१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

उपाधिविहीन साउथ अफ्रिका, के यसपटक बन्ला च्याम्पियन?

आईसिसी टी–२० विश्वकप क्रिकेटको फाइनल खेल शनिवार हुँदैछ। टी- २० विश्वकपको फाइनलमा भारत १० वर्षपछि पुगेको हो भने साउथ अफ्रिकाले पहिलोपटक स्थान बनाएको हो।  

बारबाडोसस्थित केनसिङ्गटोन ओभलमा हुने साउथ अफ्रिका र भारतबीचको खेल शनिबार राति ८ः१५ बजे सुरु हुनेछ।

फाइनल खेल साउथ अफ्रिकाका लागि ऐतिहासिक भएकाले ऊ आफ्नो आईसिसीको पहिलो उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रने छ । १० वर्षपछि फाइनलमा पुगेको भारत पनि आफ्नो दोस्रो उपाधिको खोजीमा रहने छ। भारतले सन् २००७ को टी–२० उपाधि जितेको थियो। त्यसयता उपाधि जित्न सकेको छैन।

जारी विश्वकपमा अपराजित दुई टोलीबीचको भिडन्त रोमाञ्चक हुने अपेक्षा छ। 

यसपटक साउथ अफ्रिकी टीमले आफ्नो पहिलो खेलबाटै आफ्नो सन्तुलन कायम राख्न सफल भएको छ । ब्याटिङ, बलिङ र फिल्डिङमा बलियो देखिएको छ। साउथ अफ्रिकी टीमको प्रदर्शनले उसका समर्थकहरूले उपाधि जित्ने अपेक्षा गरिरहेका छन्। हुन त भारतीय टीमलाई कमजोर ठान्नु एडम माक्ररमको टीमलाई घातक हुन सक्छ । 

हालसम्म विश्वकपको ७ पटक सेमिफाइनलको यात्रा तय गरेको साउथ अफ्रिका त्योभन्दा अघि बढ्न पाएको थिएन। तर, यसवर्ष भने दक्षिण अफ्रिकाले ३२ वर्षे इतिहासमा आफ्नो नाम फाइनल पुग्ने टोलीको सूचीमा लेखाइसकेको छ।

'चोकर्स'को दाग लागेको साउथ अफ्रिका सन् २०२४ को आफ्नो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै त्यो दागलाई मेटाउन सफल भएको छ।

उपाधिको अर्को बलियो टोली भारतसँगको उपाधि भिडन्त दक्षिण अफ्रिकाका लागि सहज भने हुनेछैन। बलियो ओपनिङ लाइनअप, धारिलो बलिङ  र चुस्त फिल्डिङ चिर्न  एडम माक्ररमको टोलीलाई सहज पक्कै छैन । तर पहिलो पटकको फाइनल यात्रामा नै उपाधि घर लैजान अफ्रिकी टीमले कुनै कसर भने बाँकी राख्ने छैन। 

साउथ अफ्रिकाको आईसिसी प्रतियोगितामा निराशाजनक इतिहासः

रङ्गभेदी प्रभावका कारण २१ वर्षको निस्कासन झेलेपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्केको साउथ अफ्रिका १९९२ मा एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको थियो। साउथ अफ्रिकासँग सन् १९९२ मा उत्कृष्ट तीव्र गतिका बलर र फिल्डर थिए। तर, सेमिफाइनलमा वर्षाका कारण ७ बलमा २७ रन बनाउनु पर्नेमा १ बलमा २२ रन बनाउनुपर्ने असम्भव लक्ष्य दिइयो। जुन पूरा गर्ने कसैको पनि बसमा थिएन। 

त्यसपछि १९९६ मा विश्वकपको क्वाटर फाइनलमा वेस्ट इन्डिजविरुद्ध साउथ अफ्रिका १९ रनले पराजित भयो। सबै समूह चरणको खेल जितेको उसलाई बलियो दाबेदारको रुपमा लिइँदै थियो। तर, ब्रायन लाराको उत्कृष्ट बलिङ्ग र रोजर हार्पर अनि जिमि एडम्सको बलमा साउथ अफ्रिकी टीम धरासयी बन्यो।

१९९९ लाई साउथ अफ्रिकाको क्रिकेट इतिहासको सबैभन्दा निराशाजनक म्याचको रुपमा लिइन्छ। टुर्नामेन्टका सर्वश्रेष्ठ खेलाडी रहेका लस क्लूसनरलाई उक्त म्याचले ‘ट्रेजेडी किङ्ग’ बनाइदियो। जितका लागि २१४ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको दक्षिण अफ्रिकालाई अन्तिम ओभरमा ९ रन बनाउनुथियो। अन्तिम जोडी क्रिजमा थिए। क्लूसनरले पहिलो बलमा दुई चौका प्रहार गरे तर, अघिल्लो बलमा एलेन डोनाल्ड रन आउट हुँदा म्याच बराबरीमा सकियो। तर सुपर सिक्समा जित हासिल गरेका कारण अस्ट्रेलिया फाइनलमा पुग्यो।

