बिर्तामोड युनाइटेड फुटबल क्लब (झापा) दोस्रो ताप्लेजुङ गोल्डकपको फुटबलको सेमिफाइनलमा पुगेको छ ।
बिहीबार सम्पन्न खेलमा बिर्तामोड युनाइटेड फुटबल क्लब (झापा) विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
बिर्तामोडका लागि अभिषेक गुरुङ, देवेन्द्र तामाङ र युसफ थपलिया एक एक गोल गरेका हुन ।
बिर्तामोडको जितमा तीनै गोल दोस्रो हाफमा भएको थियो । ४६औं मिनेटमा अभिषेक गुरुङ, ६५औं मिनेटमा देवेन्द्र तामाङ र ६६औं मिनेटमा युसफ थपलियाले गोल गरेपछि बिर्तामोड सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।
अब बिर्तामोडले भदौ ८ गते हुने दोस्रो सेमिफाइनलमा सिराहाको सलहेश यूथ क्लबसँग फाइनल यात्राका लागि प्रतिस्पर्धा गर्नेछ । सलहेश पाँचथर फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
शुक्रवार हुने पहिलो सेमीफाइनलमा घरेलु टोली संघर्ष स्पोर्टिङ क्लव र मोरङको सगरमाथा यूथ क्लव आमनेसामने हुनेछन् । संघर्ष उद्घाटन खेलमा भारत सिलगुढीको कञ्चनजंघा फुटबल क्लवलाई ७–५ गोल अन्तरले पराजित गर्दै सेमीफाईनल पुगेको हो ।
मोरङको सगरमाथा यूथ क्लव नेपाल सुपर लिग खेलेको बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाउने टोली हो ।
प्रकाशित: ६ भाद्र २०८१ १७:२२ बिहीबार





