१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

सात महिनापछि एकदिवसीय फर्म्याटमा फर्किंदै नेपाल

जहाँबाट सूर्य उदाउँछ, त्यसको ठीक विपरीत दिशाबाट अस्ताउँछ पनि। अहिले नेपाली क्रिकेट टोलीको लक्ष्य यही भनाइसँग मिल्दोजुल्दो छ। गत वैशाखमा ओमानमा आयोजना भएको एसिसी प्रिमियर लिगमार्फत नेपालको लक्ष्य दोस्रोपल्ट एसिया कपमा पुग्नु थियो। तर, लामो समयपछि एक्कासि एकदिवसीयबाट क्रिकेटको सबैभन्दा छोटो फम्र्याट ट्वान्टी–२० सिफ्ट हुनुपर्दा टोलीको त्यो लक्ष्य पूरा हुन सकेन। त्यसैले त्यो अस्ताइसकेको लक्ष्य छाड्दै नेपाली टोली पुनः लामो फर्म्याटको क्रिकेटमा उदाउने प्रयास गर्दै छ। र, यसको पुनः सुरुआत गर्दै छ क्यानडा भ्रमणबाट।

भदौ ३१ गतेबाट सुरु हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा घरेलु टोलीसँगै नेपालले ओमानसँग पनि प्रतिस्पर्धा गर्नेछ। ‘एउटा सिरिज मात्रै भएको हो। अब क्यानडा र अमेरिकामा दुई सिरिज छन्। गत वर्ष लामो फम्र्याटको ११ मा राम्रो नतिजा आएको थियो। लामो समय यही फम्र्याटमा फर्किन पाउँदा एकदमै उत्सुक छु,’ तीव्र गतिका बलर सोमपाल कामी भन्छन्। 

गत वर्ष नेपालले लिग–२ मा लगभग एकदिवसीय मान्यता घुमाइसकेको थियो। तर, भारतीय प्रशिक्षक मोन्टी देसाईंको आगमनसँगै टोलीमा थपिएको उत्साहले लगातार खेल मात्रै जितेन, एकदिवसीय मान्यता जोगाउँदै विश्वकप छनोटमा स्थान पनि बनाउन सफल भयो। यी १२ मध्ये आठ खेल त नेपालले घरेलु मैदानमै खेलेको थियो। यी खेलमा शतप्रतिशत जित निकाल्न नेपाल सफल भयो। तर, प्रतियोगिता जहाँबाट अन्त्य गरेको थियो, अर्को संस्करण त्यहीबाट सुरु गर्दा भने नेपालले सोही लय समात्न सकेन र पाहुना टोली नामिबियालाई चार अनि नेदरल्यान्ड्सलाई दुई अंक सुम्पियो।

त्यसयता नेपालले यो फम्र्याटमा नखेलेको सात महिना भइसक्यो। त्यो बीचमा टोली खाली भने बस्न परेको छैन। यो टोलीले दुई त्रिकोणात्मक ट्वान्टी–२० सिरिज, एसिसी प्रिमियर लिग र विश्वकप खेलेको छ। यी प्रतियोगितामा दुई अभ्यास खेलसहित २१ खेल खेल्दा नेपालले सात जित, ११ हार र तीन बराबरी नतिजा आत्मसात् गरेको छ। जुन नतिजा चित्तबुझ्दो नरहेको स्वयं सोमपाल स्विकार्छन्।

‘ट्वान्टी–२० र एकदिवसीयमा हेर्ने हो भने धेरै फरक छैन। दुवै ब्याट बलको खेल हो। हामी कतिको बलियो छौं र जग कतिको राम्रो छ भन्नेमा भर पर्छ। हाम्रो नतिजाहरू बाहिर त्यति राम्रो आएको छैन। तर, यसपल्ट अंक लिएर आउँछौं भन्नेमा ढुक्क छु,’ उनले भने।

क्यानले क्यानडा भ्रमणका लागि सोमबार घोषणा गरेको टोलीमा सन्दीप लामिछानेले एक वर्षपछि पुनरागमन गरेका छन्। उनले एकदिवसीय फम्र्याटको अन्तिम खेल एसिया कपमा भारतविरुद्ध खेलेका थिए। त्यसयता नाबालिक बलात्कारको मुद्दामा उल्झिएका उनले खेल्न पाएका छैनन्। लिग–२ को पछिल्लो संस्करणका ११ खेल खेल्दा उनी म्याच विनिङको रोलमा देखिए। उनै सन्दीप लामो समयपछि फर्किँदा टोलीमा सकारात्मक ऊर्जा अवस्य थपिएको छ। सन्दीप स्वयं पनि टोलीमा पुनरागमन गर्न पाउँदा निकै उत्साहित देखिन्छन्।

‘नेपाली क्रिकेटको सुखद भविष्यका लागि पनि यो सिरिज महत्त्वपूर्ण छ। एकदिवसीय मान्यतासँग पनि जोडिएकाले उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प छैन। एक वर्षपछि एकदिवसीय प्रतियोगितामा फर्किएको छु। त्यसैले उत्साहित पनि छु,’ उनले भने। सन्दीपबाहेक विकेटकिपर अर्जुन साउद पनि टोलीमा फर्किएका छन्। उनले अघिल्लो वर्ष दक्षिण अफ्रिकाको हरारेमा एकदिवसीय विश्वकप छनोटअन्तर्गत आयरल्यान्डविरुद्ध खेलेका थिए। तीव्र गतिका बलर रिजन ढकालले पहिलोपल्ट टोलीमा स्थान बनाउँदा मध्यक्रमका ब्याटर देव खनाल भने ट्राभलिङ रिजर्भमा अटाउन सफल भएका छन्। अन्य खेलाडीले भने निरन्तरता पाएका छन्।

लिग–२ मा नेपालले भदौ ३१ गते क्यानडासँग खेल्नुपूर्व क्यानडा–११ सँग अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपालले घरेलु टोलीसँग दोस्रो खेल असोज ६ गते खेल्नेछ। ओमानसँग भने नेपालले असोज २ र ८ गते खेल्नेछ। नेपाली टोलीमा रहेका कप्तान रोहितकुमार पौडेलसँगै दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने यो पिचमा अभ्यस्त छन्। उनीहरूले क्यानडाको घरेलु प्रतियोगिता पनि खेलिसकेका छन्। नेपालको भन्दा क्यानडाको परिस्थिति केही फरक रहेको सन्दीपको अनुभव छ।

‘त्यहाँको परिस्थिति र विकेट फरक छ। तर, विश्वस्तरमा प्रतिस्पर्धा गर्ने खेलाडी हरेक परस्थिति र फम्र्याटका लागि तयार हुनुपर्छ। त्यसैले सबै खेलाडी उत्कृष्ट प्रदर्शन गर्न मानसिक रूपमा तयार छौं,’ उनले भने। नेपालले यही सिरिजका लागि भारत र श्रीलंकामा गएर प्रशिक्षण गरेको थियो। श्रीलंकामा वर्षाका कारण तय भएको तीनमध्ये दुई खेल रद्द भए। अन्तिम खेलमा भने श्रीलंका डेभलपमेन्टसँग पाँच विकेटले पराजित हुँदै टोली नेपाल फर्किएको थियो।

प्रकाशित: २६ भाद्र २०८१ ०७:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App