उदयपुरको कटारीमा विद्यालयस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ। स्थानीय टाइगर फुटबल क्लब कटारीको आयोजनामा आगामी भदौ ७ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने तयारी भइरहेको छ।
प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीलाई मात्र सहभागी गराइने क्लबले जनाएको छ । बिहीबार क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार कक्षा १० सम्मका विद्यार्थीले मात्र प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन्।
‘प्रथम हरिचन्द्र साह स्मृति कप फुटबल प्रतियोगिता ०८१’ नाम दिइएको खेल कटारी नगरपालिका ४ का स्वर्गीय हरिश्चन्द्र साहको नाममा उनकै परिवारको मुख्य प्रायोजनमा हुन लागेको हो।
क्लबका अध्यक्ष दीपक राईले प्रतियोगिता विजेतालाई नगद ३० हजारसँगै ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ। त्यस्तै उपविजेतालाई २० हजार नगदका साथ मेडल र प्रमाणपत्र तथा अन्य विधागत खेलाडी र समूहलाई पनि नगदसहित पुरस्कारको व्यवस्था रहेको अध्यक्ष राईले बताए।
प्रतियोगितामा कटारी नगरपालिकासँगै छिमेकी स्थानीयतहहरु सदरमुकाम त्रियुगा नगरपालिका र उदयपुरगढी गाउँपालिका तथा दुधौली नगरपालिकाका विभिन्न टोली गरी १६ खेल समूहले प्रतिस्पर्धामा भाग लिने छन्।
क्लबका प्रशिक्षक रोहन जोशीका अनुसार कटारीमा आयोजना हुन लागेको यो प्रतियोगिता कटारी गोल्डकपपछिको ठूलो राशी पुरस्कार भएको खेल हो।
भदौ २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उदीयमान खेलाडी, सर्वाधिक गोलकर्ता र हरेक दिन खेलको म्यान अफ द म्याच घोषित गरी पुरस्कार, मेडल तथाथ प्रमाणपत्र पुरस्कार दिइने छ।
प्रकाशित: १ भाद्र २०८१ १२:०३ शनिबार





