल देउवा।

अहिले त्यही खटपट र साफले दिएको गहिरो पीडालाई एक पाठको रूपमा लिएर अगाडि बढ्ने प्रयासमा यो टोली छ। जसको सुरुआत नेपालले शनिबारदेखि चाइनिज ताइपेइमा हुने एएफसी यू–२० एसियन कपको छनोटबाट गर्नेछ। ‘घरेलु मैदानमै साफको फाइनलमा हार्न पुग्यौं, यसले ठूलो पाठ सिकाएको छ। अब एएफसी एसियन कप छनोटमा राम्रो नतिजा ल्याउँदै एसियन कपमा पुग्ने र देशलाई गौरान्वित बनाउने प्रयासमा छौं,’ उनले भने। पहिला एएफसी युथ च्याम्पियनसिप र अहिले एसियन कपको नाममा आयोजना हुने प्रतियोगिताको छनोटमा नेपालले धेरै अघिदेखि नै सहभागिता जनाउँदै आएको हो।

तर, सफलता भने एकपल्ट मात्रै मिलेको इतिहास छ, त्यो थियो सन् २००६ मा। दशरथ रंगशालामा भएको छनोट पार गरेर नेपालले एएफसी यु–१७ युथ च्याम्पियनसिप स्थान बनाएको थियो। त्यसयता नेपालले त्यस्तो गर्विलो इतिहास दोहोर्‍याउन सकेको छैन। यसपल्ट भने नेपाली टोली त्यो इतिहास दोहोर्‍याउन लायक रहेको कुशलको भनाइ छ। ‘यो सिक्ने उमेर हो। सबैसँग जोस उस्तै छ। कसैले केही भने झट्ट रिसाउने समस्या पनि हुन्छ । तर, त्यो खराब पक्ष बन्द गरेर एकजुट भैसकेकाले इतिहास बनाउन लायक छौं,’ उनले भने। एसियाली फुटबल महासंघ (एएफसी)ले आफ्ना ४७ सदस्य राष्ट्रमध्ये ४५ राष्ट्रलाई ९ समूहमा विभाजन गरेर छनोट प्रतियोगिता सञ्चालन गर्न लागेको हो।

त्यहीअनुसार नेपालले समूह ‘बी’ मा यसपल्ट आयोजक राष्ट्र चाइनिज ताइपेइसहित उज्बेकिस्तान, बहराइन र कम्बोडिया प्रतिद्वन्दी पाएको छ। हरेक समूहको शीर्ष स्थानमा रहने ९ टोलीले चीनमा सन् २०२५ मा हुने एसियन कपमा सीधै स्थान बनाउनेछन्। दोस्रो हुने टोलीको पनि सम्भावना जीवितै रहनेछ। कुशलले यो छनोटलाई प्रतियोगिताको रूपमा मात्रै हेरेका छैनन्। एसियाली राष्ट्रका सबै टोलीको सहभागिता हुने भएकाले ‘एक्सपोजर’, ‘प्लाटफर्म’ र अनुभव मिल्ने प्रतियोगिताको रूपमा लिएका छन्। त्यसैले गर्दा साफमा देखिएको समस्यालाई ‘सटआउट’ गरेर यही छनोट प्रतियोगिताका लागि ध्यान केन्द्रीत गरिरहेको उनको भनाइ छ। 

टोलीमा ठूलो परिवर्तन

छनोट प्रतियोगितामा सहभागी जनाउने टोली हेर्दा यसपल्ट मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले ठूलो परिवर्तन गरेको स्पष्ट छ। उनले गोलकिपर विशाल केसीसहित डिफेन्डर मदन पौडेल, मिडफिल्डरद्वय जनप्रकाश बल तथा निसाङ लिम्बू र फरवार्डद्वय हरिषराज भट्ट तथा रोहन खड्गीलाई यसपल्ट टोलीमा समेटेका छैनन्।

जियारथ शेख पहिलो रोजाइमा मैदान उत्रिँदा विशालले साफको पूरै प्रतियोगिता बेन्चमा बिताए। यस्तै, मदन र निसाङले पनि विशालले झै नियति भोग्नु पर्‍यो। जनप्रकाश, हरिष र रोहनले भने बेन्चबाट खेल्ने मौका पाए। यसपल्ट विशालको स्थानमा अमित टमाटा आएका छन्। यस्तै, धनासिंह विक, दीपक थापामगर, निर्मल बल, निमा वाङ्गेल तामाङ र प्रशान्त लक्षमले बाहिरिएका खेलाडीको स्थान परिपूर्ति गर्नेछन्। उमेरसमूहमा उत्कृष्ट प्रदर्शन गरिरहेका प्रशान्तले चोटपछि टोलीमा स्थान बनाएका हुन्। ‘साफका कमिकमजोरी धेरै खेलाडीको देखियो। उनीहरू र नयाँ खेलाडी राखेर पनि हेर्‍यौं। नयाँले राम्रो प्रदर्शन गरिदिए। त्यसैले केही परिवर्तन गरेका हौं,’ उर्जन भन्छन्।

उज्बेकिस्तान र बहराइनलाई नेपालले कठिन प्रतिद्वन्द्वी ठानेका छन्। बहराइनसँग यसअघि भएको दुई भेटमा मात्रै नेपालले १० गोल खाँदा एक गोल पनि फर्काउन सकेको छैन। उज्बेकिस्तानसँग भने नेपालले पहिलोपल्ट प्रतिस्पर्धा गर्न लागेको हो। अन्य दुई टोली भने नेपालकै स्तरको भएर पनि फाइदा पुग्ने उर्जन बताउँछन्। ‘सबै टोली राम्रै हुन्छ। त्यही अनुसार हामीले पनि तयारी गरेका छौं । यही खेलाडीले जित दिलाउन सक्छन्। हाम्रो लक्ष्य समूहविजेता नभए पनि उपविजेता बन्नु हो,’ उनले भने। नेपालले आगामी शनिबार कम्बोडियासँग खेलेपछि सोमबार चाइनिज ताइपेइको सामना गर्नेछ। बुधबार उज्बेकिस्तानसँग खेले पनि शुक्रबार बहराइनसँग खेल्दै समूहचरणका खेल पूरा गर्नेछ। 

प्रकाशित: २ आश्विन २०८१ १०:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App