१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

सूर्य नेपाल प्रिमियर गल्फ आजदेखि

सूर्य नेपाल गल्फ टुर २०२३/२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आजदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुने भएको छ। ७२ होलको चारदिने प्रतियोगिता शुक्रबारसम्म हुनेछ। 

१५ लाख ५० हजार रूपैयाँ पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले दुई लाख ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख ७५ हजार र एक लाख २२ हजार रूपैयाँ प्राप्त गर्नेछन्। यस्तै, चौथो र पाँचाै हुनेलाई एक लाख दुई हजार र ८० हजार रूपैयाँ प्रदान गरिनेछ । २१ गल्फरले नगद पुरस्कार प्राप्त गर्र्ने आयोजकले जनाएको छ ।

पुरस्कार राशिको आधारमा सिजनकै ठूलो प्रतियोगितामा  ३७ प्रोफेसनल र ११ एमेच्योर गल्फरको सहभागिता रहने पिजिए नेपालका महासचिव दीपक आचार्यले जानकारी दिए । दुई दिनको खेलपश्चात् कट लागू हुनेछ। ३६ होलको समाप्तिमा उत्कृष्ट २१ र टाईमा पर्ने प्रोफेसनल खेलाडीहरूले मात्र अन्तिम दुई दिनको खेलका लागि स्थान बनाउनेछन्। एमेच्योर गल्फरको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्नेछ।

यो सिजनको अन्तिम प्रतियोगितापश्चात् सिजन अवधिभर कूल पुरस्कार रकम प्राप्त गरेको आधारमा नम्बर एक गल्फरको होडमा अहिले भुवन नगरकोटी सबैभन्दा अगाडि रहेका छन्। उनी धरानका नीरज तामाङभन्दा एक लाख १८ हजार आठ सय ७५ रूपैयाँले अगाडि छन्। भुवनले यो सिजनको सात प्रतियोगिता सकिँदा पाँच लाख ६६ हजार ८ सय ७५ रूपैयाँ पुरस्कार कमाएका छन्। उनले यो सिजन सूर्य नेपाल वेस्टर्न ओपन जितेका थिए।

नीरज तामाङ चार लाख ४८ हजार रूपैयाँ लिएर तालिकामा दोस्रो स्थानमा छन् । उनले यो सिजन सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका थिए। सूर्य नेपाल म्याच प्ले जितेका दिनेश प्रजापति तीन लाख ७२ हजार रुपैयाँसहित तेस्रो स्थानमा छन्। सूर्य नेपाल च्यालेन्ज जितेका रवि खड्का तीन लाख ७२ हजारसहित चौथो र दुई लाख ६० हजार सात सय २५ सहित सञ्जय लामा पाँचौं स्थानमा रहेका छन्।

प्रकाशित: ४ असार २०८१ ०७:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App