मोरङको विराटनगरमा जारी प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगितामा सुनसरी शीर्ष स्थानमा छ।
कोसी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको कबड्डी प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा सुनसरीे ३ खेलमा विजयी हुँदै ६ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ। ताप्लेजुङ र पाँचथरले समान अंक ४–४ प्राप्त गरेका छन् । उनीहरुले २–२ खेल खेल्दै जित निकालेका हुन् ।
त्यस्तै, सोलुखुम्बुले १ खेलमा जित १ खेल बराबरी र १ खेल हार्दै ३ अंक प्राप्त गर् यो। इलाम १ खेलमा जित निकाल्दै २ अंक प्राप्त गरेको छ । झापा र मोरङले २–२ अंक प्राप्त गर्दै गर्दा १–१ खेलमा जित १–१ खेल हारेका छन्। उदयपुरले १ खेलमा बराबरी र १ खेल हार्दै १ अंक बटुलेको ।
त्यसैगरी, धनकुटा, सङ्खुवासभा, तेह्रथुम र ओखलढुङ्गाले खेलमा नतिजा निकाल्न नसक्दा अङ्कविहीन हुनु परेको छ ।
प्रतियोगितामा प्रदेशका १२ वटा जिल्लाको सहभागिता रहेको छ । समूह ‘ए’मा मोरङ, सुनसरी, झापा, सोलुखुम्बु, उदयपुर र धनकुटा छन्। समूह ‘बि’मा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा र ओखलढुङ्गा छन् । भोजपुर र खोटाङले सहभागिता जनाएका छैनन्।
बुधबारसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने खेलकुद विकास बोर्डले जनाएको छ।
प्रकाशित: १८ असार २०८१ १९:४१ मंगलबार