१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

श्रीलंकाविरुद्धको खेलमा पुनरागमन गर्दै समर्थकलाई ठूलो ‘सप्राइज’ दिन्छाैं: कप्तान रोहित

कप्तान रोहितकुमार पौडेल।

आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत समूह ‘डी’ को पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध खेलिरहँदा हजारौंको संख्यामा ग्रान्ड पेरी रंगशालामा समर्थकहरू पुगेका थिए। तर, एक समय जितिसकेको खेल खराब फिल्डिङका कारण गुमाउन पर्दा नेपाली समर्थक निराश भएर फर्किए।

यही प्रतियोगिताअन्तर्गत बुधबार बिहान नेपालले टेस्ट राष्ट्र श्रीलंकाविरुद्ध खेल्दै छ। यो खेलमा पुनरागमन गर्दै नेपाली समर्थकलाई ठूलो ‘सप्राइज’ दिने योजना रहेको सुनाउँछन्, कप्तान रोहितकुमार पौडेल।

‘श्रीलंका हामीभन्दा बढी दबाबमा छ जस्तो लाग्छ। त्यसैले भोलिको खेलमा हामी आफ्नो उत्कृष्ट क्रिकेट खेल्न चाहन्छौं। हाम्रा समर्थकहरूलाई गौरवान्वित र खुसी बनाउन चाहन्छौं,’ उनले खेलअघि भने।

सन् २०१४ को विश्वविजेता र २००९ को उपविजेता श्रीलंकाले यसपटक राम्रो खेल प्रदर्शन गर्न सकेको छैन। पहिलो खेलमै दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको श्रीलंकाले बंगलादेशविरुद्धको दोस्रो खेलमा पुनरागमन गर्ने प्रयास गरेको थियो। तर, नुवान तुषारा, वानिन्दु हसरंगा, माथीशा पाथिराना र धनन्जय डी सिल्भाले आफ्नो बलिङ डिपार्ट राम्रोसँग सम्हाले पनि ब्याटिङ ‘लाइन अप’ चल्न नसक्दा श्रीलंका दुई विकेटले पराजित हुन पुग्यो।

त्यसैले पनि श्रीलंकालाई सुपर ‘एट’ मा पुग्ने आशा जीवितै राख्न नेपालविरुद्धको खेल ‘गर या मर’ को स्थितिमा रहने छ। रोहित भन्छन्, ‘यो प्रतियोगितालाई हेर्ने हो भने धेरै उतारचढाव आएका छन्। हामीलाई भन्दा धेरै दबाब टेस्ट खेल्ने राष्ट्रमा छ। हामी दबाबको सदुपयोग गर्नेछौं र दबाब सिर्जना गर्नेछौं।’

रोहितले भनेजस्तै यस विश्वकपमा अनपेक्षाकृत नतिजाहरू आइरहेका छन्। समूह ‘ए’ मा रहेको अमेरिकाले सुपर ओभरमा पाकिस्तानलाई पाँच रनले पराजित गरेको थियो।

क्यानडाले पनि अमेरिकाले झैं आयरल्यान्डमाथि १२ रनको जित हासिल गर्दै सनसनी मच्चायो। त्यसबाहेक पपुवा न्युगिनीले वेस्ट इन्डिजलाई र नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई कडा टक्कर दिएका थिए।

यसरी हेर्दा खराब लयमा रहेको श्रीलंकामाथि नेपालले जित हासिल गरे कुनै आश्चर्य हुने छैन।

अर्कोतर्फ उद्घाटन खेल (अमेरिका र क्यानडाबीचको १९७ रन) बाहेक अमेरिकाको पिचमा कम रन बनिरहेका छन्। ‘ड्रप इन पिच’ र परिस्थितिका कारण रन बनाउन कठिन भइरहेको रोहित बताउँछन्। यसले गर्दा पनि आफ्नो टोलीको मनोबल बढेको उनको भनाइ छ। तर, न्युयोर्क र ड्यालसको अवस्था फ्लोरिडाको भन्दा फरक रहेको उनको बुझाइ छ। फ्लोरिडामा यसअघि भारत र वेस्ट इन्डिजबीचको खेल भइसकेको छ।

‘त्यतिबेला र अहिलेको अवस्था फरक छ र हामीले अभ्यास गरेको दुई–तीन दिनमा विकेट राम्रो देखिन्थ्यो। यदि हामीले परिस्थितिको सही सदुपयोग गर्यौं र आफ्नो कौशल प्रस्तुत गर्न सक्यौं भने हामी कुनै पनि टोलीलाई हराउन सक्छौं,’ उनले भने।

लडरहिलस्थित ब्रवर्ड क्रिकेट रंगशालाको पिचमा श्रीलंकाले सन् २०१० मा न्युजिल्यान्डसँग दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको थियो। बराबरीमा सकिएको शृंखलाको पहिलो खेलमा श्रीलंका न्युजिल्यान्ड्ससँग २८ रनले पराजित भएको थियो भने दोस्रो खेलमा सात विकेटको जित हासिल गरेको थियो।

यस विश्वकपअघि पनि श्रीलंकाले यही पिचमा दुई अभ्यास खेलेको थियो। पहिलो अभ्यास खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको श्रीलंकाले दोस्रो खेलमा आयरल्यान्ड्सलाई ४१ रनले पराजित गर्‍यो। उक्त खेलमा श्रीलंकाले १६३ रन बनाएको थियो। त्यसैले श्रीलंका यो पिचमा आत्मविश्वासी देखिन्छ।

श्रीलंकाले नेपालसँग खेलेपछि नेदरल्यान्ड्सको सामना गर्ने छ। तर, समूह चरणको अन्तिम दुई खेल जितेर पनि श्रीलंकालाई सुपर ‘एट’ मा स्थान बनाउन पर्याप्त नहुन सक्छ।

तीन खेलमा शतप्रतिशत जितसहित ६ अंक जोडेको दक्षिण अफ्रिका सुपर ‘एट’ नजिक पुगिसकेको छ। बंगलादेश र नेदरल्यान्ड्सको समान दुई अंक रहेको छ। उनीहरूले समान दुई खेल खेलेका छन्। एक खेल खेलेको नेपाल अंकविहीन रहेको छ।

तर, नेट रनरेटमा भने नेपाल श्रीलंकाभन्दा अंक तालिकामा माथि नै रहेको छ। श्रीलंकाका बलिङ प्रशिक्षक अकिब जावेद आफ्नो टोलीको मजबूत पक्ष भनेकै बलियो बलिङ रहेको बताउँछन्। त्यसैले नेपालविरुद्धको खेलमा पुनरागमन गर्न सक्नेमा उनी आत्मविश्वासी देखिन्छन्।

‘हामीसँग विश्वकै उत्कृष्ट लेग स्पिनर, मिस्ट्री बलर र स्लिन्जर छन्, जो ट्वान्टी–२० क्रिकेटमा निकै अद्वितीय र प्रभावकारी छन्,’ उनले भने।

प्रकाशित: २९ जेष्ठ २०८१ २०:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App