४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

घनश्यामले हरियाणाबाट प्रो–कबड्डी लिग खेल्ने

नेपाली राष्ट्रिय टोलीका कप्तान घनश्याम रोक्कामगरले हरियाणा स्टिलर्सबाट भारतीय प्रो–कबड्डी लिग खेल्ने भएका छन्।

हरियाणाले भारतीय प्रो–कबड्डी लिगको ११औं संस्करणका लागि रेडर घनश्यामलाई रिटेन गरेको जानकारी दिएको हो। उनले अघिल्लो संस्करण पनि हरियाणाबाटै लिग खेलेका थिए। हरियाणाले गत संस्करणमा उनलाई अक्सनबाट १३ लाख भारतीय रूपैयाँमा अनुबन्धित गरेको थियो। उनले पाँच खेलबाट २९ रेड गर्दै १२ अंक जोडेका थिए। यसपल्ट भने उनी अक्सन हुनुभन्दा अगाडि नै रिटेन भएका छन्। यससँगै उनले १५ लाख ५० हजार भारतीय रूपैयाँ पाउने भएका छन्।

प्रो–कबड्डी लिगमा नेपाली खेलाडीमध्ये उनी सर्वाधिक पारिश्रमिक पाउने खेलाडी हुन्। घनश्यामअघि नेपालका चार खेलाडीले प्रो–लिग खेलका थिए। उनी भारत नै बसेर प्रशिक्षण गर्दै आएका छन्। अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाका अनुसार घनश्यामसँगै गणेश कार्की, लालमोहन यादव र रामु टमाटालाई अक्सनमा सिफारिस गरेको छ।

‘हामीले चार जनालाई सिफारिस गरेका थियौं। घनश्यामले पहिला पनि खेलेको भएर हरियाणाले रिटेन गरेको छ। अन्य खेलाडी भने अक्सनमा जानेछन्,’ उनले भने। अक्सन आगामी १५ अगस्टमा हुनेछ। गत संस्करणमा रामु टमाटा, कुमार लामा र प्रदीप मिजार पनि विदेशी खेलाडीको कोटामा थिए। तर, अन्य तीन खेलाडी भने बिक्री भएका थिएनन्।

प्रकाशित: २३ श्रावण २०८१ ०७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App