१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

झम्सिखेलमाथि समाज कल्याणको अपत्यारिलो जित

सहिद स्मारक ‘सी’ डिभिजन लिगअन्तर्गत नवौं चरणका खेल सकिँदा बागमती युवा क्लब, रारा जेन्जर्स (आरसी ३२), पुल्चोक स्पोर्ट्स क्लब र समाज कल्याण क्लबबीच अंकतालिकामा टक्कर थियो।

लिगमा चार खेल बाँकी हुँदा यी चार टोलीबीच प्रतिस्पर्धा तीव्र हुने आकलन गरिएको थियो। तर, अन्य तीन क्लबले उत्कृष्ट प्रदर्शन गर्दा समाज कल्याणको भने अनपेक्षित रूपमा खेल खस्कँदै गयो। 

बागमती र समाजिक युथ क्लबसँग समान २–१ गोल अन्तरको हार बेहोर्नुले समाज कल्याण उपाधि भिडन्तबाट बाहिरिसकेको थियो। त्यसैले होला रेलिगेसनको दबाब झेलिरहेको स्वयम्भू क्लबसँग अपत्यारिलो तरिकाले समाज कल्याण ४–२ ले पराजित भइदियो। यो जितले स्वयम्भू रेलिगेसनबाट बच्यो। 

यो नतिजासँगै पुछारमा रहेका सिराहाको गोलबजार स्पोर्ट्स क्लब र बाजुराको रानीवन स्पोर्ट्स क्लब भने पहिलो सिजन नै रेलिगेसनमा परे। स्वयम्भूसँग फराकिलो अन्तरले पराजित हुने क्लब समाज कल्याणले मंगलबार आफ्नो लिग चरणको अन्तिम खेलमा भने झम्सिखेल युथ क्लबसँग अर्को ६–३ गोलअन्तरको अपत्यारिलो नतिजा हात पारेको छ,।

खेल सुरु हुँदादेखि झम्सिखेलमाथि समाज कल्याण हाबी भएको थियो। फलतः नवौं मिनेटमा विंगर रोशन क्षत्रीले गोल गरे। नीरज दाहालले निकालेको थ्रो बललाई डी बक्सबाहिर आइसकेका झम्सिखेलका गोलरक्षक विपिन चौधरीलाई बिट गर्दै नीरज परियारले पास दिए। सो बललाई रोशनले जाली चुमाए।

१९ र ३२ औं मिनेटमा उनले नै गोल गर्दै ह्याट्रिक पूरा गरे । उनी लिगमा दोहोरो ह्याट्रिक पूरा गर्ने एक मात्रै खेलाडी बने । उनले दोस्रो ह्याट्रिक पूरा गर्नुभन्दा चार मिनेटअगाडि खेलको २८औं मिनेटमा समाज कल्याणकै डिकेश लामाले गोल गरे । ४–० ले पछि रहेको झम्सिखेलका विवश लावती (४१औं), आर्यन थापामगर (७२औं) र ओम धामीले (८८औं) गोल गरे। तर, रोशनले ८० र ८३औं मिनेटमा गोल गरेपछि समाज कल्याण ६–३ ले विजयी भयो।

१३ खेलबाट पाँच जित, चार बराबरी र चार हार बेहोरेको समाज कल्याणले १९ अंकसहित छैटौं स्थानमा रहेर लिग अन्त्य गरेको छ । झम्सिखेल भने समान खेलबाट पाँच जित, एक बराबरी र सात हारसहित १६ अंक जोडेर सातौं स्थानमा छ। योसँगै ‘बी’ डिभिजनमा उक्लिसकेको बागमतीविरुद्ध सानेपा क्लबले यस्तै अपत्यारिलो नतिजा हात नपारे रोशन लिगका सर्वाधिक गोलकर्ता हुनेछन्। 

उनी पुल्चोकका कप्तान श्यरब लो तामाङभन्दा तीन गोलले अगाडि रहेका छन्। लिग चरणको अन्तिम खेल खेल्न बाँकी रहँदा श्यरबले नौ गोल गरिसकेका छन्। उनलाई बागमतीका राज भुसालले पछ्याइरहेका छन्।

प्रकाशित: ३० जेष्ठ २०८१ ०७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App