४ असार २०८१ मंगलबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गर्दै नेपाली महिला क्लब

नेपालमा पुरुषतर्फ क्लबस्तरीय प्रतियोगिता नगण्य छ। यी क्लबले नेपालको शीर्ष डिभिजनदेखि मोफसल र एसियन फुटबल महासंघ (एएफसी) ले आयोजना गर्ने अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाउँदै आइरहेका छन्। तर, महिला फुटबल क्लबले भने पुरुषले जति हाँगा हाल्न सकेको छैन। घरेलु फुटबलमा नयाँ योजना र व्यावसायिकताको बहसमै रुमलिरहेको महिला क्लबले अन्ततः पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा भने डेब्यु गर्ने पक्का भएको छ।

एसियन फुटबल महासंघ (एएफसी) ले एसियामा महिला फुटबललाई गति दिन आगामी अगस्टदेखि सुरु गर्न लागेको महिला च्याम्पियन्स लिग छनोटमा नेपालको विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले डेब्यु गर्ने भएको हो।

मार्च २४ देखि अप्रिल १३, २०२२ सम्म चितवनमा सम्पन्न महिला लिगको उपाधि एपिएफ फुटबल क्लबले जितेको थियो । सोही आधारमा नेपालबाट एपिएफलाई सिफारिस गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

गत अगस्टमा घोषणा गरिएको प्रतियोगितामा २२ सदस्यीय संघ (एमए) को प्रतिनिधित्व हुने एएफसीले जनाएको छ। एएफसीका अनुसार फिफा महिला विश्व वरीयता (१५ मार्च २०२४ सम्म) अनुसार शीर्ष आठ एमएका क्लबहरूले सीधै च्याम्पियन्स लिगमा स्थान बनाउनेछन्।

बाँकी चार क्लब भने प्रारम्भिक छनोट पार गरेर आउनुपर्नेछ। नेपाल वरीयतामा १८औं स्थानमा रहेकाले एपिएफले प्रतियोगिताको प्रारम्भिक चरणमा सहभागिता जनाउनेछ।

केन्द्रीकृत लिग ढाँचामा हुने प्रारम्भिक छनोटमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन्। प्रारम्भिक छनोट खेल्ने दुई समूहमा चार/चार र दुई समूहमा तीन/तीन टोली रहने एएफसीले जनाएको छ। यी चार समूहका विजेताले मात्रै च्याम्पियन्स लिगमा स्थान बनाउनेछन्।

प्रारम्भिक छनोटका खेलहरू अगस्ट २५ देखि ३१ सम्म जोर्डन, मलेसिया, साउदी अरब र थाइल्यान्डमा आयोजना हुने एएफसीले जनाएको छ। छनोट भएका चार र वरीयतामार्फत सीधै छनोट भएका आठ गरी १२ क्लबलाई एएफसीले चार/चार टोली बनाएर तीन समूहमा विभाजन गर्नेछ।

लिगका आधारमा हुने समूहचरणका खेलहरू अक्टोबर ६ देखि १२ सम्म चीन, भियतनाम र अर्को एक राष्ट्रले आयोजना गर्ने एएफसीले जनाएको छ। चीन र भियतनामले एकएक समूहका खेल आयोजना गर्ने पक्का भइसकेको छ।

तर, तेस्रो आयोजकको टुंगो लाग्न बाँकी रहेको एएफसीले जनाएको छ। समूहविभाजन तथा प्रारम्भिक छनोटको तालिका जुलाई १८ मा सार्वजनिक हुने एएफसीले जनाएको छ । एएफसीका अनुसार समूहचरणमा भाग लिने प्रत्येक क्लबले न्यूनतम एक लाख अमेरिकी डलर प्राप्त गर्नेछ।

समूहचरणमा गरेको प्रदर्शनका आधारमा क्लबहरूले अतिरिक्त रकम पाउनेछन्। प्रतियोगिताको विजेताले कम्तीमा १.३ मिलियन अमेरिकी डलर पुरस्कार पाउने एएफसीले जनाएको छ। च्याम्पियन्स लिगको फाइनल खेल २०२५ मेमा हुने तालिका छ।

प्रकाशित: १ असार २०८१ ११:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App