२ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

चर्च ब्वाइज र थ्री स्टारलाई सफलता

चर्च ब्वाइज युनाइटेड र थ्री स्टारले मंगलबार ललित स्मृति एन्फा यु–१८ युथ लिगमा जित निकालेका छन्। सादोबाटोस्थित एन्फा कम्प्लेक्सको फुटबल मैदानमा चर्च ब्वाइज युनाइटेडले एफसी खुमलटारविरुद्ध २–१ को जित निकाल्दा थ्री स्टारले सातदोबाटो युथ क्लबलाई ३–० ले हराएको हो। चर्च ब्वाइजका सन्दीप ठाडामगर र आभास रोकाले गोल गरे। 

खुमलटारका एलिक श्रेष्ठले गोल फर्काए पनि आफ्नो टोलीको हार टार्न सकेनन्। खेलको पहिलो हाफ गोलरहित बराबरी नै टुङ्गियो। तर, दोस्रो हाफमा भने तीन गोल सम्भव भयो। खेलको ५०औं मिनेटमा सन्दीपले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए। 

तर, यो अग्रता लामो समयसम्म टिक्न सकेन। सात मिनेटपछि नै एलिकले खुमलटारलाई १–१ को बराबरीमा ल्याए। एक अंक पाउने संघारमा पुगेको खुमलटार इन्जुरी समयमा समालिन सकेन। इन्जुरी समयमा आभासले गोल गर्दै चर्च ब्वाइजलाई जित दिलाए।

चर्च ब्वाइजको लिगमा यो चौथो जित हो। यो जितसँगै टोलीले सात खेलबाट १३ अंक जोडेको छ। खुमलटारको भने यो छैटौं हार हो। खुमलटारको समान खेलबाट तीन अंक मात्र छ।मंगलबार नै सम्पन्न पहिलो खेलमा थ्री स्टारले सातदोबाटो युथमाथि सहज जित निकाल्यो। एन्फा कम्प्लेक्स फुटबल मैदानमा थ्री स्टारको जितमा सनिल स्याङताङ, रोमन श्रेष्ठ र चित्रबहादुर नेपालीले गोल गरे। 

थ्री स्टारले खेलको आठौं मिनेटमा नै अग्रता लियो। सनिलको गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका हुन्। केही समयपछि नै थ्री स्टारले अग्रता दोब्बर बनायो। १४औं मिनेटमा रोमनले थ्री स्टारलाई २–० ले अगाडि बढाएका हुन्। यससँगै पहिलो हाफमा थ्री स्टार २–० ले अघि रह्यो । दोस्रो हाफमा पनि सातदोबाटो युथ खेलमा फर्कन सकेन। 

थ्री स्टारले उल्टै एक गोल थप्यो। चित्रले ५७औं मिनेटमा गोल गर्दै थ्री स्टारको अग्रता फराकिलो बनाए। त्यसपछि दुवै तर्पmबाट गोल हुन सकेन र थ्री स्टारको पक्षमा ३–० ले नै नतिजा पुग्यो । तेस्रो जितसँगै थ्री स्टारले सात खेलबाट १० अंक जोडेको छ। सातदोबाटोको भने पाँचौं हार हो। सातदोबाटोको समान खेलबाट चार अंक छ।

प्रकाशित: २३ श्रावण २०८१ ०८:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App