१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

किन लिए जडेजाले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास?

आइसिसी ट्वान्टी–२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै उपाधि जितेसँगै भारतीय अलराउन्डर रवीन्द्र जडेजाले पनि सन्यास लिएका छन्।

जडेजाले आइतबार आफ्नो इन्स्टाग्राममार्फत संन्यासको घोषणा गरेका हुन्। ‘कृतज्ञताका साथ मैले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएँ। गर्वका साथ दौडिरहेको घोडाजस्तै मैले पनि आफ्नो देशका लागि आफ्नो तर्फबाट सक्दो गर्ने प्रयास गरेको छु र अन्य फर्म्याटमा पनि गरिरहनेछु। ट्वान्टी–२० विश्वकप जित्नु मेरो करियरको सपना साकार हुनु थियो। अटुट समर्थनका लागि धन्यवाद,’ उनले भनेका छन्।

ट्वान्टी–२० विश्वकपमा भारतका हरेक खेलमा उनी सहभागी थिए। तर, यो विश्वकपमा जडेजाले आफ्नो उत्कृष्ट प्रदर्शन दिन सकेनन्। पाँच इनिङका २२ बलमा उनले ३५ रन बनाए।

बलिङतर्फ १४ ओभरमा ७.५७ को इकोनोमी रेटमा एक विकेट लिए। सबै ट्वान्टी–२०आई खेलमा जडेजाले ब्याटिङतर्फ १२७.१६ को इकोनोमीमा ५१५ रन बनाएका छन् भने बलिङमा ७.२३ को इकोनोमीमा ५४ विकेट लिए।

३५ वर्षीय जडेजा आइपिएलका उत्कृष्ट खेलाडी हुन्। सन् २००८ को पहिलो संस्करणदेखि खेल्दै आएका उनले चेन्नई सुपर किङ्सबाट तीन र राजस्थान रोयल्सबाट एक उपाधि जितेका छन्।

भारतका केही क्रिकेटर तीनवटै फम्र्याटको अभिन्न अंग बनेका छन्, जडेजा तीमध्ये एक हुन्। जडेजाले टेस्ट र एकदिवसीय फम्र्याटमा भने खेल्नेछन्।

टेस्टमा ७२ र एकदिवसीयमा १९७ खेल खेलेको अनुभव उनीसँग छ। टेस्टमा उनले तीन हजार ३६ रन बनाएका छन् भने २९४ विकेट लिएका छन्। एकदिवसीयमा उनले दुई हजार ७५६ रन बनाएका छन् भने २२० विकेट लिएका छन् ।

प्रकाशित: १७ असार २०८१ ०६:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App