२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

डिभिजन लिगमा बढुवा भए मोफसलका बागमती युवा क्लब र रारा रेन्जर्स

रानीवनविरुद्ध गोल गरेपछि आरसी ३२ का खेलाडी। तस्बिर : एन्फा<br>

मोफसलका दुई क्लब सर्लाहीको बागमती युवा क्लब र सुर्खेतको रारा रेन्जर्स (आरसी ३२) ‘बी’ डिभिजन लिगमा बढुवा भएका छन्। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा सानेपा क्लबले तेस्रो स्थानमा रहेको पुल्चोक स्पोर्ट्स क्लबलाई २-१ गोलअन्तरले पराजित गरेसँगै ‘बी’ डिभिजन लिगमा बढुवा हुने दुई टोलीको टुंगो लागेको हो।

बागमती र आरसी ३२ पहिलो पटक ‘बी’ डिभिजनमा बढुवा भएका हुन्। गत वर्ष ‘सी’ डिभिजन छनोट जितेको बागमती लगालग बढुवा हुन सफल भएको हो। आरसी ३२ ले भने ‘बी’ डिभिजनमा उक्लिन दुई सिजन लगायो।

सानेपाको जितमा खेमराज तामाङले सातौं र ६५औं मिनेटमा गोल गरे। ८६औं मिनेटमा दीपसेन ठकुरीले गोल गर्दै पुल्चोकलाई  २-१ को स्थितिमा ल्याएका थिए। तर, त्यसपछि पुल्चोचको खेलमा फर्किन सकेन र नतिजा २-१ गोलअन्तरले सानेपालाई सुम्पियो।

मंगलबार नै भएको अर्को खेलमा आरसी ३२ ले बाजुराको रानीवन स्पोर्ट्स क्लबलाई ५-० गोलअन्तरले पराजित गर्‍यो। खेलको ३४औं मिनेटमा रोशन कार्कीले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए। ४४औं मिनेटमा विवेक राईले गोल गरे।

पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा किस्मत लिम्बूले गोल गर्दा आरसी ३२ ले पहिलो हाफमा ३-० को अग्रता लिएको थियो। ६६औं मिनेटमा सञ्जय सुब्बाले व्यक्तिगत पहिलो र टोलीका लागि चौथो गोल गरे। दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा सञ्जयले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ५-० को फराकिलो जित दिलाए।

‘बी’ डिभिजनमा बढुवा भएकोे आरसी ३२ ले नियमविपरीत झापा फुटबल क्लबमा दर्ता भएका सुमनबहादुर मगर र श्री भगवती युथ क्लबमा दर्ता भएका बबिन बोहरालाई खेलाएका भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले कारबाही गर्दै चार अंक खोसेको थियो। 

यद्यपि, १२ खेलबाट आठ जित, दुई बराबरी र दुई हारसहित २६ अंक जोड्दै आरसी ३२ बढुवा हुन सफल भयो। शीर्ष स्थानमा रहेको आरसी ३२ ले एक खेल खेल्न बाँकी छ। बागमतीले ११ खेलबाट आठ जित, दुई बराबरी र एक हारसहित २६ अंक नै जोडेको छ। तर, गोलअन्तरमा बागमती आरसी ३२ भन्दा पछि रहेको छ। यद्यपि, बागमतीले लिगका दुई खेल खेल्न बाँकी रहेको छ।

पराजित पुल्चोक भने १२ खेलबाट ६ जित, तीन बराबरी र तीन हारसहित २१ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ। पुल्चोकलाई पराजित गरेको सानेपा १२ खेलबाट चार जित, तीन बराबरी र पाँच हारसहित १५ अंक जोड्दै सातौं स्थानमा रहेको छ। समान खेलमा एक जित, पाँच बराबरी र ६ हार बेहोरेको रानीवन स्वयम्भू क्लबसँगै रेलिगेसन क्षेत्रमा रहेको छ।

प्रकाशित: २३ जेष्ठ २०८१ ०८:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App