२ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

इरानसँग हारको बदला लिने लक्ष्य

लिगमा बेहोरेको हारको बदला लिने लक्ष्यसहित नेपाल मंगलबार काभा महिला भलिबल नेसन्स लिगको सेमिफाइनलमा इरानविरुद्ध चुनौती प्रस्तुत गर्दै छ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा सोमबार माल्दिभ्समाथि सोझो सेटमा जित निकालेपछि नेपालले सेमिफाइनलमा इरानलाई प्रतिद्वन्द्वी पाएको हो। जितसँगै नेपालले लिगमा बेहोरेको हारको बदलासमेत लिने अवसर पाएको छ। लिगमा इरानसँग ३–२ ले पराजित हुँदा शीर्ष स्थानमा रहेर सेमिफाइनल खेल्ने नेपालको लक्ष्य पूरा हुन सकेन। नेपालका प्रशिक्षक जगदीश भट्टले लिगमा भएको कमिकमजोरी सुधार गर्दै सेमिफाइनलमा इरानविरुद्ध जित निकाल्ने लक्ष्य रहेको बताए। ‘लिगमा इरानविरुद्ध केही गल्ती पनि भए। अब सेमिफाइनलमा ती गल्ती सुधार गर्छौं,’ प्रशिक्षक भट्टले भने, ‘इरानलाई हराउँदै हामी उपाधि यात्रा होमिनेछौं।’

लगातार पाँच सेटको खेल खेल्दा इरानविरुद्ध नेपाली खेलाडीमा थकान देखियो। त्यसैले पनि सोमबार प्रशिक्षक भट्टले माल्दिभ्सविरुद्ध दोस्रो रोजाइका खेलाडीलाई अवसर दिएका थिए। ‘इरानविरुद्ध पनि पाँच सेट खेल्दा खेलाडीलाई थकान भयो। त्यसैले आज दोस्रो रोजाइका खेलाडीलाई अवसर दिएँ। यसले गर्दा सेमिफाइनलमा उनीहरू पर्याप्त आराम पाउनेछन्,’ प्रशिक्षक भट्टले भने,‘इरानको खेल्ने तरिका पनि बुझिसकेका छौं। अघिल्लो भेटको भन्दा धेरै राम्रो गर्नेछौं।’ नेपालकी कप्तान अरूणा शाहीले पनि सेमिफाइनलमा इरानको महŒवपूर्ण पक्ष डिफेन्स तोड्ने लक्ष्यसहित सेमिफाइनलमा मैदान उत्रने विश्वास व्यक्त गरेकी छन्।

अर्को सेमिफाइनलमा लिगको शीर्ष टोली भारत र श्रीलंका भिड्नेछन्। सोमबार नै भएको पहिलो खेलमा भारतले श्रीलंकालाई सोझो सेटमा हराएको थियो। यो नतिजा नै भारतलाई लिगको शीर्ष स्थानमा पर्याप्त बन्यो। भारतले श्रीलंकामाथि २५–१३, २५–२१ र २१–२० को जित निकालेको थियो । यो नतिजासँगै पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिगमा नेपालको शीर्ष स्थानमा पुग्ने अवसर समाप्त भएको हो। लिगमा भारत, नेपाल, इरान र श्रीलंका शीर्ष चारमा रहेर सेमिफाइनलमा पुगेका हुन्। सबै खेलमा पराजित माल्दिभ्स भने पुछार रह्यो। लिगमा दोस्रो भएपछि नेपालले इरानलाई प्रतिद्वन्द्वी पायो।

शीर्ष टोली भारतले लिगको चौथो स्थानको श्रीलंकासँग खेल्नेछ। चार खेलबाट नेपालले तेस्रो सफलता प्राप्त गर्‍यो। तीन जित र एक हार सामना गरेको नेपालले ९ अंक जोड्यो। समान खेलबाट भारत १० अंकसहित शीर्ष स्थानमा रह्यो। इरानले सात अंक जोड्दा श्रीलंकाले चार अंक बटुल्यो। श्रीलंकाले एक मात्र जित माल्दिभ्सविरुद्ध निकालेको हो। इरानसँग ३–२ ले पराजित हुँदा श्रीलंकाले एक अंक खोसेको थियो। यता, नेपालले भने भारतमाथि पहिलोपटक जित रच्दै ऐतिहासिक सफलता प्राप्त गरे पनि इरानसँग पराजित हुन पुगेको थियो।

तर, लिगको अन्तिम खेलमा नेपालले कमजोर टोली माल्दिभ्सविरुद्ध सहज जित निकाल्दै इरानसँगको हार भुल्ने प्रयास गर्‍यो। माल्दिभ्सविरुद्ध नेपालले पहिलो सेट २५–८ ले एकपक्षीय पार्‍यो। तर, दोस्रो सेटमा नेपालका प्रशिक्षक जगदीश भट्टले दोस्रो रोजाइका खेलाडीलाई अवसर दिए। कप्तान तथा सेटर अरूणा शाहीसहित प्रमुख रोजाइका खेलाडीलाई आराम दिएपछि नेपालले केही चुनौती सामना गर्नुपर्‍यो। यस क्रममा माल्दिभ्सले पटकपटक अग्रता पनि लिँदै दबाब बनाउने प्रयास गर्‍यो। तर, सफल हुन सकेन। अन्ततः दोस्रो सेट पनि २५–१९ ले नेपालको पक्षमा रह्यो।

माल्दिभ्सले तेस्रो सेटमा पनि कम अनुभव प्राप्त खेलाडीसहित उत्रिएको नेपाललाई चुनौती दियो। तर, यो सेट पनि नेपालले २५–१८ ले आफ्नो पक्षमा पार्‍यो। यो नतिजासँगै माल्दिभ्स अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो। माल्दिभ्सले प्रतियोगिताभर एक सेट पनि जित्न सकेन।

प्रकाशित: २२ श्रावण २०८१ ०७:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App