३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

साफ यु–२० च्याम्पियनसिप: नेपाल र बाङ्लादेशलाई उपाधि उचाल्ने अवसर

साफको जुनसुकै प्रतियोगितामा पनि भारतको दबदबा उत्तिकै छ। त्यसैले भारत खेलेको प्रतियोगितामा उपाधिको दाबेदार नै उसलाई नै मानिनु स्वाभाविक हो। यसपल्ट पनि साफ यु–२० च्याम्पियनसिपमा उसैलाई प्रमुख दाबेदार मनिएको थियो। तर, प्रतियोगिताको सुरुआतदेखि नै कमजोर प्रदर्शन गर्दै आएको भारतको यसपल्ट त्यो दाबेदारको यात्रा सेमिफाइनलमै रोकिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो सेमिफाइनलमा बाङ्लादेशले पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै भारतको चुनौती समाप्त गरेको हो।

अब उपाधि उचाल्न घरेलु टोली नेपाल र बाङ्लादेश यही मैदानमा बुधबार प्रतिस्पर्धा गर्नेछन्। ‘बाङ्लादेशका लागि सधैं भारत कठिन प्रतिद्वन्द्वी हो । मैले सामाजिक सन्जालमा पनि भारतलाई जित्न सक्दैन भनिरहेको देखेको थिएँ। तर, आजको खेलमा हाम्रा खेलाडीहरूले निकै राम्रो प्रदर्शन गरे,’ बाङ्लादेशका मुख्य प्रशिक्षक मारूफुल हकले भने।

यसअघि बाङ्लादेश र भारत ६ पल्ट भिडेका थिए। तर, ती भेटमा भारत सधैं अब्बल साबित रह्यो। सन् २०१७ को यु–१८ च्याम्पियनसिपमा बाङ्लादेशले भारतलाई ४–३ ले हराएको थियो । गत संस्करणको यु–२० च्याम्पियनसिपको समूहचरणमा पनि बाङ्लादेशले भारतलाई २–१ ले हरायो।

तर, फाइनलमा भने  बाङ्लादेश अतिरिक्त समयमार्फत भारतसँग ५–२ ले पराजित हुन पुग्यो। त्यही हारसँगै बाङ्लादेशले पाँच वर्षपछि उपाधि जित्ने अवसर गुमाएको थियो। यसपल्ट भने सेमिफाइनलमा बाङ्लादेशले भारतसँग बदला लिन सफल भएको छ। यसमा नायक भने दोस्रो रोजाइका गोलकिपर मोहम्मद आसिफ बने। उनले भारतका केल्भिन सिंह र आकाश तिर्केको प्रहार रोके।

बाङ्लादेशका पियस अहमेद नोभा, मोइनुल इस्लाम, साकिल तोपु र मोहम्मद असरफुल आसिफले गोल गरे। भारतका लागि भने प्रमवीर, ग्वेग्वेसार गोयरी र मनजोत सिंहले मात्रै गोल गर्न सके। अब बाङ्लादेशलाई उमेरसमूहका प्रतिस्पर्धामा नौ वर्षदेखिको उपाधि जित्ने लक्ष्य पूरा गर्ने अवसर पनि जुरेको छ। त्यो हरसम्भव सफल बनाउने लक्ष्यमा देखिन्छन्, प्रशिक्षक हक। ‘प्रतियोगिताको तयारी गर्न दुई हप्ता मात्रै पाएका थियौं। तर, यस प्रतियोगिता खेल्ने सबै टोलीलाई राम्ररी चिनेका थियौं । त्यसैले हामी उपाधि जित्न आएका हौं भनेको थिएँ। त्यो पूरा हुने तरखरमा छ,’ उनले भने।

उपाधि नै जित्ने लक्ष्य राखे पनि बाङ्लादेशको यात्रा यसपल्ट त्यति सहज हुन सकेन । समूहचरणको पहिलो खेलमा प्रतियोगिताकै कमजोर टोली श्रीलंकालाई २–० ले हराए पनि घरेलु टोली नेपालविरुद्ध त्यो लय भंग भयो। पहिलो रोजाइका गोलकिपर तथा कप्तान मेहदी हसनको कमजोर प्रदर्शन र फिनिसिङमा चुकेको बाङ्लादेशले समूह उपविजेता हुँदै अन्तिम चारमा स्थान बनाएको थियो। तर, सोमबार पनि उसको फितलो प्रदर्शन कायमै रह्यो। बाङ्लादेशले पहिलो हाफ सकिन नौ मिनेट बाँकी रहँदा असदुल मोल्लाको गोलमार्फत सुरुआती अग्रता लियो।

