नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स (एनएमजिसी) को तेस्रो महाधिवेशनले १३ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ।
चावाहिलमा सम्पन्न महाधिवेशनले अध्यक्षमा सुदीप पण्डित क्षेत्री र महासचिवमा रूपसिं तामाङसहित १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो। महासचिव रूपसिंह आइटिएफका खेलाडी हुँदै पूर्वपदाधिकारी पनि हुन्। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा आफूलाई स्थापित गर्दै आइरहेका छन्।
रूपसिंको अग्रसरतामा रामेछापको खाँडादेवीमा नेपालकै पहिलो सुविधासम्पन्न आइटिएफ एकेडेमी हल निर्माण भएको छ। सोही स्थानमा उनले तेक्वान्दोका संस्थापक स्वर्गीय जेनेरल चोइ होङ हीको पूर्णकदको सालिकसमेत बनाएका छन्।
यो महाधिवेशनमा २३ वटा राष्ट्रिय संघहरूको सहभागिता रहेको थियो। यही संघहरूको छाता संगठन एनएमजिसी हो। कार्यसमितिमा १३ निर्वाचित र १० मनोनीत भएका छन्। यो चार वर्षका लागि हुनेछ।
महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा लालबहादुर जिसी, उपाध्यक्षत्रयमा अञ्जु रावत, एनिप महर्जन र केशव डंगोललाई निर्विरोध चयन गर्यो। अञ्जु आइटिएफकै सर्वाधिक सफल खेलाडीका साथै अन्तर्राष्ट्रिय प्रशिक्षक र निर्णायक हुन्। सचिवमा कृष्णगोपाल राजथला र कोषाध्यक्षमा तुलसी थापामगर सर्वसम्मत चयन भए।
तुलसी आइटिएफ र मुवाँथाईकी खेलाडी हुन्। सदस्यहरूमा कृष्णबहादुर रावत, जनकराज गौतम, सानुकान्छा श्रेष्ठ, कमल मगर र सीताराम दराई चयन भए। सोही निर्वाचित कार्यसमितिको पहिलो बैठकले तीन पदाधिकारीसहित १० जना सदस्य मनोनीत पनि गरेको छ। उपाध्यक्षमा होमबहादुर सुनुवार, राजेन्द्र लामा र सचिवमा आशिष कार्की मनोनीत भए। सदस्यमा तेजबहादुर सिंह, सपुत मोक्तान, धनराज तामाङ, बाबुराम तामाङ, सुशान पुन, नहकुल राई र राजन पन्थ मनोनीत भएका छन्। यससँगै कार्यसमिति २३ सदस्यीय बनेको छ।
राखेपका दुई प्रतिनिधिपछि कार्यसमितिले पूर्णता पाउनेछ। त्यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङ, गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसाल र राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य अञ्जन धमलाले महाधिवेशनको उद्घाटन गरेका थिए।
सो अवसरमा नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका संस्थापक वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी र संस्थापक उपाध्यक्ष निरण खड्काको उपस्थिति थियो। राखेपका प्रतिनिधि सरोज पोखरेल र चन्द्र राई रहेको निर्वाचन समितिले निर्वाचन सम्पन्न गरेको हो।
प्रकाशित: १३ जेष्ठ २०८१ ०७:१४ आइतबार