२००७ मा अस्ट्रेलियाविरुद्ध सेमिफाइनल खेल्न उत्रेको साउथ अफ्रिकाका लागि पहिला ब्याटिङ्ग गर्ने निर्णय गलत प्रमाणित भयो। ग्राहम स्मिथ, हर्सेल गिब्स, ज्याक्स कालिस, एबीडी भिलियर्स र मार्क बाउचर जस्ता विस्फोटक ब्याट्सम्यानले टोलीलाई १४९ रनभन्दा माथि लान सकेनन् । २० ओभर बाँकी रहँदै अस्ट्रेलियाले जित हासिल गर्यो।

२००९ को टी–२० विश्वकपको सेमिफाइनलमा साउथ अफ्रिकाले न्युजिल्यान्ड, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज र भारतलाई पराजित गरेर अन्तिम चारमा स्थान बनायो। तर, शाहिद अफ्रिदीको शानदान स्पिन बलिङ्गमा साउथ अफ्रिकाले १५० रनको लक्ष्य पनि पूरा गर्न सकेन।

२००११ मा न्यूजिल्यान्डविरुद्धको एकदिवसीय विश्वकपको क्वाटरफाइनलमा साउथ अफ्रिका एकदमै नराम्रोसँग पराजित भयो। एबीडी भिलियर्स, फाफ डु प्लेसिस, ग्राहम स्मिथ, ज्याक्स कालिस र जेपी डुमिनी जस्ता दिग्गजले न्यूजिल्यान्डविरुद्ध २२२ रनको लक्ष्य पनि पूरा गर्न सकेनन्। २५ ओभरमा ८ विकेटको क्षतिमा १०८ रन बनाएपछि ६४ रन जोड्दा बाँकीका विकेट पनि गुमाइदियो।

२०१३ को च्याम्पियन्स ट्रफिमा साउथ अफ्रिकाको रन ८ विकेटको क्षतिमा ८० थियो। त्यसपछि डेविड मिलर र रोरी क्लेनवेल्टले त्यसलाई १७५ रनसम्म पुर्याए। तर, जोनाथन ट्रटको नट आउट ८२ रनको मद्दतले इङ्ग्ल्यान्डले १२ ओभरमा ७ विकेट बाँकी रहँदै जित हासिल गर्यो।

स्न २०१४ मा टी–२० विश्वकपमा भारतीय टीमको शानदार प्रदर्शनले साउथ अफ्रिका पराजित भयो भने २०१५ को एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा न्यूजिल्यान्डसँग पराजित भयो। 

यो क्रम २०२२ मा पनि जारी रह्यो। सेमिफाइनलभन्दा एक कदम टाढा रहेको साउथ अफ्रिकी टीमलाई नेदरल्यान्ड्सले १३ रनले पराजित गरिदियो जबकी २०२३ को एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा अस्ट्रेलियाले पराजित गरिदियो।

विश्वकप क्रिकेटबाट किन हटाइयो साउथ अफ्रिकालाई ?

साउथ अफ्रिकी सरकारले यस्तो नियम बनाएको थियो। जसले आईसिसीलाई अन्यौलमा पारिदियो। साउथ अफ्रिकी सरकारको नियम अनुसार उनको टीमलाई श्वेत राष्ट्र (इङ्ग्ल्यान्ड, अस्ट्रेलिया र न्यूजिल्यान्ड) विरुद्ध मात्रै खेल्ने अनुमति थियो। र, त्यसमा पनि विपक्षी टीममा श्वेत खेलाडी मात्रै हुनुपर्ने नियम लागू थियो। जुन नियम आईसिसीलाई मान्य भएन र उसले साउथ अफ्रिकालाई निलम्बन गरिदियो। आईसिसीको उक्त निर्णय पनि त्यहाँका खेलाडीहरूको भविष्य खतरामा पर्न गयो। त्यहाँका कतिपय क्रिकेटर्सको भविष्य नै प्रतिक्षा गर्दागर्दै सकियो। तर, त्यसको २१ वर्षपछि १९९१ मा साउथ अफ्रिकामा परिवर्तन आयो र त्यहाँ रङ्गभेदी नीतिलाई अन्त्य गरियो। 

प्रकाशित: १४ असार २०८१ १३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App