५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

सरोकारवालासँग मिलेर अगाडि बढ्नेछु: खेलकुदमन्त्री

नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरोकारवालासँग एक भएर अगाडि बढ्न तयार रहेको बताएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्षसमेत रहेका खेलकुदमन्त्री चौधरीले उनको सम्मानमा राखेपले बिहीबार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रम सो कुरा बताएका हुन् ।

 ‘म मन्त्री भएको केही दिन मात्र भएको छ। छोटो अवधिमा पनि मैले खेलकुदलाई कसरी विकास गर्न सकिन्छ, योजनालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा राखेपका सदस्यसचिव र सरोकारवालासँग बिहानदेखि बेलुकीसम्म छलफल गरिरहेको छु,’ मन्त्री चौधरीले भने, ‘खेलकुदलाई विकासको बाटोमा डोर्‍याउन सरोकारवालासँग एक भएर अगाडि बढ्न तयार छु।’

मन्त्री चौधरीले वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले तीन सय दिनमा कीर्तिपुर क्रिकेट मैदानमा आवश्यक पूर्वाधार तयार गर्ने गरी गरेको निर्णयका सम्बन्धमा सदस्यसचिवसँग छलफल भइरहेको बताए।

मन्त्री चौधरीले १०औं राष्ट्रिय खेलकुदलगायत अन्य विषयमा चाँडै बोर्ड बैठक बसेर टुंग्याउने बताए। उनले नेपाली खेलाडी मेहनती, लगनशील र संघष गर्न सक्ने भएको बताउँदै छोटो तयारीले खेलाडीबाट ठूलो अपेक्षा गर्न नसकिने बताए। राखेपका उपाध्यक्ष शिव कोइरालाले मन्त्रीको लक्ष्यलाई पूरा गर्न राखेप टिम सहयात्री बनेर काम गर्न तयार रहेको बताए। राखेपका सदस्यसचिव टंकलाल घिसिङले खेलकुदलाई गहिराइमा बुझेको नेतृत्व पाएकोमा खुसी व्यक्त गर्दै असल सारथि बनेर काम गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

सदस्यसचिव घिसिङले आफ्नो कार्यकालमा भएको महत्त्वपूर्ण कार्यबारे संक्षिप्तमा जानकारी गराउने क्रममा पहिलो पटक खेलकुद बिमालेख जारी गरिएको, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) लाई प्रभावकारी ढंगले अगाडि बढाइरहेको, उमेरसमूहलगायत विभिन्न प्रतियोगितामा जोड दिएको, कुन समुदायको कुन भुगोलको बच्चा कुन खेलका लागि उपयुक्त हुन्छ भन्ने विषयमा मसिनो ढंगले अध्ययन गरी नेपाली खेलकुदकै इतिहासमा पहिलो पटक सातै प्रदेशमा एन्थ्रोपो मेट्रिक अनुसन्धान गरिएको, पेरिस ओलम्पिकसंगै १०औं राष्ट्रिय खेलकुदको तयारीमा जुटेको, राखेपको इतिहासमै पूर्व युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूसँगको सहकार्यमा लामो समयदेखि रोकिएको कर्मचारीको बढुवा गर्ने क्रममा ठूलो संख्यामा तीन सय  ४२ कर्मचारीको बढुवा गरिएको, एसियाली खेलकुद सकिएलगत्तै अर्को संस्करणका लागि तयारी थाल्ने क्रममा एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित वैज्ञानिक र लामो तयारीको विशेष प्रशिक्षण गर्न विभिन्न १० खेलका एक सय दुई खेलाडी समावेश गरी मिसन २०२६ को सुरुआत गरिएको, आर्थिक विनियमावली, कर्मचारी सेवा सर्त विनियमावली र ओ एन्ड एम सर्भे तयारी अवस्थामा रहेकोमा बोर्ड बैठकबाट मात्र पारित हुन बाँकी रहेको बताए ।

यसैबीच बिहीबारै सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा सदस्य–सचिव घिसिङले खेलकुद मन्त्री चौधरीलाई राखेपको कार्ययोजनाहरू विस्तृत रूपमा पनि प्रस्तुत गरेका थिए।

प्रकाशित: ४ श्रावण २०८१ ११:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App