उदयपुरगढी गाउँपालिकामा जिल्लाकै सबभन्दा ठूलो कभर्डहल भवन निर्माण हुँदैछ। खेलकुद प्रेमीहरूको माग अनुसार वडा नं. ६ स्थित नेपालटारमा बन्दै गरेको फलामे ट्रस प्रविधिको कभर्डहल अन्तिम चरणमा पुगेको छ।
सहरोन्मुख बजार नेपालटार गाउँपालिकाकै आकर्षक र व्यापारिक केन्द्र हो। गाउँपालिका केन्द्र पुरानो जिल्ला सदरमुकाम उदयपुरगढी भन्दा ९ किलोमिटर पूर्वदक्षिणीमा पर्ने नेपालटार मदन भण्डारी लोक मार्गको गाईघाट–कटारी खण्डले छोएको ठाउँ हो। नेपालटार बजारको व्यापारिक तथा पर्यटकीय गतिविधि बढाउनुका साथै खेल पर्यटनको विकास गर्ने लक्ष्यले कभर्डहल निर्माण थालिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले नेपालटार उदाउँदो बजार, लोकमार्गसँग जोडिएको र घना बस्ती भएकाले खेलकुद गतिविधिसँगै पर्यटन विकासको आसा गर्दै कर्भडहल बनाइएको बताए।
ब्याडमिन्टन खेललाई लक्षित गरी निर्माणाधीन कभर्डहलमा कराते, तेक्वान्दो, बक्सिङ, टेबल टेनिसलगायत विभिन्न खेलकुद गतिविधि गर्न सहज हुने अध्यक्ष मगरले बताए। कभर्डहल गाउँपालिकाकै लगानीमा निर्माणाधीन रहेको छ। ०७९÷०८० को स्वीकृत कार्यक्रम अनुसार १ करोड ५० लाख लागत इस्टीमेट रहेको कभर्डहल ठेक्का लगाउन निर्माण व्यवसायीबिच प्रतिस्पर्धा गराउँदा १ करोड २४ लाखमा ठेक्का सकार भएको हो।
प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईँका अनुसार कभर्डहल निर्माणको जिम्मा जागेश्वर कन्स्ट्रक्सन जनकपुरधामले पाएको छ। जागेश्वर निर्माण कम्पनीले ०७९ सुरुमा सम्झौता गरी ०८० असार अन्तिममा सम्पन्न गर्ने सम्झौता भए पनि धेरै तौलको धुरी लगाउन २ वटा क्रेन बाहिरबाट ल्याएर प्रयोग गर्नुपर्दा केही समय ढिला भएको उनले बताए।
भवन रेखदेखमा खट्दै आएका सवइन्जिनियर ईश्वर थापाका अनुसार कभर्डहल १० मिटर लम्बाई र २० मिटर चौडाइ तथा ३४ फिट उचाइको छ। ट्रस प्रविधिको कभर्डहलको १३ मिटर उचाइसम्म इँटाको गारो र बाँकी फलामे पिल्लर छ। गारोभन्दा माथिको भाग जस्ताको बेरा र जस्ताकै छानो लगाउने प्राविधिक इस्टीमेत रहेको सवइन्जिनियर थापाले बताए। हालसम्म ७५ प्रतिशत निर्माण (भौतिक प्रगति) सम्पन्न भईसकेको कभर्डहलको भुक्तानी (वित्तीय प्रगति) ६५ प्रतिशत भईसकेको थापाले बताएका छन्।
कभर्डहल बनेपछि वडाको स्वभा बढ्नुका साथै आन्तरिक र बाह्य खेल पर्यटकहरू बढ्ने अपेक्षा गरेको ६ नं. वडाध्यक्ष कृष्ण खत्रीले बताए। कभर्डहल बनेपछि घाम पानी, झरी वर्षाको समयमा पनि खेलकुदका गतिविधि गर्न सकिने भएकाले खेलकुद गतिविधि र पर्यटन विकास हुनेमा उनी ढुक्क छन्। ‘यो कभर्डहलले मेरो वडाको पर्यटन र खेलकुदमा दोब्बर विकास हुने आसा लागेको छ’ वडाध्यक्ष खत्रीले भने, ‘नेपालटार उसै पनि व्यापारिक केन्द्र र गाउँपालिका केन्द्र उदयपुरगढी पुग्ने आधा घण्टा दूरीको नाका बजार भएकाले महत्त्वपूर्ण वडा हो।’
वडा सचिव खिलाराज कार्कीले कभर्डंहल बनेपछि ‘इन्नर गेम’मा बाह्रैकाल प्रतिस्पर्धा गर्न सहज हुने बताए। जस्तोसुकै मौसम र दिउँसो वा राति पनि हलभित्र खेलकुदका गतिविधि गर्न सकिने भएकाले कभर्डहलले खेलकुदको विकासमा पनि महत्त्वपूर्ण योगदान गर्ने सचिव कार्कीको ठम्याई छ। वडा कार्यालय नजिकै निर्माणाधीन कभर्डहल जिल्लाकै ठूलो आकारको भएकाले प्रदेश वा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता गर्न पनि सहज हुने कार्कीले बताए।
प्रकाशित: १७ श्रावण २०८१ १२:१४ बिहीबार