आयुशा महर्जनको प्रदर्शनमा गोल्डेनगेट इन्टरनेसनल कलेजले प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगितामा मंगलबार लगातार दोस्रो जित निकालेको छ।
प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पिइसी) द्वारा आयोजित प्रतियोगितामा गोल्डेनगेटले ट्रिटन इन्टरनेसनल कलेजलाई ४६–१८ ले सहजै हराउँदा आयुशा महर्जनले १३ अंक जोडिन्। सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा भएको खेलमा पहिलो तीन क्वार्टरमा गोल्डेनगेटले ११–०, १४–० र १०–४ को अग्रता लियो। चौथो तथा अन्तिम क्वार्टरमा गोल्डेनगेट ११–१४ ले पछि पर्यो। तर, यो नतिजा ट्रिटनको हार टार्न पर्याप्त भएन। प्रतियोगितामा रातो बंगला र ल्यान्डमार्क एकेडेमीले सफलता पाए। रातो बंगलाले ब्लु बर्डलाई २३–७ ले हरायो। रातो बंगलाकी समृद्धि शाहले १० स्कोर गरिन्।
चारै क्वार्टरमा अग्रता लिएको रातो बंगलाले क्रमशः ४–१, ९–४, ६–० र ४–२ को प्रदर्शन गर्दै सफलता पायो। ल्यान्डमार्कले कान्जिरोवामाथि २८–२५ को कठिन जित निकाल्यो। ल्यान्डमार्ककी मिका केसीले १६ अंक जोडिन्। ल्यान्डमार्कको पनि यो लगातार दोस्रो जित हो। ल्यान्डमार्कले पहिलो क्वार्टरमा ६–२, दोस्रोमा २–११, तेस्रोमा १५–१ र चौथोमा ५–११ अंक जोड्यो।
प्रकाशित: १९ भाद्र २०८१ ०९:०४ बुधबार



-600x400.jpg)

