२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय पदकविजेता खेलाडी र प्रशिक्षक सम्मानित

युवा तथा खेलकुद मन्त्रालयले विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक ल्याउने खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ। आइतबार एक कार्यक्रम आयोजना गर्दै मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले उनीहरूलाई नगदसहित सम्मान गरेका हुन्। मन्त्री श्रेष्ठले आफूहरूले भन्दा पनि खेलाडीले नेपाल र नेपाली झन्डालाई विश्वसामु चिनाइरहेकाले सम्मान गरिएको बताए।

‘नेपाललाई हामी राजनीतिज्ञले चिनाउने होइन, खेलाडीले चिनाउने हो। पलेशा गोवर्धनले प्रतियोगिता जितेपछि नेपाली झन्डा बोकेर दौडिरहँदा मेरो आँखा रसाएको थियो,’ उनले भने, ‘त्यसरी नै खेलाडीले अझ देशलाई चिनाउन् भनेर हामीले उनीहरूलाई सम्मान गरेको हो।’

मन्त्रालयले आइसिसी पुरुष ट्वान्टी–२० विश्वकप एसिया छनोट फाइनलमा उपविजेता भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई दुई करोड चार लाख ७५ हजार रूपैयाँ पुरस्कार प्रदान गरेको छ।

१५ खेलाडीलाई जनही १३ लाख, मुख्य प्रशिक्षक मोन्टी देसाईंलाई तीन लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेलाई जनही एक लाख ९५ हजार रूपैयाँ प्रदान गरिएको छ। नेपाल अपराजित रहँदै विश्वकपमा छनोट हुन सफल भएको थियो। तर, उपाधि भिडन्तमा ओमानसँग नेपाल सुपर ओभरमा ११ रनले पराजित भएको थियो। नेपाली टोली विश्वकपअन्तर्गत समूह ‘डी’ को अन्तिम खेल खेल्न वेस्ट इन्डिजमा रहेका कारण कार्यक्रममा उपस्थित हुन सकेको थिएन।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले विश्वकपअघि नै घोषणा भएको रकम विश्वकप सकिन लाग्दा पाउँदा पनि खुसी भएको बताए। ‘धैरै समयको अन्तरालपछि नेपालले सोमबार विश्वकपको अन्तिम खेल खेल्दै छ। तर, विश्वकपअघि कप्तान रोहितकुमार पौडेलसहित टोलीले सरकारबाट घोषणा भएको पुरस्कार कहिले पाइन्छ भनेर धेरै प्रश्न गर्नुहुन्थ्यो। आज त्यो प्रश्नको जवाफ सायद पाउनुभएको छ,’ उनले भने।

त्यस्तै, १९औँ एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाउन सफल एरिका गुरुङले १९ लाख ५० हजार रूपैयाँ प्राप्त गरिन्। गत असोजमा चीनको होन्झाउमा सम्पन्न ६८ केजीको तौल समूहको फाइनलमा कजकिस्तानकी बेरुल्टसेवा सोफियासँग ३–० ले पराजित हुँदै एरिकाले ऐतिहासिक कांस्य पदक जितेकी थिइन्।

यसअघि तेक्वान्दोकी सविता राजभण्डारीले सन् १९९८ मा थाइल्यान्डमा भएको एसियाली खेलकुदमा रजत पदक प्राप्त गरेकी थिइन् । पछिल्लो संस्करणको रूपमा सन् २०१८ मा इन्डोनेसियाको जकार्तामा भएको एसियाडमा नेपालको पाराग्लाइडिङ टिमले ऐतिहासिक रजत पदक हात पारेको थियो। मुख्य प्रशिक्षक कुशल श्रेष्ठले दुई लाख ३४ हजार, सहायक प्रशिक्षकहरू छोरी डंगोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवासगोपाल वैद्यले एक लाख ९५ हजार रूपैयाँ प्राप्त गरे। उनीहरूले कुल २५ लाख ३५ हजार रूपैयाँ पाए।

गत कार्तिकमा चीनको होन्झाउ भएको चौथो पारा एशियाली खेलकुदमा कांस्य जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १३ लाख रूपैयाँ प्राप्त गरिन्। नेपालले पारा एसियाली खेलकुदमा पदक जितेको यो नै पहिलो पटक थियो। पलेशाले महिला ५७ केजी मुनि के ४४ मा कांस्य जितेकी हुन्। उनले क्वार्टरफाइनलमा चीनकी याङ लिटिङलाई १४–१ ले पराजित गरेकी थिइन्।

सेमिफाइनलमा भने पलेशा कजाकिस्तानकी डोसमालोभा कामिलियासँग १६–१० ले पराजित भएकी थिइन्। उनका मुख्य प्रशिक्षक कविराज नेगी लामाले दुई लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले एक लाख ३० हजार रूपैयाँ प्राप्त गरे।

एसियाली खेलकुदमा नै कबड्डीमा कांस्य जित्ने नेपाली राष्ट्रिय महिला टोलीका १२ खेलाडीले जनही तीन लाख ९० हजार, मुख्य प्रशिक्षक पार्वती राईले दुई लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णुदत्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही एक लाख ३० हजार रूपैयाँ प्राप्त गरे। चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको सेमिफाइनलमा भारतसँग नेपाल ६१–१७ ले पराजित भएको थियो।

हारसँगै नेपाल कांस्य पदक जित्न सफल भएको थियो । नेपाल समूह ‘बी’ को लिग खेलमा बंगलादेशविरुद्ध ३७–२४ ले विजयी भएको थियो। यद्यपि, डिफेन्डिङ च्याम्पियन इरानसँग भने ४३–१९ ले पराजित भएको थियो। त्यो नतिजाबाट नेपाल समूह उपविजेता हुँदै सेमिफाइनल पुगेको थियो। त्यसैले भारतसँग खेल्नुअगावै कम्तीमा कांस्य सुनिश्चित गरिसकेको थियो।

राखेप सदस्य सचिव टंकलाल घिसिङले यस सम्मानबाट खेलाडीलाई थप हौसला मिल्ने बताए। ‘नेतृत्व तहमा काम गर्ने हुटहुटी भयो भने सबै हुने रहेछ भनेर यसले प्रमाणित गर्दिएको छ। परिषद्को कार्यसमितिले निर्णय गर्ने र फाइनल मन्त्रालयमा पठाउने हो। उहाँहरूले अर्थक प्रयास गरेर खेलाडी र प्रशिक्षकलाई सम्मान गर्दिनुभएको छ । यसले अन्तराष्ट्रियस्तरमा खेलाडीलाई थप राम्रो प्रदर्शन गर्न हौसला मिल्छ,’ उनले भने। 

प्रकाशित: ३ असार २०८१ ०९:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App