भारतीय टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ नियम र अवधारणाका आधारमा सन्यास लिने वा नलिने निर्णय गर्ने बताएका छन्।
सन् २०२० अगस्ट १५ मा इन्टरनेशनल क्रिकेटबाट सन्यास लिएका धोनी पछिल्लो समय आईपीएलमा सक्रिय छन्।
यस वर्षको आईपीएलकै क्रममा उनले सन्यास लिने र आगामी आईपीएल नखेल्ने जस्ता बहस सुनिएको थियो। तर, धोनीले आगामी सिजनको आईपीएलको नियम र अवधारणाका आधारमा आफूले सन्यास लिने वा नलिने निर्णय गर्ने बताए।
बिहीवार पत्रकारहरूसँगको कुराकानीमा उनले आईपीएलको रिटेन्शन र अन्य विषयमा बन्ने नियमका आधारमा सन्यासको निर्णय लिने बताए।
उनले भने, ‘अहिले बल हाम्रो पक्षमा छैन। एकपटक नियम जारी भएपछि मलाई निर्णय लिन सहज हुनेछ। जुन टीमको हितमा रहने छ।’
धोनी भारतका एक मात्र कप्तान हुन् जसले भारतलाई एकदिवसीय विश्वकप र टी–२० विश्वकपको उपाधि दिलाएका छन् भने आईपीएल टीम चेन्नई सुपर किङ्ग्सलाई ५ पटक उपाधि दिलाउन सफल भएका छन्।
४३ वर्षीय धोनीको क्रिकेट जगतमा छुट्टै पहिचान बनेको छ।
प्रकाशित: १८ श्रावण २०८१ १३:०१ शुक्रबार