१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

एचके मडरर्सलाई ई स्पोर्ट्स च्याम्पियनसिपको उपाधि

प्रथम राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको उपाधि हेल नाइट (एचके) मडरर्सले जितेको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शनिबार राति सम्पन्न फाइनलमा लियो स्पोर्ट्सलाई पछि पार्दै एचके मडरर्स पब्जी मोबाइलतर्फको च्याम्पियन बनेको हो।

दुवै टोलीले समान अंक जोडे पनि ‘चिकेन डिनर’ का आधारमा एचके मडरर्स च्याम्पियन बनेको आयोजक ई स्पोर्ट्स एसोसिएनका सचिव आशिष दाहालले जानकारी दिए। च्याम्पियन बनेको एचके मडरर्सले दुई लाख २५ हजार  रुपैयाँ प्राप्त गर्‍यो। दोस्रो भएको लियो स्पोर्ट्सले एक लाख ८० हजार  रुपैयाँ पायो।

यस्तै, तेस्रो भएको फ्याभ फोरले एक लाख आठ हजार  रूपैयाँमा चित्त बुझायो। पब्जी मोबाइलमा अन्तिम चरणमा प्रतिस्पर्धा गरेका १६ वटै टोलीले नगद पुरस्कार प्राप्त गरेका थिए। जसको प्राइज पुल नौ लाख रूपैयाँ थियो। लियो स्पोर्ट्सका लिओ एक्स हैतदामी मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित भए। उनले टेक्नो पोभा–६ मोबाइल प्राप्त गरे।

च्याम्पियनसिपमा तीन इभेन्ट समावेश गरिएको थियो। जसमा ई फुटबलको उपाधि गौरव पुडासैनीले जिते। यस्तै, मोबाइल लेजेन्ड्स (एमएलबिबी) को उपाधि टिम हाई भोल्टेजले जितेको थियो।

पब्जीबाहेक बाँकी दुई इभेन्ट अनलाइनमा आयोजना भएको थियो। एमएलबिबीको प्राइज पुल दुई लाख र ई फुटबलको प्राइज पुल एक लाख रूपैयाँ थियो। ई स्पोर्ट्स संघ नेपाल (ईसान) को आधिकारिक गठन भएपछि पहिलोपल्ट प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गरिएको हो।

प्रतियोगिताको छनोटमा पब्जीमा १३६ टोली, मोबाइल लेजन्ड्समा ४० टोली र ई फुटबलमा १९३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। विजेतालाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सन्ज्याल, ईसानका अध्यक्ष अञ्जन धमला, वरिष्ठ उपाध्यक्ष हिमविक्रम केसी, सचिव बालकुमार केसी लगायतले पुरस्कृत गरे। सदस्यसचिव सन्ज्यालले आसन्न १०औं राष्ट्रिय खेलकुदमा ई स्पोर्ट्सलाई समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: १७ असार २०८१ ०६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App