लेफ्ट सासडबाट विंगर रब्बी हुसेन राहुलले दोस्रो बारतर्फ गरेको प्रहार भारतका गोलकिपर प्रियान्स दुवेले पन्च गरेका थिए । तर, उक्त बल राम्रोसँग क्लियर हुन नसक्दा त्यसको फाइदा उठाउँदै उनले ‘वान टच’मा प्रहार गरेको बलले जाली चुम्यो। तर, पहिलो रोजाइका गोलकिपर मेहदी घाइते हुनुले खेलको कथा फेरियो। बारम्बार भारतीय खेलाडीले गोलको अवसर बनाए पनि मेहदीले एकनासको प्रदर्शन गर्दै गोल हुन दिएका थिएनन्। तर, ६५औं मिनेटमा ग्वेग्वेसारले बनाएको मुभलाई गोलकिपर हसनले विफल पारेका थिए। त्यस क्रममा ग्वेग्वेसार र आफ्नै खेलाडीसँग ठोक्किन पुगेपछि उनको टाउकोमा चोट लागेको थियो।

करिब चार मिनेटको प्राथमिक उपचारपछि पनि रिकभर हुन नसकेपछि हसनले मैदान छाड्न पर्‍यो। उनलाई स्ट्रेचरमा राखेर अस्पताल लगिएपछि दोस्रो रोजाइका गोलकिपर मोहम्मद आसिफ मैदान छिरेका थिए। त्यसैको फाइदा उठाउँदै नाओबा पाङम्बामको कटब्याकमा रिकी मेतेइ हाओबामले सुन्दर गोल गरे। अहिले हसनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रशिक्षक हक बताउँछन्। ‘फाइनलमा फर्किन्छन् भन्ने आशा छ,’ उनले भने।

यता, साफको उमेरसमूहको प्रतियोगिताको उपाधि रक्षा गर्ने लक्ष्यसाथ आएको भारतको भने यात्रा सुखद रहन सकेन। युरोप र घरेलु लिग खेल्ने खेलाडी लिएर काठमाडौं आएको भारत प्रतियोगिताभर फिनिसिङमा चुकिरह्यो । समूहचरणमा भारतले भुटान र माल्दिभ्सविरुद्ध समान १–० को जित निकालेको थियो। प्रतियोगिताको गोलसंख्या हेर्ने हो भने श्रीलंका र माल्दिभ्सपछि सबैभन्दा कम गोल गर्ने टोली भारत नै रह्यो। नेपाल र बाङ्लादेशले चार तथा भुटानले तीन गोल गरे । तर, भारतले प्रतियोगिताभर जम्मा तीन गोल मात्रै गर्न सक्यो।

योसँगै भारत तेस्रोपल्ट उपाधि जित्न असफल भयो। यसअघि भारत सन् २०१५ को यु–१९ र २०१७ को यु–१८ साफ च्याम्पियनसिप (सिंगल राउन्ड रोबिन) मा पनि उपाधिविमुख भएको थियो। यो दुवै  संस्करणमा नेपाल च्याम्पियन भयो। त्यसपछि भने भारतले प्रतियोगितामा कब्जा जमाउँदै आएको थियो। तर, भारतीय प्रशिक्षक रञ्जन चौधरी भने युवा टोली रहेकाले चिन्ता गर्नुपर्ने विषय नरहेको बताउँछन्। ‘खेलको ९० मिनेट नै हामी बाङ्लादेशविरुद्ध हाबी थियौं । तर, कहिलेकाहीं यस्तै हुन्छ। यद्यपि, आतिनुपर्दैन किनभने टोलीका खेलाडी २० वर्षमुनिका छन्। अझैं उनीहरूले १५÷२० वर्ष खेल्न बाँकी नै छ। उनीहरूले आफूमा सुधार गर्छन्,’ उनले भने।

भारतीय टोलीको लक्ष्य पेनाल्टी सुटआउटभन्दा अगाडि नै जित निकाल्ने थियो । त्यसैले पाँच मिनेटको अतिरिक्त समय थपिँदा गोलकिपर प्रशिक्षक सन्दीप नन्दीले आपत्ति जनाउँदा रेफ्री श्याम दनुवारले पहेंलो कार्ड दिए। हार बेहोरेपछि सीधै ड्रेसिङ रुमतिर लम्किँदा गर्दा पनि सन्दीप रिसमै थिए। उनी अर्कोपल्ट साफ खेल्न नआउने भन्दै चर्को स्वरमा कराउन पुगे। चौधरी पनि रेफ्रीको त्यो निर्णयमा रुस्ट देखिए । थोरै समय मात्रै थप गरेकाले पनि हार बेहोर्न परेको उनको भनाइ थियो।

प्रकाशित: ११ भाद्र २०८१ ०८:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App